चितवनका स्रष्टा राजन पौडेलको नयाँ पुस्तक ‘अनिदो मन’ सार्वजनिक भएको छ।
सम्पूर्ण किताबको आयोजनामा गैँडाकोटमा आयोजित कार्यक्रममा गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी, स्रष्टाका बुवा देवीप्रसाद पौडेल, प्राध्यापक रमेश प्रभात, सुरेन्द्र अस्तफललगायतले कृति विमोचन गरेका हुन्।
चार सय रुपैयाँ मूल्य रहेको पुस्तकमा दुई सय ३० वटा मुक्तक छन्। कृतिका बारेमा प्राध्यापक रमेश प्रभात र सुरेन्द्र अस्तफलले समीक्षात्मक टिप्पणी राखेका थिए। त्यसैगरी, उदय अधिकारी, बालकृष्ण थपलिया र गोविन्दराज विनोदीले मन्तव्य राखेका थिए।
कार्यक्रमको दोस्रो सत्रमा स्रष्टा पौडेलसँग पुष्प अधिकारी अञ्जलीले संवाद गरेकी थिइन्। ५० को दशकको अन्त्य र ६० को सुरुवातमा चितवनको साहित्यिक गतिविधिमा सक्रिय रहेका पौडेलसँग अधिकारीले पुराना दिनका सन्दर्भमा रहेर कुराकानी गरेका थिए।
पछिल्लो समय क्यानडामा बसोबास गर्दै आएका पौडेल भरतपुर– ८ गौरीगन्जका स्थायी बासिन्दा हुन्।
पौडेलका यसअघि ‘गजलपथका यात्रीहरू’ र ‘गजल बिम्ब’ गरी दुईवटा संयुक्त गजलसंग्रह तथा ‘आधारभूत मत्स्यपालन’ र सहलेखनका रूपमा ‘कार्प, सिद्रा माछा, तरकारीको एकीकृत पालन प्रविधि’ गरी ४ वटा कृति प्रकाशित छन्।