
व्यवसायी दुर्गा प्रसाईंका दुईजना अंगरक्षक पक्राउविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। मंगलबार सर्वोच्चमा दायर रिटमाथि बुधबार सुनुवाइ हुने सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए।
सोमबार व्यवसायी प्रसाईंको रिटमाथि सुनुवाइ भएकाले उनीसहित उनका बडीगार्डहरू दीपक खड्का र रामकुमार धिमाल पक्राउ परेका थिए। खड्काका नाममा लाइसेन्स जारी भएको अत्याधुनिक मेसिन गन धिमालका साथबाट बरामद भएको थियो।
सर्वोच्च गेटमा शरीर खानतलासी गर्ने क्रममा धिमालका साथबाट बन्दुक र झोलामा दुई–दुईवटा सानो र ठूलो म्यागजिन, एउटा म्यागजिन होल्ड र सय राउन्ड गोलीसमेत बरामद भएको थियो।
एक त लाइसेन्स नरहेको बन्दुक बोकेको, अझ सर्वोच्चजस्तो संवेदनशील स्थानमा हतियारसहित पसेको र झापाबाट लाइसेन्स जारी भएको हतियार काठमाडौं लिई आएको भन्दै सर्वोच्चको सुरक्षामा खटिएको प्रहरीले उनीहरू दुवैलाई पक्राउ गरेको थियो।
हाल उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तर, उनीहरूलाई छाड्नुपर्ने मागसहित सर्वोच्चमा रिट दर्ता भएको हो।
दीपक खड्काका हकमा उनकी श्रीमती शान्ता खड्काले रिट दर्ता गराएकी हुन्। रिटमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, उपत्यका प्रहरी कार्यालय, मकवानपुरस्थित मनहरी गाउँपालिका कार्यालय र सर्वोच्च-विशेष अदालत समन्वय तथा सुरक्षा प्रहरी एकाइ रामशाह पथलाई विपक्षी बनाइएको छ।
धिमालको हकमा रिया राजवंशी धिमालले रिट दर्ता गराएको सर्वोच्च प्रशासनले जनाएको छ। उनले पनि रिटमा प्रहरीलाई नै विपक्षी बनाएकी छिन्।