१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १३:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

क्याप्टेन उप्रेतीको ‘भूस्वर्गका परिकल्पना सुदूरपश्चिम नेपाल’ पुस्तकमाथि विमर्श

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १३:३८:oo

क्याप्टेन वेद उप्रेतीले हालै प्रकाशनमा ल्याएको ‘दुर्गम विस्मयलोक–भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’ पुस्तकमाथि उनको गृहनगर धनगढीमा विमर्श गरिएको छ । 

गत २६ फागुनमा काठमाडौंमा लोकार्पण गरिएको यो पुस्तकमा सुदूरपश्चिमका पर्यटकीय स्थल र पर्यटनका सम्भावनाहरूलाई  शब्दचित्रमार्फत उजागर गरिएको छ ।  

आफूले पाइलटका आँखाले देखेको सुदूरपश्चिमको सुन्दरता पुस्तकमार्फत व्यक्त गर्न खोजेको क्याप्टेन उप्रेतीले बताए । उनले सुदूरपश्चिमका पर्यटकीय स्थलका तस्बिर तथा ती स्थलमा विकासमा गर्न सकिने सम्भावनाका चित्रहरू पुस्तकमा समावेश गरिएको जानकारी दिए । 

‘यहाँका प्रत्येक जिल्लाका पर्यटकीय स्थल र त्यहाँका सम्भावनाबारे पुस्तकमा उल्लेख गरिएको छ,’ पुस्तकमाथिको विमर्श कार्यक्रममा क्याप्टेन उप्रेतीले भने, ‘सुदूरपश्चिमको सुन्दरता देखाउन खोजेको हो ।’ सुदूरपश्चिमलाई सम्भावनाको क्षेत्रका रूपमा चिनाउन खोजेको उनले बताए । 

कार्यक्रममा राजनीति, प्राध्यापन, पर्यटन व्यवसायलगायत विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरूले सुदूरपश्चिमका पर्यटनका सम्भावनाहरूलाई पुस्तकका रूपमा शब्दचित्रमार्फत उजागर गरिएको बताए । 

प्राध्यापक सीताराम भट्टले यो पुस्तकलाई सुदूरपश्चिमको समृद्धिको ‘रोडम्याप’का रूपमा लिन सकिने धारणा राखे । सुदूरपश्चिमका पर्यटकीय स्थललाई कसरी विकास गर्न सकिन्छ भनेर पुस्तकमा उजागर गरिएको उनले बताए ।

‘फोटोग्राफीमार्फत सुदूरपश्चिमको सुन्दरता व्यक्त गरिएको छ,’ भट्टले भने, ‘यो पुस्तक सुदूरपश्चिमको समृद्धिको रोडम्याप हो ।’ कर्णालीमा र्‍याफ्टिङ र जेटबोट चलाउन सकिने, शुक्लाफाँटामा बाह्रसिंगाको केन्द्र बनाउन सकिनेजस्ता सम्भावना पुस्तकले देखाएको उनको भनाइ छ ।

‘यो पुस्तकले पर्यटन विकासको भिजन मात्र दिएको छैन, दबाब पनि सिर्जना गरेको छ,’ सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. तारा जोशीले भने, ‘क्याप्टेन उप्रेतीमा पर्यटन विकासको हुटहुटी देखिन्छ ।’ सुदूरपश्चिमको पर्यटन विकासका लागि पर्यटकीय क्षेत्रको प्रचारप्रसारसँगै पूर्वाधार विकास आवश्यक रहेको उनले औँल्याए ।

एक सय २० पृष्ठ रहेको पुस्तकमा पर्यटकीयको वास्तविक परिदृश्य र ती स्थलको विकासपछिको अवस्थाको कल्पना गरिएका ९४ वटा तस्बिर समावेश गरिएका छन् । पुस्तकमाथिको विमर्श कार्यक्रममा प्राध्यापक डा. हेमराज पन्तले पूर्वाधारविना पर्यटन विकास हुन नसक्ने भएकाले सरकारले पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताए । 

‘सुदूरपश्चिममा पर्यटनसँगै अरू सम्भावना पनि छन्, तर पूर्वाधार र ‘कनेक्टिभिटी’को अभाव छ,’ उनले भने, ‘पूर्वाधार नभई पर्यटन विकास हुन सक्दैन ।’ नाटा सुदूरपश्चिमका अध्यक्ष पदमविक्रम सिंहले सुदूरपश्चिमको पर्यटन विकास कसरी गर्ने भनेर पुस्तकले मार्गदर्शन गरेको बताए ।      

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले यहाँको पर्यटन विकासका लागि प्रयास गरिरहेको बताए । ‘सुदूरपश्चिममा पर्यटनका सम्भावना धेरै छन्, तर विकास गर्न सकेका छैनौँ,’ मुख्यमन्त्री शाहले भने, ‘प्रदेश सरकारले प्रयास गरिरहेको छ ।’ दुर्गम विस्मयलोक–भूस्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल पुस्तकले सुदूरपश्चिमलाई चिनाउने जमर्को गरेको उनले बताए ।

ad
ad