गुल्मी जिल्लामा पहिलोपटक खुला महिला डबल्स राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै छ । जिल्ला ब्याडमिन्टन संघको आयोजनामा ९ देखि ११ चैतमा प्रतियोगिता आयोजना हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार सहभागी खेलाडीले सात विधामा प्रतिस्पर्धा गर्नेछन् । महिलाको तुलनामा पुरुषतर्फ पुरस्कार धनराशी बढी छ । आयोजकले प्रतियोगितामा विभिन्न क्षेत्रबाट महिला खेलाडीले भाग लिने अपेक्षा राखेको छ ।
पहिलो हुनेले ६० हजार, दोस्रोले ४० हजार र तेस्रो स्थानमा रहने खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्ने संघका सचिव सुरेश श्रेष्ठले जानकारी दिए । यस प्रतिस्पर्धामा नेपालका शीर्ष २० खेलाडी सहभागी हुन पाउनेछैनन् ।
यसैगरी, ३५ र ४५ वर्षमाथिको भेन्ट्रान्स खेल रहेको छ । आयोजक संघका सचिव श्रेष्ठले ५५ वर्षमाथिको इभेन्टलाई सुपर भेन्ट्रान्स नाम दिइएको छ । यसको विजेताले ३५ हजार, उपविजेताले २० हजार र तेस्रो स्थानमा रहने खेलाडीले १५ हजार रुपैयाँ हात पार्नेछन् । यसैगरी, खुला पुरुष एकल ब्याडमिन्टनको विजेताले ३५ हजार, उपविजेताले २५ हजार र तेस्रो स्थानमा रहने खेलाडीले १५ हजार रुपैयाँ हात पार्नेछन् ।
महिलातर्फको विजेताले ३५ हजार, उपविजेताले २० हजार र तेस्रो स्थानमा रहने खेलाडीले १५ हजार रुपैयाँ पाउने श्रेष्ठले बताए । गुल्मीमा ब्याडमिन्टन खेलको आकर्षण बढी रहेको उनले बताए । ‘महिलाहरूमा ब्याडमिन्टन खेलको चासो कम रहेकाले आकर्षण बढाउन जिल्लामा महिलाको राष्ट्रिय प्रतिस्पर्धा आयोजना गर्न जमर्को गरेको उनले बताए । यसैबीच प्रतियोगिताको सबै तयारी पूरा भएको जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष नवराज श्रेष्ठले बताए । उनले खेल क्षेत्रमा खेलाडी र राज्यको आकर्षण बढाउँदै जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन मद्दत पुग्ने बताए ।