Skip This
सीपको प्रमाणपत्रसँगै रोजगारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ४ आइतबार
  • Saturday, 31 August, 2024
सन्तोष चौलागाईं
२o८o चैत ४ आइतबार o९:५३:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सीपको प्रमाणपत्रसँगै रोजगारी

Read Time : > 2 मिनेट
सन्तोष चौलागाईं
नयाँ पत्रिका
२o८o चैत ४ आइतबार o९:५३:oo

बागमती प्रदेश युवा परिषद् ०७८ असार २५ गते विधिवत् रूपमा उद्घाटन भयो । उद्घाटनदेखि नै परिषद्ले युवाक्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको छ । परिषद्ले सबैभन्दा पहिले यस क्षेत्रमा काम गर्न अत्यावश्यक युवा नीति बनायो । युवाका लागि कार्यक्रम कार्यान्वयन गर्न १३ प्रकारका कार्यविधि निर्माण गर्‍यो ।

परिषद्ले युवालाई सुरुमा सीप सिकाएर मात्र रोजगारीसित जोड्ने काम गर्दै आएको छ । सीप नभएकै कारण नेपाली युवा बिदेसिनुपरेको र रोजगारीका लागि पढाइसँगै सीप पनि आवश्यक रहेकाले यसतर्फ परिषद्ले विशेष जोड दिएको छ । विशेषगरी १६ वर्षदेखि ४० वर्ष उमेर समूहका युवालाई लक्षित गरेर काम परिषद्ले काम गरिरहेको छ । यसका लागि परिषद्ले युवालाई सीप, उद्यमशीलता, युवा सशक्तीकरण र स्वयंसेवाजस्ता क्षेत्रमा सेवा दिइरहेको छ । 

बागमती प्रदेशभरका युवाको क्षमता अभिवृद्धि गर्दै युवालाई सिर्जनशीलतासँग जोड्न धेरै खालका सीप सिकाउने काम परिषद्ले गर्दै आएको छ । प्रदेश युवा परिषद्ले प्रदेशभित्रका १३ जिल्लाका युवालाई पहिले सीपसँग जोड्ने प्रयत्न गरेको छ । उनीहरूलाई तत्काल रोजगारी दिन सकिने गरी प्लम्बिङ, ब्युटीपार्लर, होमस्टे तालिम, बारिस्टा र पेस्ट्री मेकिङ, मन्टेसरी, इन्डस्ट्रियल इलेक्ट्रिसियन, कपाल काट्ने, मोबाइल मर्मतलगायत तालिम दिएर सक्षम बनाउने काम परिषद्ले गरेको छ । जसका लागि युवाको सीप परीक्षण पनि गरिएको छ । 

सीप सिकिसकेपछि युवाले त्यसको प्रमाणपत्र सिरानी हालेर निष्क्रिय रहनुपर्ने अवस्था अन्त्य भई सीधै रोजगारीसँग जोडिनुपर्छ

परिषद्ले युवालाई सीप सिकाइसकेपछि उसले त्यसको प्रमाणपत्र सिरानी हालेर निष्क्रिय नरही सीधै रोजगारीसँग जोडियोस् भन्ने मान्यतामा जोड दिएको छ । त्यहीअनुसार परिषद्ले करिब दुई वर्षको अवधिमा सीपमूलक तालिमसँग ६ सय ४० युवालाई जोडिसकेको छ । उनीहरूलाई तीन सय ९० घन्टे तालिम दिइएको छ । उनीहरूलाई पूर्ण रोजगार हुन र व्यावसायिक रूपमा काममा लाग्न सहयोग गरेको छ । त्यसैले, तालिम पाएका ती सबै युवा कुनै न कुनै रोजगारीसँग जोडिएका छन् ।

युवा परिषद्ले बिउ पुँजीका रूपमा सिलाइ सिकेकाहरूलाई सिलाइ मेसिन, ब्युटीपार्लर सिकेकाहरूलाई आवश्यक सामग्री, कफी बनाउने तालिम लिएकाहरूलाई मेसिन सहयोग गरेको छ । कुन तालिम लिएर उनीहरू दक्ष भए, सोहीअनुसार काम गर्न निरन्तर रूपमा सहयोग गर्ने परिषद्को लक्ष्य छ । कृषि, पशुपालन, बागवानी, घरेलु उद्योग र परम्परागत सीप विकासलगायत क्षेत्रमा प्राविधिक उपकरण सहयोग गरी उद्यममा जोडिएकालाई काममा सहजीकरण गरिदिने कार्य परिषद्ले गर्दै आएको छ ।

प्रदेश युवा परिषद्ले विगतका वर्षको तुलनामा भावी दिनमा ठूलो संख्यामा सीपमूलक तालिम दिँदै छ । युवा दक्ष जनशक्ति हुन् भन्ने उद्देश्यले पाँच हजार युवालाई रोजगारीसँग जोड्ने गरी तालिम परिषद्ले तालिम दिँदै छ । उनीहरूलाई तालिम दिँदै युवालाई टेवा पुँजीसमेत दिएर रोजगारीसँग जोड्ने योजना छ परिषद्को । यसबाट प्रदेश युवा परिषद्ले धेरै युवालाई आफ्नै क्षेत्रमा परिवारसँग बसेर काम गर्ने वातावरण तयार गर्न लागेको छ । 

परिषद्ले ‘एक गाउँ, एक पकेट क्षेत्र’ कार्यक्रमअन्तर्गत चितवनको भण्डारामा माछाका भुरा वितरण, मकवानपुरको मनहरी र विकट राक्सिराङमा अम्रिसोको बिउ वितरण, मकवानपुरमा बागमती प्रदेशस्तरीय र काठमाडौंको टोखामा नगरस्तरीय नमुना युवा संसद् अभ्यास, युवा सम्मेलनबाट ११ बुँदे घोषणापत्र, विदेश गएर फर्र्किएका युवाको सञ्जाल ‘रिटर्नी’ गठन गरी उनीहरूलाई उद्यमशीलताबारे सात दिन तालिम, सञ्चारमाध्यमसँग सहकार्यसहित युवा प्रतिभा पहिचानका कार्य गरेको छ ।

मकवानपुरका द्वन्द्वपीडित, घाइते, बेपत्ता तथा शारीरिक रूपमा अशक्तता भएका २० युवालाई सवारी चलाउने तालिम, फरक क्षमता भएका सात जिल्लाका युवालाई ह्विलचेयर, बैसाखी र कुर्सी प्रदान, १३ जिल्लाका दुई–दुईजना स्थायी शिक्षकलाई महिला आत्मरक्षा तालिमका लागि प्रशिक्षक बनाउन प्रशिक्षक प्रशिक्षण तालिम, सबै १३ जिल्लामा लागुपदार्थ दुव्र्यसनविरुद्ध तथा साइबर कानुनबारे सचेतना फैलाउने कार्य पनि परिषद्ले गर्दै आएको छ ।

राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्ष उमेर समूहलाई युवा निर्धारण गरेको छ । हाल नेपालको कुल ४०.३५ प्रतिशत जनसंख्या युवा समूहका छन् । जुन समूह हाम्रो राष्ट्रका परिवर्तनका संवाहक हुन् । युवा अवस्था आवेग, जोस, आँट, अठोट, साहसको सम्मिश्रण र मूल रूपमा भन्नुपर्दा देश विकासको शक्ति हो भन्दा पनि हुन्छ । त्यसैले उनीहरूलाई तालिम वा अन्य सीप दिएर अगाडि बढाउन सकिए राम्रो हुन्छ भन्नेमा परिषद् प्रस्ट छ । 

वैदेशिक रोजगारमा जाने नेपालीमध्ये जम्मा एक प्रतिशत मात्र दक्ष जनशक्ति बनेर बाहिर जाने गरेको तथ्यांकले देखाउँछ । सन् २०२५ सम्म यसलाई ५० प्रतिशत पुर्‍याउने लक्ष्य लिइएको भए पनि ०२५ सम्म पाँच प्रतिशत जनशक्ति पनि दक्ष हुन धौधौ देखिन्छ । आजको वैज्ञानिक युगमा समेत नेपालको सबैभन्दा ठुलो पुँजी युवा जनशक्ति समयसापेक्ष ज्ञान र सीपको अभावमा अदक्ष अवस्थामा रहनु विडम्बना हो । हाम्रा सम्पूर्ण अभियान तिनै युवा लक्षित छ । राष्ट्रको भविष्य निर्धारण गर्ने युवानीति बनेका छन् । परिषद् त्यसैलाई कार्यान्वयनमा ल्याउने चरणमा छ । 
(चौलागाईं प्रदेश युवा परिषद्, बागमतीका कार्यकारी उपाध्यक्ष हुन्)