
कानुनी व्यवस्थाविपरीत अनुमतिविना नै पुरुष टोलीलाई मलेसियामा मैत्रीपूर्ण प्रतियोगिताका लागि पठाएको भन्दै खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई कारबाही गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) निर्देशन दिएको छ । मलेसियामा शुक्रबार हुने मैत्रीपूर्ण प्रतियोगिताका लागि एन्फाले खेलाडीसँगै १० जना पदाधिकारीलाई पनि अफिसियलका रूपमा पठाएको छ ।
मन्त्रालयको कारबाहीको पत्र आउनुअघि नै एन्फाका उपाध्यक्षसहित १० पदाधिकारी अफिसियल बनेर नेपाली टोलीसँगै मलेसिया पुगेका छन् । ऐनविपरीत पदाधिकारी वैदेशिक भ्रमणमा पठाएको भन्दै कारबाहीका लागि राखेपलाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता शिवप्रसाद रेग्मीले नयाँ पत्रिकालाई बताए । ‘एन्फाले खेलकुद ऐनले गरेको व्यवस्थाअनुसार स्वीकृति नलिई नेपाली टोलीसहित दश पदाधिकारीलाई भ्रमणमा पठाएको बुझियो । त्यसैले मन्त्रालयले कारबाहीका लागि निर्देशन दिएको हो,’ प्रवक्ता रेग्मीले भने । मलेसियाको मैत्रीपूर्ण खेलपछि नेपाली टोलीले ८ र १३ चैतमा बहराइनमा हुने फिफा विश्वकप छनोट खेल पनि खेल्नेछ ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ (झ)मा परिषद्को स्वीकृति लिएर मात्र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनुपर्ने कानुनी व्यवस्था छ । ‘परिषद्को पत्रअनुसार राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ बमोजिम लिनुपर्ने स्वीकृति एन्फाले नलिएको जानकारी प्राप्त भएको हुँदा कानुनबमोजिम कारबाही गरी त्यसको जानकारी गराउन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको छ,’ मन्त्रालयले राखेपलाई काटेको पत्रमा भनिएको छ, ‘कानुनबमोजिम परिषद्को स्वीकृतिपछि मात्र खेल संघका पदाधिकारीलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, तालिम, गोष्ठी, सेमिनार वा सम्मेलनमा भाग लिन वैदेशिक प्रस्थान अनुमति प्रदान गर्ने व्यवस्थाका लागि गृह मन्त्रालयमा अनुरोध गरिएको छ ।’
एन्फा उपाध्यक्ष र सिइओसमेत भ्रमणमा
एन्फाले उपाध्यक्ष दीपक खतिवडा, प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधार र केन्द्रीय सदस्य महेन्द्र क्षेत्रीलाई समेत अफिसियलका रूपमा पठाएको छ । जिल्ला तथा क्लबबाट भरत घिमिरे, बुद्धिबहादुर गुरुङ, सुनील लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ र सुविनकुमार श्रेष्ठ छन् । आर्थिक स्थिति कमजोर भएर फुटबल नभएको बताउँदै आएको एन्फाको यस निर्णयको आलोचना भइरहेको छ । फुटबल प्रतियोगिता गराउन फिफाको ‘कन्ट्रोल फन्डिङ’को बहाना बनाउने र पदाधिकारीलाई खुसी बनाउन विदेश भ्रमणमा लैजाने एन्फाको यो प्रवृत्तिको सर्वत्र विरोध हुँदै आएको थियो ।
नेपाली टोलीमा कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बू र मुख्य प्रशिक्षकमा भिन्सेन्जो अल्बर्टो छन् । यसैगरी, प्रशिक्षकमा प्रवेश कटुवाल, दुई गोलरक्षक प्रशिक्षक विनोद डंगोल र मनीष तिम्सिना छन् । उत्तमराज भण्डारी टोली व्यवस्थापक, लोकेन्द्र कुँवर फिजियो तथा ज्ञानबहादुर राई किट व्यवस्थापक हुन् । नेपालले २ चैतमा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल्नेछ । मलेसियामा केही दिन तयारी गरेपछि नेपाली टोलीले बहराइनविरुद्ध विश्वकप तथा एसियन छनोट प्रतियोगिता खेल्नेछ । दरशथ रंगशालाको मैदान खराब भएपछि नेपालले होम म्याचसमेत बहराइनमा खेल्न लागेको हो ।
मन्त्रालयले ऐन र कानुन हेर्छ
विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री
सबै काम ऐन र कानुन हेरेर गरिरहेका छौँ । मन्त्रालयको भूमिका सबैमा अभिभावकत्व र त्यसलाई ट्र्याकमा राख्ने हो । बिस्तारै खेलकुदमा राम्रो काम हुँदै छन् । हिजो जारी गरेका निर्देशन पनि भएका छन् । राखेपले पनि कार्यान्वयन गरेको छ । २८ संघले क्यालेन्डर दिएका छन् । एकैपटक राम्रो हुँदैन, बिस्तारै सबै राम्रो हुँदै जान्छ ।
एन्फाको निर्णय ऐनविपरीत
शिवप्रसाद रेग्मी, प्रवक्ता, खेलकुद मन्त्रालय
एन्फाले खेलकुद ऐनले गरेको व्यवस्थाअनुसार स्वीकृति नलिई नेपाली टोलीसहित दश पदाधिकारीलाई भ्रमणमा पठाएको बुझियो । परिषद्मा त्यस विषयमा बुझ्दा स्वीकृति लिएको भेटिएन । त्यसैले कारबाहीका लागि पत्र काटेका हौँ ।