१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १ बिहीबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o चैत १ बिहीबार o६:३९:oo
Read Time : > 5 मिनेट
समाचार प्रिन्ट संस्करण

कुर्सीसँगै बदलिन्छ सांसदको बोली

विश्वासको मतमा सत्तापक्ष र प्रतिपक्षको घोचपेच, कांग्रेसका प्रश्नमा प्रचण्ड र ओलीको जवाफ 

Read Time : > 5 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o चैत १ बिहीबार o६:३९:oo

सत्तासमीकरण बदलिएसँगै संसद्मा सांसदहरूको सिट हेरफेर हुन्छ र कुर्सीसँगै संसद्मा बदलिन्छ बोली । प्रधानमन्त्री प्रचण्डले बुधबार संसद्मा विश्वासको मत लिँदा शीर्ष नेताहरूकै पूर्ववत् अभिव्यक्ति बदलिए । विश्वासको मतमा सत्तापक्ष र प्रतिपक्षबीच कठोर घोचपेच देखियो, अनि कांग्रेसका प्रश्नमा ओली र प्रचण्डले जवाफ दिए । 

सत्तासमीकरण परिवर्तन र नयाँ गठबन्धन निर्माणको सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड र सत्तासाझेदार एमाले अध्यक्ष केपी ओलीले संसद्मा स्पष्ट पारेका छन् । साथै, दुवै नेताले प्रमुख प्रतिपक्षी बनेको कांग्रेसलाई बुँदागत रूपमा जवाफ फर्काएका छन् । प्रधानमन्त्रीको विश्वासको मत प्रयोजनका लागि बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष गरी प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र कांग्रेस महामन्त्रीबीच घोचपेच तथा सवालजवाफ चल्यो । 

सुरुमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै सरकारको गेयर परिवर्तन गर्न गठबन्धन पुनर्गठन गरेको बताए । सरकार पुनर्गठनलाई कांग्रेसले अराजनीतिक व्याख्या गरेर आफूमाथि निजी आक्षेप र आक्रमण गरेको भन्दै प्रचण्डले सम्झाए, ‘कुनै वेला राजनेता घोषणा गर्नुभएको थियो । त्यही राजनेता सरकार पुनर्गठनसँगै आज ठूलो विश्वासघाती र धोकेबाज भएको हो ?’ 

प्रचण्डले १० पुसमा कांग्रेसबाट आफूलाई धोका भएको पनि स्मरण गराए । ‘मैले राजनीतिक सहमतिको पूर्ण पालना गर्दै प्रधानमन्त्री पद कांग्रेसलाई हस्तान्तरण गरेको थिएँ, तर नेपाली कांग्रेसले प्रधानमन्त्रीमा मलाई दिएको वचनमा विश्वासघात भयो,’ उनले भने । 

प्रचण्डले कोशी प्रदेशमा माओवादीले मुख्यमन्त्री पाउने स्थितिमा कांग्रेसले धोका दिएको सुनाए । ‘माओवादीले मुख्यमन्त्री पाउने सहमति भइसकेको कोशी प्रदेशमा कांग्रेसको एउटा समूहको विद्रोह र पार्टी केन्द्रबाट त्यसको अनुमोदन माओवादीका लागि धोका थियो कि थिएन ? राष्ट्रिय सभा निर्वाचनमा माओवादी उम्मेदवारमाथिको अन्तर्घात धोका थियो कि प्रेम ? महासमिति बैठकमा विनासन्दर्भ गठबन्धनको निन्दा र भत्र्सना सहयात्रीको अवमूल्यन हो कि होइन ?

महासमिति बैठकमा धर्मका नाममा हस्ताक्षर अभियान र त्यसलाई नेतृत्वको संरक्षण संविधानमाथिकै धोका हो कि होइन ?’ उनले सोधे । यसमा कांग्रेस महामन्त्री शर्माले रोल्पामा संघमा माओवादी उम्मेदवार निर्वाचित हुँदा प्रदेशमा कांग्रेस उम्मेदवार हारेको प्रसंग राख्दै जवाफ फर्काएका थिए । 

प्रधानमन्त्री प्रचण्डले आफूले धोका होइन सबैको भलाइ गरेकाले धन्यवाद दिनुपर्ने जिकिर गरे । ‘ठूला साना सबै राजनीतिक दलले माओवादी केन्द्र र प्रचण्डलाई धन्यवाद दिनुपर्छ । सबैलाई धोका होइन, प्रचण्डले पटक–पटक सबैको भलाइ गरेको छ । आफू त्याग र बलिदान गरेर पनि गरेको छ । धोकेबाज भन्नुहुन्छ तपाईंहरू ? त्यसकारण यो स्वीकार्य छैन,’ उनले भने । 

धम्कीसँग माओवादी डराउँदैन
माओवादीले सबैलाई धोका दिएको र धोका दिएकाहरू एकैठाउँमा आए के होला भन्ने हेक्का राख्न कांग्रेस नेताहरूले दिएको चेतावनीमा प्रधानमन्त्री प्रचण्डले धम्कीसँग आफूहरू नडराउने बताए । ‘मलाई दबाब दिन अलि बढी राजनीतिक घोचपेच गरेर हामी ठूला दलहरू मिल्यौँ भने तेरो हालत के हुन्छ भनेर पटक–पटक भनियो । मेरो कामना छ, तपाईंहरू सबै मिल्नुस् । तपाईंहरू मिल्नुभयो भने माओवादी केन्द्र प्रमुख प्रतिपक्षीमा बसेर फेरि देश, जनता, संविधान र राष्ट्रियता सुदृढीकरणको पक्षमा लडिराख्छ,’ प्रचण्डले चुनौती दिए । 

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई जवाफ दिँदै प्रचण्डले थपे, ‘सबै मिल्यौँ भने हालत के होला भनेर प्रचण्ड डराउँछ भन्ने यदि कांग्रेसका साथीहरूलाई लागेको छ भने हिजो त तपाईंहरू सबै मिलेर टाउको काट्न खोजेको हो नि । डराउँछ माओवादी केन्द्र भन्ठान्नुभाछ ? यस्तो हुँदैन । सक्नुहुन्छ मिल्नुस् । को दल, कति वेला कोसँग मिल्छ भन्ने कुरामा हरेक दल आफ्नो हिसाब किताब राख्न स्वतन्त्र छन् । राजनीतिक रूपले हित हुन्छ भने मिल्ने हो । त्यसले जनतामा आफ्नो प्रभाव विस्तार गर्न मद्दत पुग्छ भन्ने लाग्यो भने गठबन्धन बन्ने हो, लागेन भने गठबन्धन छोड्ने हो । यो स्वतन्त्रता हरेक दललाई छ ।’ 

शर्माले प्रचण्डबाट पालैपालो धोका खाएर विपक्ष रहेकाहरूको हिसाब जोड्दा प्रधानमन्त्रीप्रति कसैको विश्वास नदेखिएको उल्लेख गर्दै सोधेका थिए, ‘विपक्षी बनाइएकाहरू एउटै पक्षमा उभिए भने नि ? धोका खाएकाहरू एक हौँ भनेर लागे भने नि ?’

प्रचण्डले कुरा गरेर सहकार्यको वातावरण बनाउन कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरे । ‘यहाँ पूर्वप्रधानमन्त्री केपी ओलीले एउटा मर्मका साथ बोली नचल्ने भाषा प्रयोग गर्नुभयो । उतापट्टि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अब बोल्ने हो भन्नुभयो । म भन्छु, बोल्नुस्, बोली फुकाउनुस् । बनाउनुस् सहकार्य,’ उनले भने, ‘तर माओवादी केन्द्र, प्रचण्ड वा प्रधानमन्त्री त्यसबाट दबाबमा पर्छ भन्ने भ्रम नराख्नुस् । आफ्नो र जनताको मुद्दाको हितअनुसार गठबन्धन बन्ने हो, टुट्ने हो ।’ 

कांग्रेसलाई जवाफ दिँदै एमाले अध्यक्ष ओलीले ०७२ देखिकै धोकाको प्रसंग उठाएका थिए । कांग्रेसले इमानको कुरा गरेकोमा अचम्म लागेको भन्दै ओलीले ०७२ मा आलोपालो सरकारको नेतृत्वको सहमति कांग्रेसले सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर उल्लंघन गरेको र एमालेलाई धोका दिएको उल्लेख गरे । ‘कांग्रेसले इमानको कुरा गरेको देख्दा अचम्म लाग्यो । कसरी भन्न सकेको होला ढुक्कैले ? एउटा औँला अरूलाई देखाउँदा, बाँकी औँला आफूतिर फर्किन्छन् भन्ने बिर्सिनुहुँदैन,’ ओलीले भने ।

राजेन्द्र पाण्डेलाई जवाफ
प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेलाई पनि जवाफ फर्काए, ‘तपाईंहरूलाई गठबन्धनमा सहज छैन भने भन्दिए भइहाल्यो नि । विगतको गठबन्धनभित्रका कचिंगलले आजित र हैरान पारेर यता आएको छु । फेरि त्यस्तै हुने हो भने त्यस्तै वातावरण बन्ला कि भन्ने चिन्ता भएको छ । आफ्नो नीति र मूल्य–मान्यताअनुसार देश र जनताको सेवा गर्न हामी सबै स्वतन्त्र छौँ । यहाँ कसैले दबाब दिएर हुने हो र ?’

सांसद पाण्डेले विगतमा पार्टीमा विद्रोह गरेर प्रचण्डलाई साथ दिएको, तर नयाँ गठबन्धन बनाउँदा आफ्नो पार्टीलाई बेवास्ता गरेको गुनासो गर्दै ओली र देउवा मिले तपाईंको हालत के हुन्छ भनेर चेतावनी दिएका थिए । जवाफमा प्रचण्डले यो कमजोरीबारे नेतृत्वसँग छलफल भइसकेको भन्दै फेरि विरोध गर्नु उचित नभएको बताए । प्रचण्डले आफ्नो नीतिअनुसार गठबन्धन ठीक लाग्छ भने पूर्ण समर्थन गरेर एकपटक मौका दिनुपर्ने र ठीक नलागे छोड्न स्वतन्त्रता रहेको उल्लेख गरेका थिए । ‘तपाईंहरूको नीति र कार्यक्रमले प्रधानमन्त्रीलाई एकचोटी मौका दिँदा ठीक लाग्छ दिनुस्, लाग्दैन नदिनुस्,’ उनले भने, ‘तर प्रधानमन्त्रीलाई धम्क्याउने तरिकाले देशको हित हुँदैन ।’

यसकारण नयाँ गठबन्धन
प्रचण्डले राष्ट्रको बृहत्तर हित, संविधानको रक्षा, जनताको विकास र समृद्धिको आकांक्षालाई सम्बोधन गर्न सजिलो हुने गरी नयाँ गठबन्धन बनाएको बताए । ‘एक वर्षको अनुभव अन्तिमसम्म आउँदा राम्रो भएन भन्ने लाग्यो । मैले स्वतन्त्रतापूर्वक निर्णय गरेँ,’ उनले भने, ‘पुरानो गठबन्धनलाई निरन्तरता दिने भनेको दिन कटाउने, काल पर्खनेजस्तो लाग्यो, जुन कुरा स्वीकार्य भएन । योभन्दा अगाडि देशलाई अगाडि लैजाने सम्भावना नदेखेकाले कि त पदबाट राजीनामा दिनुप¥यो कि अर्काे गठबन्धन बनाएर फेरि बल गर्नुपर्ने परिस्थितिबाट हाम्रो दलले नयाँ ढंगबाट पहल गरेर गठबन्धन बन्यो । आवेग वा कसैलाई सरप्राइज दिनेभन्दा सोचविचार गरेरै निर्णय लिइएको हो ।’ 

वर्षमा तीनपटक गठबन्धन बदलेको स्पिरिटमा जाँदा पाँच वर्षमा १३ पटक गठबन्धन बन्ने भन्दै व्यंग्य गरेका कांग्रेस प्रमुख सचेतक रमेश लेखकलाई प्रचण्डले संवैधानिक व्यवस्था, निर्वाचन प्रणाली, नागरिकबाट प्राप्त मिश्रित जनमतले गठबन्धन बन्ने, भत्किने, फेरि बन्ने सम्भावना रहिरहने जवाफ दिए । 

प्रचण्डले अहिलेको गठबन्धन उच्च तहको एकता भएको बताए । ‘सबै अनुभवसहित संविधानको रक्षा, राष्ट्रको बृहत्तर हितका लागि धेरै खालका जोखिम थाहा पाएर यो निर्णय लिइएको हो । निर्णय लिनेबित्तिकै ४८ घण्टामा फालेर देखाउने प्रयास पनि भए, मैले भोगेँ । के–के हुँदै जान्छन् भन्ने कुराको अनुमान पनि छ । म त्यसका लागि तयार भएर नै कदम चालेको हो,’ उनले भने, ‘मैले धेरै ठूला जोखिम नजिकबाट मोल्दै आएको छु । यो पनि ठूलो जोखिम हो, देश र संविधानको पक्षमा लिएको हो ।’ 

एमाले अध्यक्ष ओलीले अहिलेको गठबन्धन निर्माणको मुख्य पात्र प्रचण्ड भएको र आफूले साथ दिएको बताए । बाह्य शक्तिले गठबन्धन बनाएको भन्ने विषयको खण्डन गर्दै ओलीले देशभित्र भएको कामको जस आफूलाई दिन पनि अनुरोध गरे । गठबन्धन परिवर्तन हुँदा अस्थिरता र अनिश्चितता सिर्जना भएको भन्ने कांग्रेस नेताको टिप्पणीमा प्रतिवाद गर्दै ओलीले सोधे, ‘पोहोर दुई महिनामा सरकार परिवर्तन गर्दा अस्थिरता लागेन, अहिले एक वर्ष–१४ महिनापछि सरकार परिवर्तन गर्दा केको अस्थिरता ? पोहोर अस्थिरता भएको थिएन त ?’ 

गृहमन्त्रीको बचाउ
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा नाम जोडिएको भन्दै उनलाई सरकारमा राखिएकोमा कांग्रेस नेताहरूले उठाएको प्रश्नमा प्रचण्डले दोहोरो चरित्र नदेखाउन आग्रह गरे । ‘प्रश्न उठेका मान्छेलाई मन्त्री बनाउने, के हो यो भनेर कुरा उठ्यो । तिनैलाई प्रधानमन्त्री बनाउन हिँडिराखेको पनि त देखिएकै छ । यति धेरै डबल स्ट्यान्डको कुरा हामी किन गर्ने ? आफूतिर आउँछ भने प्रधानमन्त्री बनाउन पनि तयार, आउँदैन भने भ्रष्टाचारी, यो मुद्दामा परेको, कारबाही गर्नुपर्छ, यस्तो डबल स्ट्यान्ड चल्छ ? आफू प्रधानमन्त्री बनाउनै तयार हुने, डबल स्ट्यान्ड किन ?’ उनले सोधे । कांग्रेस महामन्त्री शर्माले विगतमा प्रश्न उठ्दा प्रधानमन्त्रीले आरोप लागेकाहरूलाई मन्त्री बनाउँदिनँ भनेको, तर अहिले राज्यले अनुसन्धान गरिरहेको व्यक्ति मन्त्री बनाएर वचन तोडेको भन्दै आलोचना गरेका थिए । 

शर्माले माधव नेपालको नाम उच्चारण गर्नसमेत नमान्ने एमाले अध्यक्ष अहिले कोटेश्वर निवासमै पुग्नु अचम्म भएको पनि जिकिर गरे । उनले नो नट अगेन भन्ने नयाँ दलहरू पुरानासँगै अगेन अगेन भन्नेमा पुगेको भन्दै व्यंग्य गरे । यसमा रास्वपा उपाध्यक्ष स्वर्णिम वाग्लेले बेलायतदेखि भारतसम्मको उदाहरण दिँदै नयाँ जोस र पुरानो अनुभवको सन्तुलन जरुरी रहेको र यसैका लागि पुराना दलसँग सरकारमा गएको दाबी गरे ।