१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
तेजराज भट्ट काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o६:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

कर्णाली पुलको क्षतिबारे अध्ययन गर्दै प्राविधिक टोली : आवागमन खुल्न अझै तीन दिन लाग्ने

Read Time : > 1 मिनेट
तेजराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:१o:oo

सडक विभागअन्तर्गत पुल महाशाखाको प्राविधिक टोलीले कैलालीको चिसापानीस्थित कर्णाली पुलमा आगलागीबाट भएको क्षतिबारे अध्ययन गरिरहेको छ । क्षतिग्रस्त भएका वस्तुको नमुना लिएर टोलीले ल्याबमा परीक्षण गर्दै छ । पुलबाट आवागमन नियमित अझै कम्तीमा तीन दिन लाग्ने टोलीले जनाएको छ । 

पुलको सतह र लठ्ठाको तारमा भएको क्षति तथा सवारीसाधन सञ्चालनका लागि गर्नुपर्ने मर्मतसम्भारबारे अध्ययन भइरहेको पुल महाशाखाका सिनियर डिभिजनल इन्जिनियर कृष्णराज अधिकारीले जानकारी दिए । आगलागीबाट पुलको दुवैतर्फका सात–सातवटा लठ्ठाको तार तथा पुलको सतहमा क्षति पुगेको उनले बताए ।

‘पुलको मुख्य लठ्ठाको तार जलेको छ, नमुना लिएका छौँ, तारमा कति क्षति पुग्यो भनेर परीक्षण गरेपछि थाहा होला,’ उनले भने, ‘हामीले सबै रिपोर्ट संकलन गरेका छौँ, रिपोर्टको विश्लेषण र परीक्षण गरेपछि आगलागीबाट पुलमा पुगेको क्षति र त्यसले पुललाई गर्ने असरबारे थाहा होला ।’ वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको ना.५ख ५२९७ नम्बरको ट्रकमा कर्णाली पुलमा सोमबार दिउँसो आगलागी भएको थियो । 

गुडिरहेको ट्रकमा आगलागी भएर क्षति पुगेपछि पुलमा यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ । आगलागीले क्षतिग्रस्त पुलको सतह मर्मत गर्नुपर्ने भएकाले पुलमा यातायात सञ्चालन गर्न केही समय लाग्ने इन्जिनियर अधिकारीले बताए । यातायात नियमित गर्न कम्तीमा तीन दिन लाग्ने उनको भनाइ छ । ‘सतह मर्मतको काम भोलिबाटै सुरु हुन्छ, मर्मत गर्न तीन दिनजति लाग्ला,’ उनले भने, ‘त्यतिन्जेल रिपोर्ट तयार गरिसक्छौँ ।’ केन्द्रमा विज्ञसँग बसेर नमुनाको विश्लेषण र छलफल गरिने क्षतिको अध्ययनका लागि आएका प्राविधिकले बताएका छन् । 

ट्रकमा लागेको आगो करिब चार घण्टापछि नियन्त्रणमा लिइएको थियो । आगलागीबाट ट्रक र त्यसमा रहेका एक हजार एक सय कार्टुन लाइटर जलेर नष्ट भएका छन् । पुलमा यातायात बन्द गरिएपछि अहिले पूर्व–पश्चिम राजमार्गमा चल्ने सवारीसाधन हुलाकी राजमार्गअन्तर्गत टीकापुर–नेपालगन्जको वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन् । एउटै खम्बामा अडिएको निकै आकर्षक देखिने कर्णाली पुल सन् १९९३ मा निर्माण गरिएको थियो । पुल हेर्नकै लागि चिसापानीमा बर्सेनि थुप्रै पर्यटक पुग्ने गर्छन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २८ मंसिर ०५० मा पुलको उद्घाटन गरेका थिए ।

ad
ad