१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार ११:४१:oo
Read Time : > 3 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

महोत्सव व्यवस्थापक ठेकेदार, डिजिटल पोस्टरमा बेचिन्छन् कलाकार 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:४१:oo

ब्ल्यांकेट र बिस्तारा खरिद गर्न अनि बासी मोमो खान मात्र होइनन्, मेला महोत्सवमा अधिकांश दर्शक कलाकारहरूका प्रस्तुति हेर्न पनि जान्छन् । त्यसैले आयोजकले चलाखी गर्छन् र दर्शकमाथि ठगी गर्छन् । जस्तो पाल्पामा जारी तानसेन महोत्सवमा भयो । 

महोत्सव आयोजना हुनुभन्दा निकै अघिदेखि चर्चित कलाकारका पोस्टर लगाएर प्रचारप्रसार गर्ने र दर्शक लोभ्याउने काम तानसेन महोत्सवमा पनि भयो । आफूले मनपराएका तिनै कलाकार आउने ठानेर दर्शक दिनहुँ टिकट काटेर महोसत्व पुगे । तर, दर्शकले न आफूले रुचाएका कलाकार स्टेजमा देख्न पाए, न मनोरञ्जन लिन । आयोजकले आफूमाथि गरेको ठगीबाट निराश हुँदै दर्शक बाहिरिन बाध्य भए । 

यो ठगीले दर्शक मात्र होइनन्, आफ्नो नाम बेचेर ठगी भएकोमा कलाकारहरूसमेत असन्तुष्ट छन् । महोत्सवका आयोजककाे बदमासीबाट आवाज र अनुहार बेचेर जीवन चलाउने कलाकार पनि रुष्ट भएका छन् । 

तानसेन महोत्सवमा चर्चित कलाकारहरूका पोस्टर राखिएका छन् । २० देखि २९ फागुनसम्म आयोजना गरिएको १० दिने महोत्सवमा आउने भनेर प्रचारप्रसार गरिएका कलाकार नआएपछि अहिले उनीहरूलाई डिजिटल पोस्टरमा प्रचारका लागि मात्रै राखिएको खुलेको हो । 

‘म लगातार मेलामा आइरहेको छु,’ तानसेन– ११ का सुनील आचार्यले भने, ‘पोस्टरमा चर्चित कलाकारहरूको नाम देखेर हेर्न दिनहुँ आएँ । तर, हामीलाई झुक्याइएको रहेछ । यो ठगी धन्दा भयो । तानसेन नगर सरकारले नै गरेको महोत्सवमा गलत गरिनु दुःखद हो ।’
चर्चित गायक तथा फिल्म निर्देशक नारायण रायमाझीको फोटो ब्यानरको सुरुमा अन्य सबै कलाकारको भन्दा ठूलो आकारमा राखिएको छ । सबैभन्दा बढी प्रचार गरिएका रायमाझीलाई महोत्सव चलिरहेको विषयमा सामाजिक सञ्जालबाट थाहा मात्रै छ । उनलाई कार्यक्रममा आउनका लागि कसैले फोन, म्यासेज गरेको छैन । न त्यसरी फोटो राख्न अनुमति नै लिइएको छ । रायमाझीले नयाँ पत्रिकासँग भने, ‘मलाई केही थाहा छैन ।’

लोकदोहोरी गायक राजु परियारको अवस्था पनि उस्तै रहेछ । तानसेन महोत्सवमा मात्रै नभएर धेरै ठाउँका मेला–महोत्सवमा आफ्नो फोटो दुरुपयोग भएको उनले बताए । 

‘हामीलाई कुनै दिन आयोजकले नै सिध्याउँछन्  जस्तो लाग्छ, दर्शकहरूको नजरमा गिरेको महसुस भएको छ,’ गायक परियारले भने, ‘सिर्जना चल्नु फरक कुरा हो, मान्छे चल्न सकिँदैन । दर्शकले विश्वास गर्न छाडिसके ।’ 

उनले आफू फोटोको दुरुपयोगले पीडित भएको भन्दै यसको निराकरणका लागि सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए । 

कलाकार शिरीष देवकोटाले कलाकार मात्रै नभई कसैको पनि फोटो अनुमतिविना सार्वजनिक गर्नु गम्भीर गल्ती भएको भन्दै आगामी दिनमा यस्तो नगर्न सचेत गराएका छन् । कलालाई नै बिक्री गर्न खोजिएकोप्रति दुःख व्यक्त गर्दै देवकोटाले थाहा नै नदिई फोटो राखिनु सामान्य नभएको तर्क गरे । 

त्यस्तै, कलाकार पुस्कल शर्माको फोटो पनि ब्यानरमा राखेर प्रचार गरिएको छ । आफूसँग कार्यक्रमका विषयमा निर्णय नै नगरी पुस्कल आउँछ भनेर दर्शकको नजरमा खेलवाड गरिएको भन्दै उनले जिल्ला प्रशासन कार्यालय पाल्पामा उजुरी दिने बताए । कलाकार शर्माले अन्य कार्यक्रममा पनि दर्शकहरूको विश्वास गुम्ने खतरा हुने भन्दै महोत्सव आयोजक तानसेन नगरपालिकाले फोटोको दुरुपयोगबारे जवाफ दिनुपर्ने बताए । 

महोत्सवमा गायिका समीक्षा अधिकारी पनि आउने भन्दै प्रचार गरिएको थियो । तर, उनलाई तानसेनमा महोत्सव चलिरहेको छ भन्ने नै जानकारी छैन । ‘हजुरले भनेपछि मात्रै थाहा भयो,’ गायिका अधिकारीले नयाँ पत्रिकासँग भनिन्, ‘यसरी फोटो राखेर प्रचार गरिनु गलत हो, आयोजले फाइदाका लागि मेरो फोटो राखेर प्रचार गर्न पाउँदैनन्, यसले दर्शकबीचमा कलाकारलाई अविश्वसनीय बनाउँछ ।’

गायिका अस्मिता अधिकारीलाई पनि तानसेन महोत्सवका व्यवस्थापकले कुनै डिल गरेको छैन । ‘कसरी प्रचार गरियो, कसरी फोटो राखियो, मलाई त तपाईंको फोनले मात्रै थाहा भयो,’ गायिका अधिकारीले भनिन्, ‘आउने फाइनल नभई प्रचार गर्नु आयोजकको कमजोरी हो ।’
यस्तै अवस्था गायिका एलिना चौहानको पनि छ । उनलाई पनि तानसेन महोत्सव र यसको आयोजकबारे कुनै जानकारी छैन । ‘मलाई केही थाहा छैन । कहिले–कहिले चिनेको आयोजक पर्नुभयो भने नसोधी फोटो राख्नुहुन्छ र पछि बोलाउनुहुन्छ । तर, तानसेनको बारेमा भने मलाई केही थाहा छैन,’ चौहानले भनिन् ।

हास्यकलाकार पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’ले पनि पोस्टरमा आफ्नो फोटो देखेपछि मात्रै महोत्सवबारे थाहा पाएका थिए । ‘ठीकै छ, बोलाउलान् भनेको त पोस्टरमा बेचेछन्,’ पुर्खे बाले भने, ‘यसरी बेच्न लागे भने त बाँच्न कठिन पो हुन्छ ।’

कलाकार हुम गैरेले एक कल फोनसम्म नगरी आफ्नो फोटो राखिएकाले आयोजक क्षमा गर्न लायक नभएको टिप्पणी गरे । ‘यो मानहानि गरेको भयो, यस्तो घटिया काम गर्न हुँदैन, पोस्टर खाली भएको भए, रानीमहलको फोटो राखेको भए राम्रो देखिन्थ्यो । हाम्रो फोटो किन बेचेको होला ?,’ उनले आक्रोश पोखे । 

गायक पुरुषोत्तम गैरेको पनि पोस्टरमा नाम छ, तर उनलाई पनि तानसेन महोत्सवबारे समाचार र सामाजिक सञ्जालबाट मात्रै थाहा छ । ‘मैले त फोटो किन राखेको हो भनेर सोध्नेसमेत कसलाई हो थाहा पाइनँ,’ गैरेले भने, ‘आफैँ दुरुपयोग भएजस्तो लागेको छ ।’

गायिका शान्तिश्री परियारको पनि तानसेन महोत्सवमा प्रचार गरिएको छ, तर उनीसमेत महोत्सवमा उपस्थित छैनन् । गायक विष्णु खत्री, जीवन शर्मा, विष्णु पाण्डेको समेत मेलामा प्रचार गरिएको भए पनि उनीहरूलाई समेत महोत्सवमा डिजिटल पोस्टरमा सीमित राखियो ।

कलाकारको फोटो दुरुपयोगबारे राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले समेत ध्यानाकर्षण भएको जनाएको छ । प्रतिष्ठानकी अध्यक्ष रीता थापाले कलाकारको अनुमति नलिई फोटो राख्ने र प्रचारप्रसार गर्ने गरिए प्रचलित कानुनअनुसार हुने बताएकी छिन् ।

तानसेन नगरपालिकाले राजधानी राइडर्सलाई मेला व्यवस्थापनको जिम्मेवारी दिएको हो । सांस्कृतिक संयोजक सविता भट्टराईले नगरपालिकाले ठेक्कामा मेला आयोजना गर्न दिएकाले नगरपालिका जवाफदेही नहुने बताउँछिन् । तानसेन नगरपालिका सरकारले देशका गहना मानिने कलाकारमाथि गरिएको अन्यायमाथि चुप बसेको छ । आफ्नै आयोजनामा रहेको कार्यक्रममा गम्भीर लापरबाही भएको विषयमा मौन बस्नुले नगर सरकारमाथिसमेत कलाकारले प्रश्न गरेका छन् ।

मेला व्यवस्थापक राजधानी राइडर्सका तर्फबाट प्रतिनिधि सुमितकुमार घिमिरेले कलाकारको समय र पारिश्रमिक नमिलेका कारण उनीहरूलाई  ल्याउन नसकेको बताएका छन् । नमिलेको भए किन प्रचार गरेर दर्शक झुक्याएको त ? भन्ने प्रश्नमा उनले भने, ‘मिल्ला भन्ने लाग्यो ।’ 

सम्बन्धित कलाकारलाई कुनै खबर नगरी उनीहरूका नाममा दर्शकहरूलाई झुक्याएर आर्थिक लाभ लिने खेलले महोत्सव एवं यसको गरिमा घटाएको छ । चर्चित कलाकारको फोटो राखेर कम पारिश्रमिक लिने कलाकारलाई स्टेज दिएर पैसा कमाउने नियतले कुनै दिन कलाकारको विश्वसनीयता घटाउनेछ भने महोत्सवलाई मानिसहरू पत्याउने छैनन् । 

ad
ad