कपिलवस्तुमा पहिलोपटक डायलाइसिस सेवा सञ्चालनमा आएको छ । डायलाइसिस सेवा शुभारम्भ भएपछि कपिलवस्तुका साथै अर्घाखाँची, प्युठान, गुल्मीका मिर्गौला बिरामीका लागि सहज भएको छ । मिर्गाैला बिरामीका लागि सुरु गरिएको यो सेवा कपिलवस्तुमै पहिलो हो ।
रोटरी क्लब सेन्ट्रल बुटवल र रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुको सहयोगमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको शाखाका रूपमा कपिलवस्तु सामुदायिक डाइलाइसिस सेन्टर सञ्चालनमा आएको हो । दुई वर्षदेखि पहल गर्दागर्दै पनि विभिन्न बाधा अवरोधका बीच उक्त कपिलवस्तु सामुदायिक डायलाइसिस सेन्टरबाट डाइलाइसिस सेवा सुरुवात गरिएको लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले बताए । बाणगंगा नगरपालिका– १ मा रहेको जेसिज भवनमा सुरु गरिएको यो सेवाबाट मिर्गौलाका बिरामीलाई राहत हुने उनको भनाइ छ ।
मिर्गौला बिग्रिएमा वा मिर्गौलाले काम नगरेको अवस्थामा मेसिनको माध्यमबाट शरीरमा रहेका विकार डायलाइसिसबाट फालिन्छ । सुरुका दिनमा चारजना बिरामीलाई राखेर परीक्षण गरिएको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल डायलाइसिस सुपरभाइजर विमल भुसालले बताए । अस्पतालका प्रमुख प्रशासकीय अधिकृत कमल भण्डारीले प्रदेश सरकारबाट अनुमति पाउन साथ यो सेवा निरन्तर रूपमा प्रदान गर्ने बताए । डायलाइसिस सेवा सुरु भएसँग जिल्लावासी खुसी भएका छन् । ‘सुरुकै दिन चारजनाको डायलाइसिस भयो । अब बुटवललगायत सहरमा यहाँका बिरामी जानुपर्दैन,’ स्थानीय हरि गैरेले भने ।