मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २९ मंगलबार
  • Saturday, 21 December, 2024
२o८o फाल्गुण २९ मंगलबार o७:१२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बोआओ सम्मेलनमा यो वर्ष नेपाल सहभागी हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण २९ मंगलबार o७:१२:oo

चीनले यसपटक १३ देखि १६ चैतसम्म आयोजना गर्ने बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनमा नेपालले पनि सहभागिता जनाउने भएको छ । प्रधानमन्त्रीले बुधबार संसद्मा विश्वासको मत लिएपछि नेपालबाट पठाउने प्रतिनिधिमण्डल तय गर्ने तयारी छ । 

‘बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलनलाई नेपालले महत्वपूर्ण रूपमा लिएको छ । सम्मेलनमा यो वर्ष नेपाल सहभागी हुन्छ । तर, कुन तहमा नेपालले सहभागिता जनाउने भन्नेचाहिँ संसद्मा सरकारले विश्वासको मत लिएपछि निर्णय हुन्छ,’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार डा. रूपक सापकोटाले नयाँ पत्रिकासँग भने, ‘नेपाल र चीनको कूटनीतिक च्यानलमा यस सम्बन्धमा अनौपचारिक रूपमा कुराकानी भइरहेको छ ।’ 

रूपक सापकोटा, प्रधानमन्त्रीका 
परराष्ट्र मामिला सल्लाहकार 

बोआओ सम्मेलनमा यो वर्ष नेपाल सहभागी हुन्छ । कुन तहमा सहभागिता जनाउने भन्नेचाहिँ सरकारले संसद्मा विश्वासको मत लिएपछि निर्णय हुन्छ

परराष्ट्र स्रोतका अनुसार स्वास्थ्यका कारण राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने स्थिति छैन । उपराष्ट्रपति रामसहाय यादव यसअघि कुन्मिङमा आयोजित दक्षिण एसियाली एक्स्पोमा सहभागी भएका छन् । प्रधानमन्त्री प्रचण्ड पाँच महिनाअघि मात्रै चीनको औपचारिक भ्रमण गरेर फर्केका हुन् । ‘त्यसकारण बोआओ फोरममा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा प्रतिनिधिमण्डल जाने सम्भावना बलियो छ,’ परराष्ट्र स्रोतले भन्यो ।

बोआओ फोरम फर एसिया सन् २००१ मा स्थापना भएको हो । हरेक वर्ष चीनको हाइनान प्रान्तको बोआओ सहरमा सम्मेलन हुँदै आएको छ । अघिल्लो वर्ष प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा आएको थियो । तर, उपराष्ट्रपतिको निर्वाचनलगायत घरेलु राजनीतिका कारण उनी सहभागी हुन सकेनन् । प्रचण्डले पहिलोपटक प्रधानमन्त्री हुँदा सम्मेलनमा सहभागिता जनाएका थिए । 

बोआओ फोरम फर एसिया सन् २००१ मा स्थापना भएको थियो । यसको संस्थापक सदस्य नेपाल पनि हो । सम्मेलनमा विगतमा राष्ट्रपति डा. रामवरण यादव र विद्यादेवी भण्डारी, पूर्वराजा ज्ञानेन्द्र शाह, प्रधानमन्त्री केपी ओली, प्रचण्डलगायतले सहभागिता जनाइसकेका छन् ।

यो वर्षको वार्षिक सम्मेलनबारे चीनको स्टेट काउन्सिलले आफ्नो वेबसाइटमा भनेको छ, ‘विभिन्न देशका नेता, सरकारी अधिकारी, अन्तर्राष्ट्रिय संस्थाहरूका प्रमुख, व्यवसायी, विभिन्न क्षेत्रका विज्ञहरू सहभागी हुनेछन् ।’ वैश्विक अर्थतन्त्र, सामाजिक विकास, अन्तर्राष्ट्रिय सहकार्य तथा वैज्ञानिक एवं प्राविधिक आविष्कारलगायतका विषयमा छलफल हुने कार्यक्रम छ । बोआओ फोरमको अध्यक्ष संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव वान कि मुन छन् । यसमा एसियाका ३० मुलुकले सहभागिता जनाउँदै आएका छन् । यस वर्ष फोरम सम्मेलनको मूलनारा ‘एसिया र विश्वका साझा चुनौती र साझा दायित्व’ राखिएको छ ।