मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २७ आइतबार
  • Wednesday, 18 December, 2024
सन् २०२२ को डिसेम्बर ४ मा गुजरात विधान सभा चुनावको दोस्रो र अन्तिम चरणअन्तर्गत सम्बन्धित मतदान केन्द्रमा जानुअघि वितरण केन्द्रमा विद्युतीय भोटिङ मेसिन र अन्य चुनावी उपकरण जाँच गर्दै मतदान अधिकृत । तस्बिर : पिटिआई
एमजी देवसहायम
२o८o फाल्गुण २७ आइतबार ११:२९:oo
Read Time : > 4 मिनेट
विश्व प्रिन्ट संस्करण

भारतमा पुनः कागजी मतपत्र प्रयोगको बहस

गहिरिएर हेर्ने हो भने भोटिङ मेसिनको मतदानमा कागजी मतपत्रबाट गरिने मतदानमा जस्तो पारदर्शिता हुँदैन

Read Time : > 4 मिनेट
एमजी देवसहायम
नयाँ पत्रिका
२o८o फाल्गुण २७ आइतबार ११:२९:oo

भारतको निर्वाचनमा प्रयोग हुने ‘इलेक्ट्रोनिक भोटिङ मेसिन (इभिएम)’ अहिले चर्चाको विषय बनेको छ । इभिएमको विश्वसनीयतामाथि प्रश्न गर्दै केही विपक्षी दल र अभियन्ताहरूले प्रायः देशमा प्रयोग गर्ने गरेको कागजी मतपत्र भारतमा पुनः प्रयोगमा ल्याउनुपर्ने तर्क गरिरहेका छन् । भारतमा इभिएमप्रतिको विश्वास अहिलेजस्तो कहिल्यै घटेको थिएन ।

आखिर यो अवस्था कसरी आयो ? खासमा केही समस्या इभिएमको काम गर्ने कार्यशैलीमा छ भने केही यसको भारतीय प्रयोगमा । यहाँ दुवैको चर्चा गरिनेछ । विद्युतीय भोटिङ मेसिन(इभिमए)ले लोकतन्त्रअन्तर्गत पूरा गर्नुपर्ने केही अनिवार्य सिद्धान्त पालना गर्दैन । र, अहिले इभिएमविरुद्ध उठेका आलोचना साम्य पार्न भन्दै भारतीय निर्वाचन आयोगले सचेतना बढाउन भन्दै जुन ‘रोड–सो सडक प्रदर्शन’ आयोजना गरिरहेका छ, त्यहाँ इभिएमसम्बन्धी केही आधारभूत जानकारीबाहेक केही प्रस्तुत भइरहेको छैन । विश्वमा निर्वाचन पाँचमध्ये कुनै एक मतदान प्रणाली प्रयोग गरिन्छ । ती हुन्– 
१.    कागजी मतपत्र, 
२.    विद्युतीय भोटिङ मेसिन(इभिएम), 
३.    भोटर भेरिफाएबल पेपर अडिट ट्रेल अर्थात् मतदाताले मत खसालेपछि कागजी प्रमाण पनि देखिने (भिभिपिएटी)सहितको इभिएम, 
४.     मेसिनले पढ्न सकिने कागजी मतपत्र, र 
५.    इन्टरनेटमा आधारित मतदान । 


भारतले यीमध्ये सुरुमा पहिलोबाट चुनाव गराउन सुरु गरेको थियो । त्यसपछि दोस्रो विकल्पमा गयो र अहिले तेस्रो प्रयोग गरिरहेको छ । यहाँ अब कागजी मतपत्रले लोकतन्त्रको केही आधारभूत सिद्धान्तको पालना गर्दा इभिएमले पूरा नगर्ने विषयलाई विस्तारमा व्याख्या गर्दै छु । कुनै पनि स्वच्छ र प्रजातान्त्रिक निर्वाचनमा निम्न सिद्धान्त पालना हुनुपर्छ :

 

  •     मतदान प्रक्रिया पारदर्शी हुनुपर्छ, जसमा आमजनताले आफ्नो मत सही रूपमा रेकर्ड भएको र गणना भएको जानकारी राख्न पाउनुपर्छ । 
  •     मतदान र मतगणना प्रक्रिया सार्वजनिक रूपमा परीक्षणयोग्य हुनुपर्छ ।
  •      आमनागरिकले चाहेमा मतदान प्रक्रियाका चरणको जाँच गर्न सक्षम हुनुपर्छ ।
  •     मतदान प्रक्रिया, मतगणना र नतिजाको सुनिश्चितताको परीक्षण र प्रमाणीकरण गर्न सकिने हुनुपर्छ ।
  •      सम्पूर्ण मतदान प्रक्रियामाथि निर्वाचन आयोगको पूर्ण नियन्त्रण हुनुपर्छ ।

यी कुरालाई कागजी मतपत्रमा आधारित निर्वाचन प्रणाली र इभिएमबाट गरिने निर्वाचन प्रणलीका प्रक्रियामा कसरी कार्यान्वयन हुन्छ, तुलना गरेर हेर्‍याैँ । आखिर पाँच वर्षका लागि जनताले आफ्नो सार्वभौमसत्ता आफूले रोजेको प्रतिनिधिलाई हस्तान्तरण गर्ने प्रक्रियामा उठ्ने शंकालाई सम्बोधन गर्नुपर्छ । अब यहाँ यी दुई प्रणालीका विभिन्न चरणमा मतदाताले अबलम्बन गर्ने प्रक्रिया चर्चा गरिँदै छ :

कागजी मतपत्र प्रणालीअन्तर्गत मतदाताले मतपत्रको शुद्धता, उम्मेदवारको नाम जाँच गर्न र सही रूपमा चिह्न लगाइएको छ कि छैन भनेर प्रमाणित गर्न सहज हुन्छ । यसले एकप्रकारको प्रामाणिकता प्रदान गर्दछ ।


 कागजी मतपत्र प्रणालीअन्तर्गत मतदाताले  पालना गर्ने प्रक्रियाः

  •      निर्वाचनअघि मतपेटिकालाई एक अलग मतदान कक्षमा राखिएको हुन्छ, 
  •      मतदाता मतदान केन्द्रमा प्रवेश गरेपछि प्रमाणीकरण हुन्छ ।
  •      मतदातालाई एउटा मतपत्र दिइन्छ, जसले मतपत्रमा आफूले चुन्न चाहेको उम्मेदवार र उसको चिह्न भए नभएको जाँच्छन् ।
  •      त्यसपछि मतदाता सो मतपत्र लिएर मतपेटिका राखिएको मतदान कक्षमा जान्छन् । 
  •      सो गोप्य कोठामा मतदाताले आफ्नो रोजाइको उम्मेदवारको चिह्नको छेउमा छाप लगाउँछन् र त्यस मतपत्र त्यहाँ राखिएको मतपेटिकाभित्र खसाउँछन् ।
  •      मतदान सकिएपछि हुने मतगणनाका क्रममा गणकले निर्वाचन अधिकारी र हरेक उम्मेदवारका एजेन्टहरूको उपस्थितिमा प्रत्येक मतपेटिकाभित्र जम्मा भएका मतपत्रलाई एक ठाउँमा खन्याउँछन् । त्यसपछि गणकले सबैले देख्ने गरी हातले एक–एक गरेर मतपत्र गन्छन् । 
  •      मतगणनास्थलमा अलग–अलग उम्मेदवारले पाएका मत राख्न अलग ‘ट्रे’ राखिएको हुन्छ । मतगणनाका क्रममा आउने ‘शंकास्पद’ वा ‘बदर’ मत राखिने अलग ‘ट्रे’ पनि राखिन्छन् । 
  •      प्रमाणीकरण–लेखापरीक्षण प्रक्रियाको एक हिस्साको रूपमा, मतपत्रलाई २५–२५ को बन्डल बनाइन्छ । मतपत्र गनेपछि तिनको संख्या कुल खसेका मत संख्याअनुरूप भए–नभएको हिसाब मिलान गरिन्छ ।
  • कागजी मतपत्र प्रणालीअन्तर्गत, मतदाताहरूले मतपत्रको शुद्धता, उम्मेदवारको नाम जाँच गर्न र सही रूपमा चिह्न लगाइएको छ कि छैन भनेर प्रमाणित गर्न सहज हुन्छ । 

 इभिएमबाट हुने निर्वाचन  प्रणालीअन्तर्गतका चरणलाई हेरौँ :

  •      इभिएममा दुई एकाइ समावेश हुन्छन्– एउटा, प्रत्येक उम्मेदवारका लागि अलग चिह्नयुक्त बटन रहने ‘मतपत्र एकाइ (बटन युनिट–बियू)’ र अर्को ‘मेमोरी(भण्डारण प्रविधि)’ तथा डिस्प्ले समावेश ‘नियन्त्रण एकाइ (सेन्ट्रल युनिट–सियू) 
  •      भारतमा इभिएमलाई थप विश्वसनीय बनाउने भनेर मतदाताले प्रमाणित गर्न सक्ने कागजी अडिट ट्रेल अर्थात् भिभिपिएटी पनि थपिएको छ, जसलाई ‘बियू’ र ‘सियू’मा जोडिएको हुन्छ । बियू, सियू र भिभिपिएटी तीनवटा एकाइलाई एक तार(केबल)ले एक–आपसमा जोडेको हुन्छ ।
  •      सियू मतदान अधिकृतको साथमा हुन्छ भने बियू र भिभिपिएटी मतदान गर्न छुट्याइएको अलग कोठामा राखिएको हुन्छ । 
  •      प्रत्येकपटक मतदाता मतदान कक्षमा प्रवेश गर्दा, पहिले मतदान अधिकारीले बटन थिचेर उपकरणमा हरियो बत्ती बाल्छन् । त्यसपछि मतदाताले बियूमा रहेका बटनमध्ये आफूले चुन्न चाहेको उम्मेदवारको चिह्न टाँसिएको बटन थिचेर भोट हाल्छन् । 
  •     मतदाताले बटन थिचेलगत्तै उम्मेदवारको क्रम संख्या, नाम र चिह्न भिभिपिएटीमा देखापर्दछ, जुन सात सेकेन्डसम्म देखिन्छ ।
  •      सात सेकेन्डपछि, सियूले ठूलो स्वरमा ‘बिप’ आवाज बजाउँछ, जुन भोट सफलतापूर्वक हालिएको जनाउ हो । 
  •      मतगणना हुने दिनमा, मतगणना अधिकारीले सियूमा ‘काउन्टिङ बटन’ थिच्छन् । त्यसले मेसिनको स्क्रिनमा प्रत्येक उम्मेदवारले पाएका संख्या देखाउँछ । 

यहाँ, कागजी मतपत्रमा पूर्ण पारदर्शिता देखिँदा इभिएम– भिभिपिएटी प्रणालीमा पूर्ण अपारदर्शिता देखिन्छ । मतदाताको रोजाइको उम्मेदवारलाई सार्वभौमसत्ता हस्तान्तरण भएको छ कि छैन भन्ने जाँच र प्रमाणीकरण गर्ने कुरा मेसिनले गल्ती गर्दैन भनेर तथ्यमै अडेको छ । त्यसबाहेक पारदर्शिताका अन्य मार्ग कुनै छैन ।

मतदातासँग सात सेकेन्डका लागि तिनले भिभिपिएटीमा आफूले चुनेको (बटन थिचेर) दलको चिह्नको पर्ची हेर्ने मौका हुन्छ । तर, मतगणनाका क्रममा ती पर्चीलाई बेवास्ता गरिन्छ । इभिएम र भिभिपिएटीबीच अंक हेरफेर हुने अवस्थाका लागि तिनलाई राखिनुपर्ने हो । तर, त्यस्तो गरिँदै छ । न, पर्चीको गणना नहुने कुरा मतदातालाई नै थाहा दिइएको छ । 

इभिएम प्रणालीअन्तर्गत, मतदाताको विश्वास भनेको बटन थिचेको, त्यसपछि लगत्तै बत्ती बलेको र सात सेकेन्डपछि आवाज सुन्ने कुरामा मात्र अडेको छ । तिनको मत साँच्चै दर्ता भयो कि भएन, भएकोभए तिनकै उम्मेदवारको नाममा भयो कि भएन भन्ने कुरा उनीहरूलाई थाहा हुँदैन । खासमा गहिरिएर हेर्ने हो भने इभिएको मतदानमा कागजी मतपत्रबाट गरिने मतदानमा जस्तो पारदर्शिता हुँदैन । 

भारतीय निर्वाचन आयोगले इभिएम(बियू– भिभिपिएटी–सियूको संयुक्त रूप) एकपटक मात्र ‘प्रोग्राम’ गर्न सकिने चिप भएको पूर्णतः अलग मेसिन भएको दाबी गरेको छ । तर, विशेषज्ञ तथा जानकारहरूले यस दाबीप्रति अविश्वास व्यक्त गरेका छन् । इभिएममा भिभिपिएटी जोडिएदेखि चुनावअघि उम्मेदवारहरूको नाम र चिह्न प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारको सूचीले अन्तिम रूप पाएपछि मात्र बाह्य उपकरण प्रयोग गरेर इभिएममा अपलोड गरिने गरिएको छ । भारतीय निर्वाचन आयोगको म्यानुअलमै यसको उल्लेख गरिएको छ । म्यानुअलअनुसार ‘भारत इलेक्ट्रोनिक्स लिमिटेड (बिइएल)’ र ‘इलेक्ट्रोनिक्स कर्पोरेसन लिमिटेड(इसिइएल)’का इन्जिनियरले ‘सिम्बोल लोडिङ युनिट(एसएलयू)’ नामक उपकरणमार्फत यी विवरणहरू भिभिपिएटीमा विद्युतीय रूपमा अपलोड गर्छन् । 

आयोगले गुमाएको छ विद्युतीय   प्रणालीमाथि नियन्त्रण 
कागजी मतपत्र प्रणालीअन्तर्गत मतपेटिका निर्माण, मतपत्र छपाइ, मतदान केन्द्रसम्म वितरण र मतगणना गर्ने कार्यसम्मका चरणमा भारतीय निर्वाचन आयोगको पूर्ण नियन्त्रण र निगरानी हुन्थ्यो । तर, यो अहिलेको विद्युतीय भोटिङ मेसिनमा लागू हँुदैन । इभिएममा मतदानको तथ्यांक भण्डारण गर्ने कन्ट्रोल युनिटभित्र दुईवटा विद्युतीय रूपमा मेट्न सकिने र पुनः प्रोग्रामिङ गर्न सकिने मेमोरी (इइप्रोम्स) हुन्छ । इभिएमका निर्माता कम्पनी बिइएल र इसिइएल भारतीय निर्वाचन आयोगको नियन्त्रण वा पर्यवेक्षणअन्तर्गतका संस्था होइनन् । तिनीहरू सम्बन्धित मन्त्रालयको नियन्त्रणमा हुन्छन्, जसको दैनिक कार्य सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)ले चुनेका तिनका कार्यकर्ताको निर्देशक बोर्डले सञ्चालन गर्छन् । 

यी निकायले विदेशी चिप्स निर्मातासँग गोप्य सफ्टवेयर प्रोग्राम सेयर  गर्छन् । ती कम्पनीले इभिएममा प्रयोग हुने माइक्रो–कन्ट्रोलरमा यी सफ्टवेयरको प्रतिलिपि उतार्छन् । विदेशी कम्पनीहरूले इभिएम निर्माता बिइएल र इसिइएललाई सफ्टवेयर कोड राखिएका माइक्रो–कन्ट्रोलर हस्तान्तरण गर्दा तिनको कोड लक हुन्छ । यस्तो प्रमाणीकरण गर्न नसकिने स्थिति र अपारदर्शिताका कारण इभिएमले लोकतन्त्रका महत्वपूर्ण सिद्धान्त कुनैले पनि पालना गरेको देखिँदैन । यिनै कारणले गर्दा भारतले पुनः कागजी मतपत्रमा फर्कनुपर्ने बहस उठेको हो । 

कागजी मतपत्रविरुद्ध एउटै गुनासो हुने गर्छ, बुथ क्याप्चर गरेर एउटै दललाई छाप हानेर मतपेटिका भर्ने कुराको । तर, यो सुरक्षा, यातायात र सञ्चार प्रणाली पर्याप्त नभएको समयको समस्या हुन्, जुन स्थिति भारतमा अहिले छैन । 
– द वायरबाट