१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका नेपालगन्ज
२o८१ बैशाख २२ शनिबार ११:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

शिवरात्रिमा भारतीय पर्यटकलाई नेपालगन्जबाट कैलाश-मानसरोवर दर्शन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, नेपालगन्ज
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:५१:oo

नेपालगन्जबाट भारतीय पर्यटकलाई महाशिवरात्रिको अवसरमा चीनको तिब्बतमा रहेको हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवरको दर्शन जहाजमार्फत गराइएको छ।

नेपालको पथिल होलिडेजले नयाँदिल्लीको ट्राभल कम्पनी ‘ट्रिप टु टेम्पल्स’सँगको समन्वयमा नेपालगन्जबाट एक सय ५० जना भारतीय तीर्थयात्रीलाई कैलाश मानसरोवरको दर्शन गराएको हो।

माउन्टेन फ्लाइटबाट कैलाश पर्वत र मानसरोवरको दर्शनसँगै  रावणले तपस्या गरेको राक्षस ताल, अपी र सैपाल हिमाललगायतको आकर्षक दृश्यावलोकन गर्न पाइन्छ।

कोभिडअघि वार्षिक करिब १४ हजार भारतीय पर्यटक नेपालगन्ज रुटबाट मानसरोवर पुग्ने गरेका थिए। कोभिडपछि भारतीय पर्यटकलाई चीनले भिसा नदिएपछि यो रुट सुनसान बनेको छ जसको सीधा असर सो रुटको पर्यटन व्यवसायमा परेको छ।

यसअघि बाँकेको रुपैडिया नाका हुँदै मानसरोवर जाने पर्यटक नेपालगन्जबाट जहाजमा सिमकोट गएर एक रात त्यहाँ वास बस्ने र सिमकोटबाट हिल्सासम्म हेलिकाेप्टरमा गएर हिल्साबाट दुई दिनमा चिनियाँ बसमा ताक्लाकोट हुँदै  मानसरोवर पुग्दथे।

मानसरोवरको रुटको चहलपहल कम भएपछि  नेपालगन्जको पर्यटन सुस्ताएको समयमा पथिल होलिडेजले पर्यटकीय गतिविधि बढाउन र भिसाका कारण रोकिएका भारतीय पर्यटकलाई मानसरोवर दर्शन गराउने उद्देश्यले मानसरोवरको माउन्टेन फ्लाइट सुरु गरिएको पथिल होलिडेजका प्रबन्ध–निर्देशक महेश गौतमले जानकारी दिए।

कैलाश मानसरोवरको दर्शन गर्न चाहने भारतीय पर्यटकका लागि नयाँ गन्तव्यको रूपमा विकास हुने ट्रिप टु टेम्पल्सका प्रबन्ध–निर्देशक विकास मिश्राले बताए।

माउन्टेन फ्लाइटकै लागि एक सय ५० जना भारतीय पर्यटक बिहीबार नेपालगन्ज आएर होटेल सिद्धार्थमा बसेका थिए। उनीहरूलाई श्री एयरलाइन्सको जहाजमा फ्लाइट गराइएको हो।

शिव–पार्वतीको घर देख्ने बाल्यकालदेखिको सपना पूरा भएको कर्नाटकदेखि आएकी ३३ वर्षीया अरुणा यनले बताइन्।

‘भिसा उपलब्ध भए पनि उमेरका कारण जान गाह्रो थियो। यसरी जहाजबाटै दर्शन गर्न पाउँदा अत्यन्तै खुसी छौँ,’ नयाँदिल्लीबाट आएका ६७ वर्षीय गोपाल सेठले खुसी साटे।

भारतीय ट्राभल कम्पनी ट्रिप टु टेम्पल्सले भारतका विभिन्न राज्यका नागरिकलाई तीर्थयात्रा गराउँदै आएको छ।

यसअघि पथिल होलिडेज र ट्रिप टु टेम्पल्सले श्री एयरलाइन्सको समन्वयमा गत माघ १५ देखि कैलाश मानसरोवरको माउन्टेन फ्लाइट सुरुवात गरेको थियो। 

भारतीय पर्यटकलाई लक्षित गर्दै आगामी दिनमा पनि माउन्टेन फ्लाइटमार्फत कैलाश–मानसरोवर दर्शनका लागि हरेक हप्ता उडान गराउने उद्देश्य रहेको मिश्राले बताए।

ad
ad