नेपालले कुल क्षेत्रफलको करिब एकचौथाइ भाग संरक्षण क्षेत्रका रूपमा छुट्याइएको छ भने संरक्षण क्षेत्रबाहिर पनि सामुदायिक वन तथा अन्य आयामको माध्यमबाट संरक्षणका प्रयास भएका छन् । यी प्रयासमार्फत नेपालले वन्यजन्तु संरक्षणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । पछिल्लो समय नेपालमा भएका बाघ, गैँडाजस्ता जनावरको संख्यामा आएको बढोत्तरीले पनि नेपालले गरेको उपलव्धिलाई पुष्टि गर्छ । प्राप्त भएका उपलब्धिसँगै चुनौतीका पहाड पनि खडा भएका छन् ।
नेपालको तराई वन्यजन्तु संरक्षणका दृष्टिले महत्वपूर्ण क्षेत्र हो । साथै, हाल नेपालको कुल जनसंख्याको करिब ५१ प्रतिशत मानिस सोही क्षेत्रमा बसोवास गर्छन् । तराई क्षेत्रमा जनसंख्या वृद्धिदर अन्य क्षेत्रको तुलनामा बढी छ, जसका कारण विकास निर्माणका कार्य पनि सो क्षेत्रमा बढ्नु स्वाभाभिक हो । विकासका पूर्वाधार निर्माणसँगै तराईका संरक्षण क्षेत्रमा संरक्षणका चुनौती पनि थपिँदै गएका छन् ।
मानव विकासका लागि पारिस्थितिकीय प्रणाली र विकासका पूर्वाधार दुवै आवश्यक छन् । विकास र आधुनिक प्रविधिको प्रयोग मानव सभ्यता र सामाजिक विकास एवं राष्ट्र समृद्धिको अनिवार्य पाटो हो । साथै जैविक विविधता पनि मानिसको जीवनका लागि आधारस्तम्भ हुन् । मानिसले आफ्नो जीविकोपार्जनका निम्ति आवश्यक सम्पूर्ण प्रारिस्थितिकीय सेवा यिनै जैविक विविधताबाट प्राप्त गर्छन् । त्यसैले, वातावरण एवं वन्यजन्तुको संरक्षण र विकासलाई एकाकार गरेर लैजानु अहिलेको अनिवार्य सर्त हो । यी दुवै पक्षलाई साथसाथै लैजान नसकेमा ठूलो विपत्ति भोग्नुपर्ने हुन सक्छ ।
वातावरण एवं वन्यजन्तुको संरक्षण र विकासलाई एकाकार गरेर लैजान सकिएन भने वन्यजन्तु संरक्षणमा ठूलै विपत्ति भोग्नुपर्ने हुन सक्छ
विकास निर्माण र त्यससँग सम्बन्धित मानवीय क्रियाकलापले गर्दा वन्यजन्तु संरक्षणमा नयाँ–नयाँ चुनौती थपिँदै गएका छन् । जस्तै– पछिल्लो समय तारजालीमा अड्किएर वन्यजन्तुको मृत्यु हुनु, नहर पोखरीमा परेर मर्नु, प्राकृतिक विपत्तिमा पर्नु तथा बस्तीमा पस्दा कुकुरको आक्रमणमा परी थुप्रै वन्यजन्तुको मृत्यु हुनुजस्ता घटना सामान्य बन्दै गएका छन् ।
वन्यजन्तु संरक्षणका लागि अर्को प्रमुख चुनौती सडक पूर्वाधार हो । वर्तमान अवस्थामा जनसंख्याका साथसाथै सवारीसाधनको प्रयोग पनि बढिरहेको छ । विकासका पूर्वाधारका संरचना पनि बढिरहेका छन् । यसरी बढेको सडकलगायत पूर्वाधार तथा सवारीसाधनको प्रयोग वन्यजन्तुका लागि भने अभिशाप बन्दै गएको छ ।
वन्यजन्तुको संख्या उल्लेख्य भएका क्षेत्रमा सडकलगायत पूर्वाधार निर्माण गर्दा त्यसले दोहोरो चुनौती सिर्जना गरेको छ । एकातिर सडकका कारण वन्यजन्तुको वासस्थान खण्डीकरण भएका छन् भने अर्कातिर वासस्थानको खण्डीकरणका कारण वन्यजन्तुलाई स्थानीय रूपमा विचरण गर्न र आनुवंशिक विविधता कायम राख्न समस्या भएको छ । सडकछेउका क्षेत्र मानिसले अनियन्त्रित रूपमा ओगट्दा वन्यजन्तुको वासस्थानको अतिक्रमण भइरहेको छ । यसका साथै सडक दुर्घटनामा वन्यजन्तु घाइते हुने वा मृत्यु हुने क्रम पनि निकै बढेको छ ।
संरक्षण क्षेत्र भएर निर्माण भएका सडकका कारण वन्यजन्तुको वासस्थान विनाश हुने गरेको छ भने सडक निर्माण र ट्राफिक कोलाहलले वन्यजन्तुको व्यवहार र प्रजनन ढाँचामै प्रतिकूल असर पारेको अध्ययनले जनाएका छन् । विगत केही वर्षको तथ्यांक हेर्दा सडक दुर्घटनाबाट बाँके राष्ट्रिय निकुञ्जमा मात्र सयौँ वन्यजन्तुले ज्यान गुमाएका छन् ।
साधारणतया निकुञ्ज क्षेत्रभित्र सार्वजनिक सडक निर्माण भई बस, ट्रक, ट्र्याक्टर, भ्यान आदि सवारीसाधन सञ्चालन हुँदा मुख्यतयाः सवारीसाधनको आवतजावत र रातिमा प्रकाश भएतिर जनावर आउने, सोझो (सीधा) बाटोमा सवारीसाधनको गति बढी हुने, घुम्ती बाटोमा चालक र वन्यजन्तुले एक–आपसमा सजिलै देख्न नसक्ने, बाटोमा मौसमअनुसार बाक्लो हुस्सु र कुहिरोका कारण स्पष्ट दृश्यावलोकनमा समस्या हुने, चरिचरन क्षेत्रको कमीका कारण वन्यजन्तु आहाराको खोजीमा यत्रतत्र डुल्नुपर्दा सडक पूर्वाधारकै क्षेत्रको प्रयोग गर्नुपर्ने बाध्यता हुनु, निकुञ्ज क्षेत्रमा सवारीचालकको असावधानी, सरोकारवालाको फितलो निरीक्षण र निकुञ्जसँगको कमजोर समन्वयजस्ता कारणले वन्यजन्तु सजिलै दुर्घटनाको सिकार बन्ने गरेको पाइन्छ ।
तराईका संरक्षित क्षेत्रमा मृत्यु हुने वन्यजन्तुको संख्या हिमाल पहाडको तुलनामा बढ्दो क्रममा छ । वन्यजन्तु मृत्युको कारण प्राकृतिक प्रकोप र सडक दुर्घटना मुख्य कारणका रूपमा रहेको पाइन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७९/८० मा सडक दुर्घटनामा मात्रै परी १४१ वन्यजन्तुको मृत्यु भएको पाइएको छ । दुर्घटना परी मुख्यतः चित्तल, बाँदर र अन्य चरा प्रजातिका प्राणी मारिएको देखिन्छ । सबै वन्यजन्तुको मृत्यु अभिलिखित नहुने भएकाले वास्तविक संख्या योभन्दा बढी पनि हुन सक्ने सम्भावना छ ।
वन्यजन्तु संरक्षणमा सडकमा गुड्ने सवारीसाधन विशेष चुनौतीका रूपमा रहेका छन् । सडक दुर्घटनाबाट हुने वन्यजन्तुको क्षतिलाई कम गर्न सकभर निकुञ्ज क्षेत्रभित्रबाट सार्वजनिक सडक निर्माण नगर्ने, सार्वजनिक सडक निर्माण गर्नुपरेमा रातको समयमा सवारीसाधन सञ्चालन नगर्ने, सडकमा चल्ने सवारीसाधनको गति सीमित गर्ने उपाय अवलम्बन गर्ने, सावधानीका सूचनामूलक संकेतबोर्ड राख्ने, सडकको अवस्था बिग्रन नदिने, सवारीचालकलाई वन्यजन्तु संरक्षणसम्बन्धी कार्यमा सचेत गराउने, सडकको क्षेत्राधिकारभित्र ससाना पोखरी निर्माण गर्ने, निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुमैत्री, जस्तै– वन्यजन्तु क्रसिङ, अन्डरपास र ओभरपासजस्ता पूर्वाधार निर्माण गर्नेजस्ता कार्यमा जोड दिने रणनीति अवलम्बन गर्न सकेमा वन्यजन्तुको संरक्षण प्रभावकारी हुन सक्ने देखिन्छ । अन्त्यमा, बढ्दो वन्यजन्तुको संख्या र मानव निर्मित सडक पूर्वाधारलाई वन्यजन्तु वातावरणमैत्री बनाउन सम्बन्धित पक्षबीच समन्वय हुनु नितान्त जरुरी छ ।
(ज्ञवाली रुफोर्ड संस्थाको सहयोगमा वातावरण संरक्षण तथा अध्ययन केन्द्रद्वारा बाँके राष्ट्रिय निकुञ्जमा सवारीसाधनका कारण हुने दुर्घटना न्यूनीकरण परियोजनाको समूह सदस्य हुन्)