१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o८:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

अधिकांश नवनियुक्त मन्त्री क्वार्टर सरे

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:२३:oo

सत्तासमीकरण परिवर्तनसँगै निवर्तमान अधिकांश मन्त्रीहरूले पुल्चोकस्थित सरकारी क्वार्टर छाडेका छन् । क्वार्टर खाली भएपछि नवनियुक्त मन्त्रीहरू क्वार्टर प्रवेश गर्ने क्रम सुरु भएको छ । नवनियुक्त कानुनमन्त्री पदम गिरी र पयर्टनमन्त्री हितबहादुर तामाङ बुधबारै क्वार्टर सरे ।

अर्थमन्त्री वर्षमान पुन, श्रममन्त्री डिपी अर्याल, रक्षामन्त्री हरिप्रसाद उप्रती, उद्योगमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी, महिला, बालबालिकामन्त्री भगवती चौधरी, भौतिकमन्त्री रघवीर महासेठलगायत मन्त्रीहरू बिहीबार क्वार्टर सरेका छन् । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र शिक्षामन्त्री सुमना श्रेष्ठ शुक्रबार सर्ने बताइएको छ । सञ्चारमन्त्री रेखा शर्मा, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पुनः मन्त्री बनेकाले उनीहरूको क्वार्टर यथावत् छ । 

निवर्तमान मन्त्रीहरू धनराज गुरुङ, सुदन किराँती, मोहनबहादुर बस्नेत, रमेश रिजाल, अनिता साह, डिगप्रसाद लिम्बू, वीरेन्द्रप्रसाद महतो र बेदुराम भुसालले क्वार्टर छाडिसकेका छन् । बिहीबार शिक्षामन्त्री अशोककुमार राई, शिक्षाराज्यमन्त्री प्रमिलाकुमारी यादव, महिला तथा बालबालिकामन्त्री सुरेन्द्रराज आचार्य, भौतिकमन्त्री प्रकाश ज्वाला, भूमिसुधारमन्त्री रञ्जिता श्रेष्ठले पनि क्वार्टर छाडेका छन् । तर, दुई निवर्तमान मन्त्रीले भने बिहीबार अबेरसम्म पनि क्वार्टर छाडेका छैनन् । निवर्तमान सहरी विकासमन्त्री सीता गुरुङ र खानेपानीमन्त्री महिन्द्र राय यादवले क्वार्टर नछाडेका हुन् । उनीहरूले क्वार्टर नछाडेपछि नवनियुक्त खानेपानी र सहरी विकासमन्त्रीहरू क्वार्टर सर्न पाएका छैनन् । गुरुङले मंगलबार नै आफू मण्डिखाटारस्थित घरमा फर्किएको दाबी गरिन् । 

भैँसेपाटीको मन्त्री क्वार्टर निर्माण सकिएन, थपियो म्याद 
मन्त्री तथा राष्ट्रिय सभाका पदाधिकारीहरूका लागि भैँसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टर तयार हुन अझै चार महिना लाग्ने भएको छ । यसअघिको ठेक्काअनुसार ठेकेदार कम्पनीले फागुनसम्म काम सकाउनुपर्ने हो । तर, काम बाँकी नै रहेकाले म्याद थप गरिएको विशेष भवन निर्माण आयोजना प्रमुख मचाकाजी महर्जनले जानकारी दिए ।

उनका अनुसार नयाँ मन्त्री क्वार्टरमा मुख्य काम सकिए पनि केही काम अझै बाँकी छ । ‘मुख्यतः अब फर्निचरको काम बाँकी छ, क्वार्टर तथा मन्त्रीको सुरक्षाकर्मी बस्ने ब्यारेक भवन निर्माण भइरहेको छ, बिजुलीबत्ती, जेनेरेटर ट्रान्सफर्मर जडानको काम पनि चलिरहेको छ,’ उनले भने, ‘त्यहाँ स्विमिङ पुल र फाउन्टेन, ढल व्यवस्थापनको काम बाँकी छ, असारसम्म यो काम सकिन्छ ।’ सरकारले २४ मन्त्रालयका मन्त्री र राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, उपसभामुखका लागि भैँसेपाटीमा क्वार्टर निर्माण गरेको हो ।

ad
ad