१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० फाल्गुण २३ बुधबार ११:१५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मनाङमा हिमपहिरोले अवरुद्ध सडक तीन दिनमा खुल्याे

Read Time : < 1 मिनेट
२०८० फाल्गुण २३ बुधबार ११:१५:००

मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरोले अवरुद्ध सडक तीन दिनमा सञ्चालनमा आएको छ । हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका– १ ढिकुरपोखरीनजिकै क्याङ्दी क्षेत्रमा आइतबार हिउँपहिरो खसेर सडक अवरुद्ध भएको थियो । हिमपहिरोका कारण अवरुद्ध सडक तीन दिनमा मंगलबार साँझदेखि सञ्चालनमा आएको मनाङ ङिस्याङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरुङले बताए ।

उपाध्यक्ष गुरुङको पहलमा अवरुद्ध सडक डोजर र एक्स्काभेटरको प्रयोगबाट खुलाइएको हो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका निमित्त प्रमुख प्रकाश अधिकारीले ढिकुरपोखरीनजिकै गएको हिमपहिरोका कारण जोखिम बढेको बताए । पर्यटकीय सिजन सुरु भएसँगै पदमार्गमा अहिले दैनिक २५ देखि ३० जनासम्म पर्यटक अहिले चक्रीय अन्नपूर्ण पदमार्गमा आइरहेका छन् ।

हिमपहिरोका कारण अवरुद्ध सडक तीन दिनमा सञ्चालनमा आएसँगै अहिले स्थानीय र पर्यटकलाई सहज भएको छ। यो क्षेत्र सदरमुकाम चामेबाट करिब १४ किलोमिटर उत्तरतर्फ पर्छ। प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार भारी हिमपातका कारण आइतबार राति उक्त क्षेत्रमा हिमपहिरो गएको हो ।

हिमपहिरोका कारण अवरुद्ध सडक  मंगलबारबाट सञ्एचालनमा आएको छ। मनाङमा पुस–माघमा खासै हिमपात नभई फागुनमा आएर हिमपात भएको थियो। अहिले पनि पदमार्गमा हिउँ रहेकाले सचेत भएर यात्रा गर्न स्थानीय र पर्यटकलाई आग्रह गरिएको छ । 

हिमपातले अन्य क्षेत्रमा पनि हिमपहिरो जान सक्ने भएकाले सचेत रहन अनुरोध गरिएको छ। अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएका छन्। काठमाडौंबाट बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् र पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकन गर्न मनाङमा पर्यटक घुम्न आउने गर्दछन् ।