१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार २२:o८:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

भरतपुर भ्रमण वर्ष २०२४ सुरु, वर्तमानसहित चार पूर्वप्रधानमन्त्रीले भने - ‘घुमौँ भरतपुर’

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार २२:o८:oo

घोषणापछि विभिन्न कारणले मिति सर्दै आएको ‘भरतपुर भ्रमण वर्ष २०२४’ तीन महिनापछि शुक्रबार (१ मार्च) बाट सुरु भएको छ । 

भरतपुर महानगरपालिकाको आयोजनामा ‘घुमौँ भरतपुर’ भन्ने नारासहित सुरु भएको भ्रमण वर्ष २०२४ को नारायणी नदी–किनारमा वर्तमानसहित चार पूर्वप्रधानमन्त्री र एक अन्तरिम मन्त्रिपरिषद्का अध्यक्षले संयुक्त रूपमा उद्घाटन गरे । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल र अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले ‘घुमौँ भरतपुर’ लेखिएको ब्यानरसहितको बलुन उडाएर भ्रमण वर्षको उद्घाटन गरेका हुन् ।

चितवन–२ का सांसदसमेत रहेका रास्वपा अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्रप्रसाद ढकाल पनि कार्यक्रममा सहभागी भए । 

उद्घाटन कार्यक्रमअघि भरतपुरका विभिन्न वडा र चोकबाट महानगरभित्रका संघ, संस्था, विद्यालयबाट निस्केको  र्याली र झाँकीहरू बजारक्षेत्रको परिक्रमा गर्दै नारायणी नदी किनार पुगेका थिए । 

भ्रमण वर्षको अवधिमा दुई लाख विदेशीसहित पाँच लाख पर्यटक भित्र्याउने उद्देश्य रहेको महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् । उनका अनुसार भ्रमण वर्षले आर्थिक विकासमा अघि बढ्न विशिष्ठ सन्देश दिनेछ । उनले पाँच दिनसम्म भरतपुरमा घुम्न सकिने गरेर पूर्वधार निर्माण गरिएको र पर्यटकीय गन्तव्य तय गरिएको बताइन् । 

भ्रमण वर्षले महानगरका गन्तव्यहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रर्वद्धन गर्ने, पर्यटकको संख्या र बसाइको अवधि वृद्धि गर्दै दिगो पर्यटन विकासबाट समग्र चितवनलाई नै टेवा दिने उनको अपेक्षा छ । 

यसअघि ०८० साललाई भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको महानगरले त्यतिवेला मुख्य राजमार्ग निर्माणाधीन अवस्थामै रहेकाले सार्नुपरेको बताएको थियो । २०२४ को जनवरीमा पनि यही कारण देखाउँदै अन्तिम समयमा भ्रमण वर्षको कार्यक्रम रद्द गरिएको थियो । 

कसले के भने ?
सिंगो राष्ट्रको पर्यटन विकास र प्रवद्र्धनका निम्ति सन्देश हो : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड 
देशका सबै प्रमुख दल र नेताहरूबीच राष्ट्रिय एकताको सन्देशसहित भ्रमण वर्ष उद्घाटन भएको छ । समृद्धिको यात्रामा सबै एकै ठाउँमा छौँ भन्ने सन्देश पनि गएको छ । भरतपुर र चितवनको मात्र नभएर सिंगो राष्ट्रको पर्यटनको विकास र प्रवद्र्धनका निम्ति सन्देश दिने समारोह पनि बनेको छ । 

भरतपुर महानगरपालिका नेपालकै उत्कृष्ट्र महानगरपालिकाको सूचीमा रहेको छ । मैले विगतमा चितवनको जनप्रतिनिधिको हैसियतले यहाँको विकास र समृद्धिको लागि सहयोग गर्ने अवसर पाएको थिएँ । यहाँ गौरवका आयोजनाहरू रिङरोड, सिक्स लेन रोड, तटबन्धन, सिटी हल, गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला, विमानस्थल, नारायणी ‘सी–बिच’ मोडल तथा विभिन्न पूर्वाधारहरूको निर्माण प्रक्रिया सम्पन्न हुँदा भरतपुरले नयाँ सन्देश दिन्छ । 

कृषि, सहकारी, उद्योग, पर्यटनजस्ता क्षेत्रहरूलाई आर्थिक विकासको आधार बनाएर निरन्तर आर्थिक समृद्धि हासिल गरिरहेको यस महानगरपालिकामा पार्क, संग्रहालय, विमानस्थल, रिङरोड, लिंकरोड, हुलाकीमार्ग, पूर्व–पश्चिम राजमार्ग, होटल, रिसोर्टजस्ता पर्यटन विकासका लागि प्रशस्त पूर्वाधारहरू छन् ।  

चितवन देशकै मुख्य आर्थिक केन्द्रका रूपमा विकास हुँदै गएको छ । जैविक विविधता प्राकृतिक सुन्दरता र स्वच्छ वातावरण प्रवद्र्धन गर्दै पर्यटन विकासमा निरन्तर अग्रसर यस महानगरपालिकामा एकातर्फ पर्या–पर्यटन, वन्यजन्तु, खेल, स्वास्थ्य, कृषि, धार्मिक पर्यटन आदिको क्रमिक विकास भएको छ । सुस्ताएको पर्यटन क्षेत्र उकास्न र राष्ट्रकै पर्यटन प्रवर्द्धनका निम्ति भरतपुर भ्रमण वर्ष कोशेढुंगा सावित हुनेछ ।

पर्यटन विकासबाट सामाजिक तथा आर्थिक परिवर्तन ल्याउन कोरोना कहरबाट पिल्सिएको पर्यटन व्यवसायलाई उकास्न भरतपुर महानगरपालिकाको प्रतिष्ठा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा वृद्धि गर्न प्राकृतिक, सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक सम्पदाहरूको प्रचार प्रसार गरी पर्यटकको संख्या र बसाइ अवधि वृद्धि गर्ने उद्देश्यले भरतपुर महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा पहिलोपटक आयोजना गर्न लागेको यस बृहत् प्रवद्र्धनात्मक अभियान ‘भरतपुर भ्रमण वर्ष २०२४’ पर्यटन प्रवद्र्धनमा एउटा ऐतिहासिक कदम हो । 

गठबन्धन सरकार रहन्छ, त्यसले पर्यटन विकास गर्छ : पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा 

गठबन्धन सरकारको निरन्तरता कायम रहन्छ । यो सरकार पूर्ण रूपमा जान्छ र अर्थतन्त्र, पर्यटन विकासमा पूर्ण रूपले यो सरकारले काम गर्छ । निजी क्षेत्रको सहकार्यमा यो काम गर्नुपर्छ । भरतपुर देशकै पर्यटकी क्षेत्रमध्येको एक हो । भौगोलिक रूपले देशको केन्द्रमा रहेको भरतपुर पूर्वधारका हिसाबले पनि पर्यटकीय गतिविधिका लागि सहज छ । 

‘लौँ हिँड चितवन, दुई दिनको जिन्दगी बिताउन..’ : पूर्वप्रधानमन्त्री केपी शर्मा ओली 

चितवनलाई पर्यटन, शिक्षा र स्वास्थ्यको हब बनाउन सकिन्छ । भरतपुरको विकासमा मेरो र नेकपा एमालेको साथ सधैँ छ । म प्रधानमन्त्री हुँदा भरतपुरसहित चितवनको विकासको लागि कामहरू गरेको छु । पूर्व–पश्चित ६ लेनको सडक, सिटी हलको शिलान्यासमा म आएको थिए । कामअघि बढ्दै छन् होलान् । आगामी एक वर्षभित्र म सपरिवार चितवन भ्रमणमा आउनेछु । म यहाँबाट भरतपुर घुम्न आउन अनुरोध गर्दछु । गीतै छ नि, ‘लौँ हिँड चितवन, दुई दिनको जिन्दगी बिताउन.. ।’

भरतपुर अन्तर्राष्ट्रिय पर्यटनको थलो बन्न सक्छ : पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल 

अरु महानगरपालिकाले पनि भरतपुरबाट सिक्नुपर्दछ । कसरी विकास गर्ने ? नगरवासीको मन जित्नको लागि के गर्ने ? मध्यनेपालको महत्वपूर्ण थलो भरतपुर धेरै हिसाबले महत्वपूर्ण छ । यसलाई अन्तर्राष्ट्रिय पर्यटकको थलोसमेत बनाउन सकिन्छ । यसका लागि तपाईंहरूले यसै गरेर मेहनत गर्नुहोला । भरतपुरलाई पर्यटनसँगै शिक्षा, स्वास्थ्यलगायतको हबको रूपमा विकास गर्न सकिन्छ । 

रेमिट्यान्सको योगदानलाई पर्यटनले उघिन्न सक्छ : पूर्वप्रधानमन्त्री झलनाथ खनाल 

चितवनमा धेरै कुराहरू छन् । यसलाई विकास गर्ने व्यापक सम्भावनाहरू छन् । अहिलेको नेतृत्व र नीतिले समृद्ध चितवन बन्नेछ । रेनु दाहालले भरतपुरमा गरेको विकास निर्माण र भ्रमण वर्ष कार्यक्रम उत्कृष्ट छ । अब नेतृत्व समृद्ध नेपाल र सुखी नेपाली निर्माण गर्ने सपना र दोस्रो जनआन्दोलनको उद्देश्य पूरा गर्नतिर लाग्नुपर्छ । 

चितवन सभ्यता र सम्भावना बोकेको उपत्यका हो । चितवनमा विकास र रुपान्तरणका प्रक्रियाहरू अगाडि बढ्दै छन् । यो महोत्सव साँच्चिकै महत्वपूर्ण महोत्सवको रूपमा प्रमाणित भएको छ । पर्यटनको विकासको क्षेत्रले कृषिलाई उछिन्न सक्छ । रेमिट्यान्सलाई पर्यटनले जित्न सक्छ । कूल ग्राहस्थ उत्पादनमा पर्यटनको योगदान ६ प्रतिशत बढी छैन, बामे सर्दै छ, पर्यटन ।

भ्रमण वर्षका आकर्षण
साँस्कृतिक अनेकता, भौगोलिक विविधता, प्राकृतिक अवस्था, भू­बनोट आदिको आधारमा महानगरले आफ्नो प्रमुख गन्तव्यहरू छुट्याएको छ । 

भरतपुरसँग दुर्लभ वन्यजन्तु अवलोकन र पर्यापर्यटनका लागि विश्वमै चिनिएको चितवन राष्ट्रिय निकुञ्ज, दुई ठूला नदी राप्ती तथा नारायणी, सुन्दर पर्यटकीय नगरी मेघौली, गोलाघाट, पटिहानी, राइनोकुञ्ज भरतपुरका प्रमुख पर्यटकीय क्षेत्र छन् । 

त्रिशूली र कालीगण्डकीको संगमस्थल देवघाटदेखि मौलाकालिका मन्दिर, सामुदायिक वन, बीसहजारी ताल, नारायणी तटक्षेत्र, चौकीडाँडा, कविलासगढी, जगतपुर, बाटुली पोखरी, कसरालाई महानगरले भ्रमण वर्षको मुख्यस्थानको रूपमा प्रचार गर्दै पर्यटकीय गतिविधिहरू संचालन गरिरहेको छ । यहाँको मुख्य आकर्षण जंगल सफारी र जंगली जनावार बाघ, गैंडालगायतको अवलोकन पनि हो ।  

ad
ad