१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८१ बैशाख २३ आइतबार १२:o५:oo
Read Time : > 4 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आन्तरिक राजस्वमा सुधार : सात महिनामा दुई खर्ब ७९ अर्ब संकलन

विदेश जाने विद्यार्थीबाट उठाइने राजस्व दोब्बर वृद्धि, देशभित्रकै शैक्षिक शुल्क संकलन भने ९५ प्रतिशत घट्यो

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १२:o५:oo

बाह्य क्षेत्रपछि देशको आन्तरिक अर्थतन्त्रमा पनि सुधार हुन थालेको छ । आन्तरिक राजस्व विभागले माघ मसान्तसम्म संकलन गरेको तथ्यांकअनुसार अघिल्लो दुई वर्षको तुलनामा यसपटक राजस्व वृद्धि र आर्थिक अनुशासन पालनामा सुदृढ देखिएको हो । विभागले मूलतः व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानको आम्दानी, औद्योगिक उत्पादन, वस्तु तथा सेवाको बिक्री, पर्यटन र निर्माण क्षेत्रलाई प्रतिनिधित्व गर्ने राजस्वसम्बन्धी तथ्यांक संकलन गरेको छ । तथ्यांकअनुसार आन्तरिक राजस्व संकलन गत आर्थिक वर्ष ०७९÷८० को तुलनामा चालू आव ०८०÷८१ को सात महिनामा १०.२६ प्रतिशत बढेको छ । 

चालू आवको माघसम्म दुई खर्ब ७८ अर्ब ९९ करोड आन्तरिक राजस्व संकलन भएको विभागले जनाएको छ । गत आवको माघसम्म दुई खर्ब ५३ अर्ब तीन करोड आन्तरिक राजस्व उठेको थियो । दुई वर्षअघि आव ०७/७९ को माघसम्म दुई खर्ब ५६ अर्ब संकलन भएको थियो । समग्रमा आन्तरिक राजस्वमा दुई वर्षयता सुधार देखिए पनि चालू आवको लक्ष्य (तीन खर्ब ४७ अर्ब रुपैयाँ)भन्दा संकलित राजस्व भने कम हो ।

अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखा प्रमुख रितेशकुमार शाक्यका अनुसार १० प्रतिशतको वृद्धिले राजस्व संकलन दुई वर्षअघिको अवस्थामा फर्किएको रूपमा लिन सकिन्छ । उनले भने, ‘पोहोर त राजस्व संकलन निकै कमजोर थियो । त्यसैले यसलाई सुधारै भयो भन्न सकिन्न । तर, हामी सुधारको बाटोमा छौँ भन्न सकियो ।’ सरकारी खर्चमा सुधार नआएसम्म आन्तरिक अर्थतन्त्र पूर्ण रूपमा चलायमान हुन नसक्ने उनको भनाइ छ । उनले भने, ‘फागुनमा सरकारी खर्च कतिसम्म हुन्छ, त्यसै आधारमा राजस्वमा पनि वृद्धि हुन सक्ने सम्भावना देखिन्छ । तैपनि, अहिलेको तथ्यांकले आशा जगाएको छ ।’

आर्थिक गतिविधि नबढाएसम्म राजस्व संकलनमा वृद्धि हुन नसक्ने राजस्वसम्बन्धी जानकारहरू बताउँछन् । राजस्व परामर्श विकास समितिका पूर्वअध्यक्ष महेश दाहालले राजस्व प्रणाली बढी उपभोगमै आधारित भएकाले यसलाई नबढाएसम्म राजस्व संकलन बढ्न नसक्ने बताए ।

उनले भने, ‘अहिलेको अवस्थामा सरकारले करको परिपालना बढाउन संयन्त्र परिचालन गर्नुबाहेकको विकल्प छैन । किनभने नयाँ कर नीति ल्याउन अर्काे आर्थिक वर्ष कुर्नुपर्छ । उपभोग बढाउनका लागि सरकारी खर्च बढाउने र आर्थिक गतिविधि चलायमान बनाउने क्रियाकलापलाई प्रोत्साहन गर्नुपर्छ ।’सम्पत्ति भाडामा लगाएर, सेयर तथा ऋण लगानी गरेर प्राप्त हुने आयमा पनि वृद्धि भएको छ । यस्तो आयकरमा ९.५७ प्रतिशतले वृद्धि भएको छ । चालू आवको माघसम्म यस्तो आयकर ३३ अर्ब संकलन भएको छ । गत आवको माघसम्म यस्तो कर ३० अर्ब १२ करोड मात्रै उठेको थियो ।  

भाडा तथा लिजमा सम्पत्ति लगाएबापत हुने आम्दानीमा भने गिरावट आएको छ । यस्तो आयकर संकलनमा ८.०६ प्रतिशतले ह्रास आएर एक अर्ब ३७ करोड मात्रै उठेको छ । पोहोर यस्तो कर १४ अर्ब ५२ करोड उठेको थियो ।ब्याजमा लाग्ने आयकरको कर संकलन १४.८६ प्रतिशतले बढेर २५ अर्ब ७३ करोड उठेको विभागको तथ्यांक छ । कर्पाेरेट संस्थाहरूले पुँजीगत लाभमा तिर्ने कर संकलनमा ६७.२८ प्रतिशतले वृद्धि भएको छ । यस्तो आयकर ७८ करोड ६० लाख रुपैयाँबराबर संकलन भएको छ । नाफाबाट वितरण हुने लाभांशमा लाग्ने कर संकलनमा भने ७.८९ प्रतिशतले ह्रास आएको छ । यसको वितरणयोग्य मुनाफामा संकुचन आएको देखाएको छ । 

 मदिरा र सुर्तीको बढ्यो
मदिरा, सुर्ती, चुरोटबापत संकलन हुने अन्तःशुल्क संकलनमा गिरावट आएको छ । कुल अन्तःशुल्कमा २६ प्रतिशत हिस्सा ओगटेको बियर उत्पादन खस्किँदा सम्रग अन्तःशुल्कमा असर परेको देखिन्छ । बियरबापत संकलन हुने अन्तःशुल्क संकलनमा १५.०५ प्रतिशतले घटेको छ ।

माघसम्म यस्तो अन्तःशुल्क १४ अर्ब ३९ करोड उठेको छ । गत आवको माघसम्म १६ अर्ब ९३ करोड उठेको थियो । जसकारण समग्र अन्तःशुल्क संकलन ३.६९ प्रतिशतले घटेको छ । मदिरा व्यवसायमा भने सुधार आएको छ । गत आवको माघसम्म १३ अर्ब २० करोड मदिराबापत अन्तःशुल्क उठेकोमा चालू आवमा १३ अर्ब ८४ करोड उठेको छ । त्यस्तै, चुरोट–सुर्तीबाट उठ्ने अन्तःशुल्क संकलनमा ४.५३ प्रतिशतले वृद्धि भएर १४ अर्ब ८२ करोड संकलन भएको छ । अन्य औद्योगिक उत्पादनमा लाग्दै आएको अन्तःशुल्क संकलनमा ५.४६ प्रतिशतको वृद्धि छ । 

 विदेश जाने विद्यार्थीबाट उठ्ने शुल्क दोब्बर बढ्यो 
विदेशमा पढ्न जाने विद्यार्थीबापत लिने शुल्कमा दोब्बर वृद्धि भएको छ । पोहोर माघसम्म ८२ करोड ५४ लाख उठेको यस्तो शुल्क यस वर्ष एक अर्ब ८७ करोड संकलन भएको छ । तर, देशभित्रकै विद्यालय तथा क्याम्पसमा अध्ययनबापत लिइने शैक्षिक शुल्कमा ९४.८४ प्रतिशत गिरावट आएर २८ लाख ५० हजार मात्रै उठेको छ । पोहोर यही अवधिमा यस्तो शुल्क पाँच करोड ५७ लाख उठेको थियो । त्यस्तै, सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत ल्याएको डिजिटल सेवाकर, विलासिता शुल्क, वैदेशिक भ्रमण शुल्क र वैदेशिक रोजगार शुल्कबापत १२ करोड ७६ लाख रुपैयाँ संकलन भएको विभागले जनाएको छ ।

 आयकरमा वृद्धि
सार्वजनिक तथा सरकारी संस्थानहरूको आम्दानीमा वृद्धि हुँदा उनीहरूले तिर्ने आयकरमा पनि वृद्धि भएको छ । माघसम्म सरकारी स्वामित्वका संस्थानहरूले चार अर्ब ४० करोडको आयकर तिरेका छन् । गत आर्थिक वर्षको माघसम्म यस्तो आयकर चार अर्ब २८ करोड मात्रै उठेको थियो । यस्तो आयकर २.८६ प्रतिशतले बढेको हो । समग्रमा संस्थागत आयकर २७.०१ प्रतिशतले बढेर ७१ अर्ब ८० करोड संकलन भएको छ । गत आर्थिक वर्षको माघसम्म ५६ अर्ब ५३ करोड मात्रै संकलन भएको थियो । दुई वर्षअघिको सोही अवधि हेर्ने हो भने ५४ अर्ब ३८ करोड उठेको थियो । 

व्यक्तिको आम्दानी बढ्दा व्यक्तिगत आयकर संकलनमा ८.६९ प्रतिशतले सुधार आएको छ । चालू आर्थिक वर्षको माघसम्म ४९ अर्ब २८ करोडको व्यक्तिगत आयकर संकलन भएको तथ्यांक छ । गत आवको सोही अवधिमा ४५ अर्ब ३४ करोड संकलन भएको थियो । दुई वर्षअघिको तथ्यांकअनुसार भने गत आवको माघसम्म २१.६५ प्रतिशतले व्यक्तिगत आयकरमा गिरावट आएको थियो । व्यक्तिगत आयकरअन्तर्गत स्वामित्वबापत उठ्ने आयकरमा ५.२३ प्रतिशतले वृद्धि भएको छ । चालू आवको माघसम्म १५ अर्ब ६५ करोड संकलन भएको छ । गत आवको माघसम्म १४ अर्ब ८८ करोड 
उठेको थियो ।  

ज्याला तथा पारिश्रमिकको आम्दानीबापत माघसम्म १८ अर्ब ७३ करोड राजस्व संकलन भएको छ । यो गत आवको तुलनामा १.७८ प्रतिशत बढी हो । गत आवको माघसम्म १८ अर्ब ४० करोडको पारिश्रमिकबापतको कर संकलन भएको छ । त्यस्तै, सामाजिक सुरक्षा कर संकलनमा समेत १.५६ प्रतिशतले वृद्धि भएर चार अर्ब ६३ करोड संकलन भएको छ ।

 राजस्वमा पर्यटन र निर्माण क्षेत्रको योगदान बढ्दै 
पर्यटन क्षेत्रबाट प्राप्त हुने मूल्य अभिवृद्धि कर (भ्याट) संकलनमा ४१.५३ प्रतिशत बढेको छ । चालू आर्थिक वर्षको माघसम्म यस्तो कर एक अर्ब ७६ करोड संकलन भएको छ । गत आवको माघसम्म एक अर्ब २४ करोड उठेको थियो ।  ठेक्का तथा परामर्शमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) संकलनमा ६.९१ प्रतिशतले वृद्धि भएर १४ अर्ब ४८ करोड संकलन भएको छ । गत आवको सोही अवधिमा १३ अर्ब ५५ करोड उठेको थियो । 

चालू आर्थिक वर्षमा सरकारले सञ्चार क्षेत्र र हवाई उडानमा मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरेपछि यस्तो भ्याटमा दोब्बरले वृद्धि भएको हो । विभागका अनुसार सञ्चार, बिमा, हवाई उडान शुल्कबापत लाग्ने भ्याट ११ अर्ब १८ करोड संकलन भएको छ । 

यद्यपि, उत्पादन र बिक्री–वितरणबाट उठ्ने मूल्य अभिवृद्धि कर संकलनमा सुधार आउन सकेको छैन । उत्पादनबापत उठ्ने भ्याटमा २.४३ प्रतिशतले गिरावट आएर १८ अर्ब ७३ करोड मात्रै संकलन भएको छ । बिक्री तथा वितरणबापत १५ अर्ब २९ करोड मात्रै उठेको छ । कुल मूल्य अभिृवृद्धि कर संकलनमा ८.५५ प्रतिशतले वृद्धि भएर ६५ अर्ब ३८ करोड संकलन भएको छ । 

ad
ad