Skip This
रुसी सेनामा कार्यरतका परिवारजन सिंहदरबारमा, परराष्ट्रमन्त्रीले सुने पीडा, तर ढुक्क गराउन सकेनन्
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १६ बुधबार
  • Thursday, 23 January, 2025
२o८o फाल्गुण १६ बुधबार o६:२४:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

रुसी सेनामा कार्यरतका परिवारजन सिंहदरबारमा, परराष्ट्रमन्त्रीले सुने पीडा, तर ढुक्क गराउन सकेनन्

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १६ बुधबार o६:२४:oo

परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा कार्यरत नेपालीका परिवारजनसँग मंगलबार भेटवार्ता गरेका छन् । सम्पर्कमा भएका, बेपत्ता भएका, घाइते तथा मृतकका गरी ३१ जनाका परिवारजनसँग परराष्ट्रमन्त्री साउदले भेटेर गुनासो सुनेका छन् ।

परराष्ट्र मन्त्रालय पुगेका परिवारजनलाई उनले रुसी सेनामा कार्यरत, तर करार सम्झौता गरेर स्वदेश फर्कन चाहने नेपालीको हकमा सहजीकरण गर्न रुस सरकारसित आग्रह गरिएको बताए । तर, मन्त्री साउदले उनीहरूको फिर्ताबारे परिवारजनलाई ढुक्क बनाउन भने सकेनन् ।

पहिलोपटक नेपाल सरकारका मन्त्रीसित परिवारजनले भेटेर दुःखेसो पोख्न पाएको उक्त बैठकमा परिवारजनसित समन्वय गरेकी एकीकृत समाजवादी पार्टीकी नेतृ कृतु भण्डारीले बताइन् । ‘दुई घण्टाभन्दा बढी हाम्रो छलफल भयो । मन्त्रीज्यूले पीडित परिवारजनको कुरा सुन्नुभयो । सुरुमा त मिडियाबाजी गरेको भनेर अप्रसन्नता व्यक्त गर्नुभयो, तर पछि राम्रो कुराकानी भयो,’ भण्डारीले छलफलपछि नयाँ पत्रिकासँग भनिन्, ‘सरकारले नेपालीहरूलाई फिर्ता गराउन पहल गरिरहेको, मृतकको परिवारजनलाई सजिलै क्षतिपूर्ति पाउने परिस्थिति बनाउन लागिरहेको भन्ने जानकारी पनि पाएका छौँ ।’ 

परराष्ट्र मन्त्रालय पुगेका परिवारजनलाई मन्त्री एनपी साउदले भने–
आफ्ना नागरिकप्रति सरकार सधैँ जिम्मेवार छ । उहाँहरूलाई फिर्ता ल्याउन कुनै पनि कसर बाँकी राखिनेछैन । हामी इमानदारीपूर्वक प्रयास गरिरहेका छौँ । ‘नेपाली नागरिकको सुरक्षित फिर्तीका लागि काठमाडौंस्थित रुसी दूतावास, मस्कोस्थित नेपाली दूतावास र अन्य माध्यमहरूबाट नेपाल सरकार रुसी पक्षसँग निरन्तर सम्पर्कमा छ ।

उनका अनुसार रुसी सेनामा रहेका नेपालीको संख्याबारे रुसी सरकारसँग जानकारी मागेको परराष्ट्रमन्त्रीको भनाइ थियो । ‘त्यहाँ करार सम्झौता गरेर काम गरेका नेपाली सम्झौता रद्द गरेर फर्कन चाहन्छन् भने सहयोग गरिदिनुस् भनेका छौँ,’ परराष्ट्रमन्त्रीलाई उद्धृत गर्दै भण्डारीले भनिन्, ‘हामी पीडितहरूको साथमा छौँ । तपाईंहरूको पीडा हामी सबैको साझा हो । तपाईंहरूको साथमा हामी छौँ ।’ 

परराष्ट्रमन्त्री साउदले गैरकानुनी रूपमा गएका भए पनि रुसी सेनामा भर्ना भएका नेपाली नागरिकप्रति राज्यको दायित्व रहेको पनि बताएका थिए । ‘आफ्ना नागरिकप्रति सरकार सधैँ जिम्मेवार छ । उहाँहरूलाई फिर्ता ल्याउन कुनै पनि कसर बाँकी राखिनेछैन । हामी इमानदारीपूर्वक प्रयास गरिरहेका छौँ,’ परराष्ट्रमन्त्रीले भने ।

परराष्ट्रमन्त्री साउदले नागरिकको सकुशल फिर्ती, घाइतेको उपचार र उद्धार तथा लडाइँमा मृत्यु भएकाहरूको शव नेपाल ल्याउन सरकार, परराष्ट्र मन्त्रालय, मस्कोस्थित नेपाली दूतावासले क्षमताले भ्याएसम्म हरसम्भव प्रयास गरिरहेको बताए । ‘नेपाली नागरिकको सुरक्षित फिर्तीका लागि काठमाडौंस्थित रुसी दूतावास, मस्कोस्थित नेपाली दूतावास र अन्य माध्यमहरूबाट नेपाल सरकार रुसी पक्षसँग निरन्तर सम्पर्कमा छ,’ साउदले भने परराष्ट्रमन्त्री साउदले कन्सुलर विभागमा हालसम्म मृत्यु भएका, सम्पर्कमा नभएका तथा रुसी सेनाबाट फिर्ता गरिदिन अनुरोधसहितका २४४ जनाको परिवारले निवेदन दिएको पनि जानकारी दिए । उनले रुसी सेनामा भर्ना भएका व्यक्तिबारे कन्सुलर विभागमा आवेदन दिन पनि सम्बन्धित नागरिकका घर–परिवारलाई आग्रह गरे । 

रुसी सेनामा भर्ना भएका नागरिकको संख्याबारे अतिरञ्जित गरेर समाजमा भ्रम फैलाउने ढंगले कसैले पनि प्रस्तुत हुन नहुने उनको भनाइ थियो । राष्ट्रिय सभामा पूर्वपरराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले १५ हजार नेपाली रुसी सेनामा भर्ती भएको बोलेपछि अन्तर्राष्ट्रिय सञ्चारमध्यम सिएनएनले समाचार बनाएको थियो । यसप्रति परराष्ट्रमन्त्री साउदले असन्तुष्टि पोखेका थिए । 

परराष्ट्रमन्त्री साउदले एक साताअघि (फेब्रुअरी २०) मा नेपालका लागि रुसी राजदूतलाई मन्त्रालयमा बोलाएर छलफल गरेको बताए । ‘रुसी सेनामा भर्ना भएका नेपाली नागरिकबारे सरकारले राखेका कतिपय मुद्दाहरूमा रुसी पक्षबाट सकारात्मक जवाफ प्राप्त भएको छ । मृतक र घाइतेलाई क्षतिपूर्ति उपलब्ध गराउने विषय अगाडि बढेको छ,’ उनले भने । परराष्ट्रमन्त्री साउदका अनुसार रुससँग नेपाली नागरिकको शव स्वदेश ल्याउने विषयमा पनि सरकारको कुराकानी भइरहेको छ । तर, रुसी सेनाले हालसम्म तीनजनाको शवको अन्तिम संस्कार गरिसकेको छ ।

परराष्ट्रमन्त्री साउदले सरकारले मान्यता नदिएका, जोखिममा रहेका मुलुकहरूमा परिवारजनलाई जानबाट रोक्न परिवारका सदस्यहरूलाई आग्रह गरे । रुसबाट नागरिक फिर्ता गर्न र परिवारलाई क्षतिपूर्तिका लागि परिवारजनलाई समन्वय गरेकी नेतृ भण्डारीले हालसम्म रुसी सेनामा कार्यरत, बेपत्ता र घाइते गरी ६ सयभन्दा बढी नागरिकका परिवार आफ्नो सम्पर्कमा आएको जानकारी दिइन् । उनका अनुसार मृत्यु भएकाहरूको संख्या बढेको जानकारी आएको छ । ‘यसबारेमा सरकारले नै औपचारिक रूपमा सबै विवरण सार्वजनिक गरोस् भन्न चाहन्छौँ,’ भण्डारीले भनिन् । हालसम्म १८ जनाको परिवारले काजक्रिया गरिसकेको विवरण आफूसित रहेको उनको दाबी छ ।