महिला टी–२० त्रिदेशीय सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य दिएको छ । आज (बुधबार) मध्याह्न त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १४५ रन बनाएको हो ।
नेपालका लागि पूजा महतोले सर्वाधिक अविजित ६२ रन बनाइन् । उनले पाँच चौका प्रहार गरिन् । इन्दु बर्माले ३७ बलमा ३९ रन बनाइन् । रुबिना क्षेत्रीले १७ बलमा २० रन बनाइन् । यसअघि नेपालले नेदरल्यान्ड्स र थाइल्यान्डसँग दुई–दुई खेल हारिसकेको छ । आफ्नै भूमिमा भएको सिरिजमा नेपाली महिला टोलीले यसअघि चारमध्ये एउटा खेल पनि जित्न सकेको छैन ।