बागमती प्रदेश सभा बैठकमा पाँच विधेयक पेस

बुधबार, २३ माघ, २०८१
डिजिटल संस्करण

बागमती प्रदेश सभामा पाँच विधेयक पेस भएको छ । बुधबार बसेको बैठकमा प्रदेश सभा सचिवालय हेटौँडामा संशोधनका लागि दर्ता भएको चार र प्रदेश प्रमुखबाट फिर्ता भएको एक विधेयसहित संसदमा पाँच  विधेयक पेस भएका हुन् । 

बैठकमा स्वास्थ्यमन्त्री किरण थापाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक पेस गरेका थिए भने युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले प्रदेश खेलकुद ऐन संशोधन विधेयक पेस गरेका छन् । 

यस्तै, बैठकमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकुमाया तामाङले प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसायीसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक पेस गरेकी छिन् । 

बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले फिर्ता गरेको प्रदेश कृषि विकास विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पुनः विचारका लागि संसदमा पेस भएको छ । 

कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले उक्त विधेयकमा प्रदेश प्रमुख देवकोटाले औँल्याएका कमजोरी र सुझावको प्रतिवेदनसहित संसदमा पेस गरेका हुन् । 

सो विधेयकहरू प्रदेश सभाको यसै अधिवेशनमा पारित गर्ने तयारी रहेको छ । सोहीअनुुसार उक्त विधेयकहरूमाथि प्रदेश सभाको बुधबार (आजै) बस्ने दोस्रो बैठकमा सैद्धान्तिक पक्षहरूमाथि छलफल हुने कार्यसूची रहेको छ । 

प्रदेश सभाको बैठक आजै १ः३० बजेसम्मका लागि स्थगित गरिएको छ ।

सुझावित समाचार