१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
जीवनकुमार गुरुङ
टेकराज थामी काठमाडाैं
२o८१ जेठ २ बुधबार o८:३७:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

१४ किलो सुन तस्करीमा मुछिएका गुरुङको ‘कनेक्सन’ ६०.७१६ किलो तस्करीका नाइकेसँग

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o८:३७:oo

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो सुन तस्करीमा मुछिएका जीवनकुमार गुरुङको ‘कनेक्सन’ ६०.७१६ किलो सुन तस्करमा मुख्य नाइके चिनियाँ नागरिक वाङग डाओजिनसँग रहेको खुलेको छ । गुरुङ तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का सल्लाहकार थिए । 

नेपाल प्रहरीकोे केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गुरुङलाई सोमबार बिहान सामाखुसीस्थित उनको घरअगाडिबाट पक्राउ गरेको हो । थप अनुसन्धानका लागि उनलाई सिआइबीले विमानस्थलस्थित भन्सार कार्यालयमा पेस गरेको छ । उनीविरुद्ध अनुसन्धान भइरहेका भन्सार कार्यालयका निर्देशक मनिराम पौडेलले बताए । उनले भने, ‘१४ किलो सुन तस्करी घटनामा संलग्नमध्ये जीवनकुमार गुरुङ फरार थिए । उनलाई सिआइबीले पक्राउ गरेर हामीकहाँ बुझाएको छ । उनीविरुद्ध अनुसन्धान भइरहेको छ । उनको विगतमा भएका सुन तस्करीका नाइके डाओजिनसँग पनि सम्बन्ध रहेको देखिएको छ ।’ 

विमानस्थलस्थित भन्सार कार्यालयका निर्देशक मनिराम पौडेल भन्छन्—
१४ किलो सुन तस्करी घटनामा संलग्नमध्ये जीवनकुमार गुरुङ फरार थिए । उनलाई सिआइबीले पक्राउ गरेर बुझाएको छ । उनको सम्बन्ध विगतमा भएका सुन तस्करीका नाइके चिनियाँ नागरिक डाओजिनसँग समेत रहेको देखिएको छ । उनले डाओजिनलाई नेपालमा रहँदा गाडी उपलब्ध गराउने काम गराउने रहेछन् । त्यसबाहेक व्यवस्थापनको अन्य गतिविधि पनि उनीमार्फत हुने गरेको देखिन्छ ।

१४ किलो सुन तस्करीमा गुरुङले भारतीय नागरिक अंकित अग्रवालको प्रतिनिधि भएर काम गर्दै आएका थिए । अग्रवाल समूहले विमानस्थलबाट एक वर्षमा एक सय ३८ किलो सुन तस्करी गरेका थिए । सोही मध्येको १४ किलो सुन विमानस्थलबाट गत २१ मंसिरमा बरामद भएको थियो । 

अग्रवालका नेपाल प्रतिनिधि गुरुङको डाओजिनसँग पनि उत्तिकै राम्रो सम्बन्ध थियो । डाओजिन समूहले विमानस्थलबाट मात्रै ३६२.७७८ किलो सुन तस्कर गरेको थियो । जसमध्येको ६०.७१६ किलो सुन गत २ साउनमा विमानस्थलबाट बरामद भएको थियो । डाओजिन समूहले दोलखाका दिलीप भुजेलको नाममा दर्ता भएको कम्पनी रेडी ट्रेडको नाममा मात्रै दुई महिनाको बीचमा ३६२.७७८ किलो सुन नेपाल भित्रिएका थिए । 

विमानस्थलस्थित भन्सार कार्यालयका डाओजिन सुन तस्करी गर्ने उद्देश्यले वर्षौँअघिदेखि नेपाल आउजाउ गरिरहन्थे । नेपाल रहँदा डाओजिनलाई गाडी उपलब्ध गराउने काम गुरुङले गर्थे । गुरुङले उनलाई आफ्नै गाडी पनि दिने गर्थे । उनको घरमा पनि डाओजिनको आउजाउ हुन्थ्यो । त्यसबाहेक होटेल व्यवस्थापनदेखि शक्तिकेन्द्रसँग सम्पर्क गराइदिने कामसमेत उनले गराइदिन्थे । उपराष्ट्रपति पुनको सल्लाहकार हुँदा उनले डाओजिनलाई शक्तिकेन्द्रसम्म पु¥याइदिने काम गर्दै आएका थिए ।

विमानस्थलस्थित भन्सार कार्यालयका निर्देशक पौडेलले भने, ‘गुरुङले डाओजिनलाई नेपालमा रहँदा गाडी उपलब्ध गराउने काम गराउने रहेछन् । त्यसबाहेक व्यवस्थापनको अन्य गतिविधि पनि गुरुङमार्फतबाटै हुने गरेको देखिन्छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ । घटनाले संगठित रूप लिए थप अनुसन्धानका लागि हामी सिआइबीलाई बुझाउनेछौँ ।’

सुन तस्किरीको कारोबार हुन्डी र क्रिप्टोमार्फत
घटनाको अनुसन्धान भन्सार कार्यालयले गरेको थियो । १३ दिनको अनुसन्धानपछि उनीहरूले पटक–पटक गरी विमानस्थलबाट एक अर्ब ४० करोड ५५ लाख रुपैयाँबराबरको एक सय ३८ किलो सुन तस्करी गरेको खुलेको थियो । उनीहरूले सबै आर्थिक कारोबार हुन्डी र क्रिप्टोमार्फत गरेका थिए । घटनामा हुन्डी कारोबारी बिमल पोद्दारसमेत संलग्न रहेको खुलेको थियो । घटनाले जटिल मोड लिएपछि बाँकी अनुसन्धान सिआइबीलाई गर्न दिइएको थियो । सिआइबीले अहिले घटनामा जोडिएका विना गुरुङ, डिबी गुरुङ, बिमल पोद्दारलगायतका प्रतिवादीको खोजी गरिरहेको जनाएको छ ।

मुख्य नाइके डाओजिन भने अझै फरार
चीनको सिचुवान प्रान्तका डाओजिन अहिले फरार छन् । उक्त घटनामा पक्राउ २९ प्रतिवादीविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ । भन्सार कार्यालयका अनुसार गुरुङको संलग्नता विमानस्थलबाट इसिगरेट(भेप)मा लुकाई गरिएको साढे नौ किलो सुन तस्करीमा रहेको देखिएको छ । १० पुस ०७९ मा फ्लाई दुबईको जहाज हुँदै अन्तर्राष्ट्रिय विमानस्थल झरेका चिनियाँ नागरिक ली हानसोङ इसिगरेट(विद्युतीय चुरोट)सहित पक्राउ परेका थिए । अनुसन्धानपछि इसिगरेटभित्र सुन रहेको खुलेको थियो । 

भन्सारका निर्देशक पौडेलले भने, ‘भेपभित्र लुकाई तस्कर गरिएको सुन प्रकरणमा पनि गुरुङको संलग्नता देखिन्छ । घटनामा संलग्न रहेका अभियुक्तसँग उनको राम्रै उठबस रहेको जस्तो अनुसन्धानबाट खुलेको छ ।’

गुरुङ डिल्लीबजारस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष हुन् । १४ किलो सुन तस्करी घटना अनुसन्धान गर्न गठित समितिले तयार परेको प्रतिवेदनमा गुरुङको नाम र उनको भूमिका उल्लेख्य छ । प्रतिवेदनअनुसार विमानस्थलबाट तस्करी भई आएको सुन उनले डिबी भनिने दानबहादुर गुरुङ र मीन घलेमार्फत बुझ्थे । र, उक्त सुन भारतीय नागरिक अंकित अग्रवाललाई लगेर बुझाउँथे । भन्सार कार्यालयले उनको सिडिआर(कल डिटेल रिपोर्ट) अध्ययन गरिरहेको छ । 

गत २१ मंसिरमा विमानस्थलस्थित भन्सार कार्यालय र नेपाल प्रहरीको संयुक्त टोलीले १४ किलो सुनसहित चन्द्रबहादुर घलेलाई पक्राउ गरेको थियो । उनकै बयानका आधारमा प्रहरीले तस्करका मुख्य व्यवस्थापक मीनबहादुर घलेलाई प्रहरीले धुम्बाराहीबाट पक्राउ गरेको थियो । त्यसपछि घटनामा संलग्न कृष्णकुमार श्रेष्ठ, शेरबहादुर बस्नेत, लोकबहादुर तामाङ, राधाकृष्ण श्रेष्ठ, रमेश देउला र अनिल श्रेष्ठ पक्राउ परेका थिए । 

ad
ad