१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o७:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

रुसी सेनामा कार्यरत तीनजना नेपालीको रुसमै अन्तिम संस्कार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:२८:oo

रुसी सेनामा कार्यरत तीनजना नेपालीको रुसमै अन्तिम संस्कार भएको छ । परिवारको सहमतिमा रुसी सेनाले त्यहाँ मृत्यु भएका अन्य नेपाली नागरिकको पनि क्रमशः अन्तिम संस्कार गर्ने र नेपालमा अस्तु संकलन गरेर पठाउने जानकारी नेपाललाई दिएको छ । 

कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलका अनुसार सन्दीप थपलिया, रूपक कार्की र देवान राईको अन्तिम संस्कार भएको छ । थपलिया गोरखाका हुन् भने कार्की कपिलवस्तुका र राई कास्कीका स्थायी बासिन्दा हुन् । ‘परिवारले सहमति दिएपछि रुसले सैनिक सम्मानका साथ तीनजनाको अन्तिम संस्कार गरेको जानकारी आएको छ,’ महानिर्देशक पौडेलले नयाँ पत्रिकासँग भने, ‘परिवारको सहमति लिएर बाँकी शवहरूको पनि अन्तिम संस्कार गर्ने र अस्तु पठाउने भन्ने जानकारी पाएका छौँ ।’ 

गत साता मस्कोमा राईको अन्तिम संस्कार भएको हो भने थपलिया र कार्कीको अन्तिम संस्कार दुई महिनाअघि नै भएको परराष्ट्रलाई जानकारी आएको छ । सलामीसहित उनीहरूको अन्तिम संस्कार भएको हो । रुसी सेनाले युद्धमा मारिएका सैनिकको शव पहिचान गर्न सकिएमा मात्रै अन्तिम संस्कार गरेर अस्तु पठाउने भनेको छ । कतिपय नेपाली सैनिकको शव युद्धक्षेत्रमा पहिचान गर्न सक्ने अवस्थामा नरहेको रुसस्थित नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयलाई जानकारी दिएको छ । 

रुसबाट बाहिर शव पठाउने रुसी नियम नभएको र त्यो प्रक्रिया खर्चिलो हुने भएपछि परिवारबाट सहमति लिएर मृतकहरूको अन्तिम संस्कार गर्ने उपायमा नेपालले सहमति दिएको एक उच्च कूटनीतिक अधिकारीले जानकारी दिए । ‘कुनै ठाउँमा शवको कंकालका साथमा नेपाली पासपोर्ट भेटिएकाले नेपाली हो भन्ने पहिचान भएको छ, केही ठाउँमा रुसी सेनाको स्थानीय कमान्डरको सूचनाका आधारमा मृत्यु भएको जानकारी आएको छ । शवको अत्तोपत्तो पनि छैन,’ परराष्ट्रका एक अधिकारीले नयाँ पत्रिकासँग भने । गत भदौपछि नेपाली रुसी सेनामा भर्ती भएका हुन् । 

त्यस्तै, रुसी सेनामा कार्यरत रहेर युद्धमा खटिने क्रममा चारजना युक्रेनी सेनाको हिरासतमा छन् । बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुनको रिहाइका लागि सरकारले युक्रेनसँग र अमेरिकी सरकारमार्फत पनि कूटनीतिक प्रयास जारी राखेको छ । 

सरकारले रुसी सेनामा कार्यरत नेपालीमध्ये हालसम्म १६ जनाको मृत्यु भएको पुष्टि गरेको छ । सरकारले १० जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेका वेला परिवारजनले भने रुसबाटै पाएको मृत्युको सूचनाका आधारमा हालसम्म १६ जना आफन्तको काजक्रिया गरेका छन् ।

ad
ad