Skip This
एमालेसहित सबै वामपन्थी पार्टीलाई मोर्चामा आबद्ध हुन पत्राचार गर्ने निर्णय
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १३ आइतबार
  • Saturday, 27 July, 2024
प्रेम गौतम काठमाडाैं
२o८o फाल्गुण १३ आइतबार o६:१६:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एमालेसहित सबै वामपन्थी पार्टीलाई मोर्चामा आबद्ध हुन पत्राचार गर्ने निर्णय

Read Time : > 1 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८o फाल्गुण १३ आइतबार o६:१६:oo

संयोजक फेरिएपछि समाजवादी मोर्चा सक्रिय : 

संयोजक हेरफेरलगत्तै समाजवादी मोर्चाले थप धुव्रीकरणको प्रयास थालेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा संयोजक नेत्रविक्रम चन्द विप्लवको अध्यक्षतामा शनिबार बसेको बैठकमा एमालेसहित सबै वामपन्थी पार्टीलाई मोर्चामा आबद्ध हुन पत्राचार गर्ने निर्णय भएको छ । ४ असारमा घोषणा भएको मोर्चामा माओवादी, एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपा छन् । 

आलोपालो प्रणालीअनुसार नेकपा समाजवादीका अध्यक्ष माधव नेपालले केही दिनअगाडि मात्रै मोर्चाको संयोजक विप्लपलाई हस्तान्तरण गरेका थिए । त्यसलगत्तै मोर्चामा आबद्ध हुन वामपन्थी दलहरूलाई पत्राचार गर्ने निर्णय भएको छ । ‘सबै वामपन्थी पार्टीसँग मोर्चा विस्तारबारे छलफल गर्ने नीतिगत कुरा छ । हामी छलफल गर्दै अगाडि बढ्छौँ,’ विप्लवले नयाँ पत्रिकासँग भने, ‘समाजवादी विचारधारा राख्ने दलहरूबीच विश्वाससहितको सहकार्य चाहिन्छ । व्यापक समाजवादी आन्दोलनको आवश्यकता छ । त्यो दिशामा हामी अगाडि बढ्दै छौँ ।’
नेकपा मसाललाई तत्काल मोर्चामा सहभागी गराउने तयारी रहेको छ । मसालसँग छिट्टै औपचारिक छलफल गर्ने मोर्चाका एक नेताले बताए । ती नेताका अनुसार मसाललाई केही दिनमै छलफलका लागि पत्राचार हुनेछ । मसालसँग मोर्चाका नेताको अनौपचारिक छलफल भने हुँदै आएको छ ।

मसालका साथै एमाले, नेकपा क्रान्तिकारी माओवादी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टीलगायत सबै वामपन्थी पार्टीसँग छलफल गर्ने मोर्चाको तयारी छ । ‘समाजवादमा पुग्न कम्युनिस्ट शक्ति एकताबद्ध हुन आवश्यक छ,’ ती नेताले भने । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले वामपन्थीहरू मिलेर जान आवश्यक रहेको बताए । उनले समाजवादी मोर्चामा आबद्ध हुनेबारे भने औपचारिक छलफल भइनसकेको बताए । ‘वामपन्थीहरू मिलेर जानुपर्छ । मोर्चामा आबद्ध हुनेबारे औपचारिक छलफल भएको छैन । अनौपचारिक छलफल मात्र भएको छ । मोर्चाको कार्यक्रममा हामी जान्छौँ,’ उनले भने । 

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणको एजेन्डा मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताइन् । कम्युनिस्ट पार्टीहरूको लक्ष्य एउटै भए पनि कार्यनीति र शैलीमा मात्रै केही फरक रहेको उनले बताइन् । ‘देशको समृद्धिको खाका कोर्नुपर्नेछ, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण गर्नुपर्नेछ । यस्तो वेलामा एकताको गफ दिएर मात्रै हुँदैन । लक्ष्य एउटै छ, अलिकति कार्यनीति र शैली फरक होला, त्यसकारण मिलेर जानुको विकल्प छैन । संकीर्णताका कारण मिल्न गाह्रो भयो । देश बनाउने वेलामा हामी किन मिल्न सकेनौँ भनेर सोच्नुपर्छ । मिलेर अगाडि नबढी देश बढ्दैन । सोचमा परिवर्तन गरेर एकताबद्ध हुँदै अगाडि बढ्नुपर्छ ।’

बैठकले समाजवादी मोर्चाका नारा देशव्यापी प्रचार–प्रसार गर्ने, भित्तेलेखन, ब्यानर, पर्चालगायतबाट मोर्चाको नीति जनतामाझ पुर्‍याउने, उपत्यकामा वामपन्थी बुद्धिजीवी, व्यवसायीहरूसँग केन्द्रीयस्तरको अन्तक्र्रिया गर्ने, प्रदेशस्तरमा विचार गोष्ठी गर्ने निर्णय भएको छ । समाजवादी मोर्चाको मुखपत्र प्रकाशन गर्ने निर्णय पनि भएको छ ।

मिटरब्याजपीडित र लघुवित्तपीडितको आन्दोलनको समर्थन गर्ने र राज्यलाई छिटो समाधान गर्न सार्थक वार्ता गर्न आग्रह गरेको छ । 

यसअघि गत ६ फागुनमा बसेको मोर्चाको बैठकले विप्लवलाई संयोजक बनाउने निर्णय गरेको थियो । मोर्चामा नेतृत्व आलोपालो गर्ने सहमति छ । यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मोर्चाको संयोजक थिए । 

नेपाली विशेषताको समाजवाद निर्माण गर्ने मोर्चाको लक्ष्य छ । विद्यमान राष्ट्रिय राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक समस्या र चुनौतीको सामना गर्दै देशलाई अग्रगामी निकास दिन समाजवादी शक्तिहरूलाई एकताबद्ध बनाउने उद्देश्य मोर्चाको छ । संविधानको रक्षा, कार्यान्वयन, समयसापेक्ष संशोधन, परिमार्जन, शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता, संघीय शासन प्रणालीमा आधारित समतामूलक, न्यायपूर्ण, विभेदरहित समाजवादी गणतन्त्रात्मक व्यवस्था स्थापना गर्न साझा मुद्दा, लक्ष्य र उद्देश्य प्राप्तिका लागि भन्दै मोर्चामा आबद्ध चार दलले १५ बुँदे प्रतिबद्धता जनाएका छन् ।