१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १४:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

शीतभण्डार निर्माण हुन थालेपछि किसान उत्साहित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:३६:oo

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले टीकापुरमा शीतभण्डार निर्माण गर्न थालेको छ।

एकाइ र उपभोक्ताको लगत तथा सहभागितामा शीतभण्डार निर्माण हुने भएपछि यहाँका किसान उत्साहित भएका छन्। संयुक्त प्रयासमा शीतभण्डार निर्माण थालिएको भन्दै किसानले उत्पादन गरेका वस्तु टाढाका बजारसम्म पुर्‍याउनुपर्ने बाध्यताको अन्त्य हुने रामबहादुर चौधरीले विश्वास व्यक्त गरे।

टीकापुरका लक्ष्मण चौधरीले सिजनमा उत्पादन भएका तरकारी तथा फलफूल भण्डारण गरी बजारीकरण गर्न सकिने भन्दै यसबाट सिजनमा उत्पादित तरकारी तथा फलफूलले राम्रो बजार पाउने बताए।

एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणका लागि २५ प्रतिशत किसानले लगानी गर्नेछन् भने बाँकी ७५ प्रतिशत कार्यान्वयन इकाइले गर्ने जनाएको छ।

टीकापुर र लम्कीचुहा नगरपालिका तथा जानकी गाउँपालिका किसानले यसबाट लाभ लिन सक्नेछन्। करिब रु. सात करोड ६ लाख ६९ हजार ६ सयको लागतमा रानीजमरा कुलरिया मूल कुलो समितिको मातहतमा रहने गरी शीतभण्डार निर्माण गरिने समितिका अध्यक्ष कुमारराज शाहीले जानकारी दिए।

किसानबाट समयमा लागत संकलन हुन नसक्दा तीन वर्ष इकाइले विनियोजन गर्दै आएको करिब रु. ६ करोड बजेट फ्रिज जाने गरेको थियो।

अहिले किसानको पूर्ण सहयोगमा शीतभण्डार निर्माणले सार्थकता पाउन लागेको कृषि कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख कलशराम चौधरीले बताए।

प्रमुख चौधरीका अनुसार आगामी डिसेम्बर १५ भित्र शीतभण्डार निर्माण सम्पन्न गरिसक्नुपर्नेछ।  शीतभण्डार निर्माण भएपछि व्यावसायिक कृषि गर्दै आएका किसानलाई सहज हुने उनको भनाइ थियो।

किसानबाट लागत रकम संकलन हुन नसक्दा अपुग रकम टीकापुर नगरपालिकाले  उपलब्ध गराएपछि निर्माण प्रक्रिया अगाडि बढेको थियो। कृषि र पर्यटन क्षेत्र प्रमुख स्रोतका रूपमा रहेकाले यसको संरक्षण र प्रवर्द्धनमा नगरपालिकाको सदैव सहयोग रहने नगर प्रमुख रामलाल डगौरा थारूले बताए। 

उन्नत बिउ उत्पादनका लागि कार्यान्वयन एकाइ र नगरपालिकाको सहजीकरणमा संयुक्त योजना बनाएर काम गर्ने सहमति भएको छ। साथै किसानलाई चाहिने उन्नत जातका बेर्ना उत्पादन गरेर वितरण गरिने नगर प्रमुख थारूले जानकारी दिए। रासस 

ad
ad