चालू आर्थिक वर्ष ०८०/८१ को ६ महिनामा तीन लाख ६ सय ९१ करदाताले व्यक्तिगत स्थानी लेखा नम्बर (प्यान नम्बर) लिएका छन् । अर्थ मन्त्रालयबाट प्राप्त पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । यससँगै व्यक्तिगत प्यान नम्बर लिने करदाताको संख्या ३९ लाख ५० हजार तीन सय पाँच पुगेको छ । समीक्षा अवधिमा ६० हजार दुई सय ८३ करदाताले भने व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् ।
यससँगै व्यावसायिक स्थायी नम्बर लिने करदाताको संख्या १९ लाख ३६ हजार पाँच सय ८८ पुगेको अर्थ मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यसैगरी, समीक्षा अवधमिा दुई हजार नौ सय ६२ वटा कर कट्टी गर्ने निकायले स्थायी लेखा नम्बर लिएका छन् । तथ्यांकअनुसार हालसम्म यस्तो नम्बर लिनेको संख्या ३१ हजार ६९ पुगेको छ । समग्रमा हालसम्म व्यक्तिगत, व्यावसायिक र कर कट्टी गर्ने गरेर ५९ लाख १७ हजार नौ सय ६२ करदाताले स्थायी लेखा नम्बर लिएका छन् ।
यसैगरी, समीक्षा अवधिमा १३ हजार सात सय २९ करदाता मूल्य अभिवृद्धि कर (भ्याट)मा सूचीकृत भएका छन् । भ्याटमा मात्रै दर्ता हुने करदाताको संख्या ३२ लाख २२ हजार ६ पुगेको छ । यसैगरी, यो ६ महिनामा पाँच हजार सात सय दुई करदाता अन्तःशुल्कमा पनि दर्ता भएका छन् । अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १२ लाख २३ हजार तीन सय ७७ पुगेको छ ।
सरकारलाई कर तिर्दा स्थायी लेखा नम्बरको प्रयोग अनिवार्य गर्नुपर्छ । यसकै आधारमा करको दायरा पनि मापन गरिन्छ । मन्त्रालयले चालू आवको बजेटको अर्धवार्षिक समीक्षा गर्दै स्थायी लेखा नम्बर लिने करदाताको संख्यामा उल्लेख्य वृद्धि भएको बताएको छ । करको दायरा विस्तार कार्यक्रमलाई प्राथमिकताका साथ निरन्तरता दिइएकाले करदाताको संख्या बढ्दै गएको अर्थ मन्त्रालयको दाबी छ ।