मानिसले एकाध घण्टा योग वा ध्यान गर्छन्। दैनिक केही घण्टा योग र ध्यान गर्दा विचार र स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ। सायद, तपाईंले पनि दैनिक केही समय यस्तो कार्य गरेको हुनुपर्छ।
तर, दैनिक लामो समयसम्म ध्यानमा बसेर जीवन बिताउनु कठिन कुरा हो। जीवनभर विवाह नै नगरी दैनिक १२ घण्टाभन्दा बढी ध्यान र अध्ययनमा बिताएको जिन्दगानीबारे पंक्तिकारले तयार पारेको आलेख पढ्दा जोकोहीलाई अचम्म लाग्न सक्छ। विषयवस्तु सत्य हो।
वरिपरि आधा हिउँले खाएको आधा हरियाली रुखले ढाकेको चट्टाने डाँडा। बस्तीमाथि घनघोर जंगल। ओरालो परेको केही समथर जमिनबीच ठडिएको गुम्बैगुम्बाको गाउँ।
नेपाल सरकारले घोषणा गरेको घुम्नैपर्ने यो ठाउँको नाम हो छगाम। अर्थात्, छगाम आनी गुम्बा। चीन स्वशासित क्षेत्र तिब्बतको खासानजिक रहेको छगाम भोटेकोसी गाउँपालिका वडा नम्बर १ मा पर्छ।
६५ वर्षीया ङवाहिसी यहाँ बसेको २५ वर्ष भयो। ४० वर्षको उमेरदेखि आनी भएको। ङवाहिसी नेपाली आनी हुन्। उनको मिल्ने साथी ७० वर्षीया ङातेन्जी सानै उमेरबाट यही गुम्बामा बसेकी छिन्। उनको मातृभूमि तिब्बत हो।
आफन्त सबै तिब्बतमै बस्छन्। तिब्बती धर्मगुरु दलाई लामा निर्वासित भएको केही वर्षपछि सन् १९६० तिर छगाममा आनी गुम्बा स्थापना भएको थियो। गुम्बाको नाम सेंग्डक बखाङ धोन्दुप धिङ गोन्पा हो। तिब्बतबाट आएका सेंग्डक रिम्बोर्छेले यो गुम्बा स्थापना गरेका हुन्।
सेंग्डकको २५ वर्ष पहिले मृत्यु भइसक्यो। उनको औतारी अहिले लिस्ती छ्याङ्सिङको एक टुल्कु छन् । उनी भुटानमा बस्छन्। ङातेन्जीको हातमा सिन्धुपाल्चोक जिल्ला प्रशासनले दिएको शरणार्थी परिचयपत्र र छगाममा बस्ने सानो वास छ। उनले विवाह गरिनन्।
ऊर्जाशील समय सबै ध्यान गर्न र किताब पढ्नमा व्यतित भयो। तेन्जीजस्तै एक सय २० तिब्बती शरणार्थी आनी र ३६ नेपाली आनीको ध्यानी जिन्दगानीले जोकोहीलाई आश्चर्यचकित पार्छ।
यहाँ ३० देखि ७० वर्षसम्मका आनी छन्। उनीहरू पाँच घण्टा सुत्ने र दुई घण्टा खाना बनाएर खानेबाहेक सबैजसो समय ध्यान (मेडिटेसन) र अध्ययनमा बिताउँछन्। ‘बिहान दुई बजे उठेर ध्यान केन्द्रमा जम्मा हुनुपर्छ,’ ङवाहिसीले भनिन्, ‘त्यसपछि लगातार ध्यान र पुस्तक पढ्नुपर्छ।’
ध्यान गर्दा र पुस्तक पढ्दा परम् सन्तुष्टि प्राप्त हुने उनको अनुभव छ। सबै आनीले आफैँ खाना तयार पार्छन्। खाना बनाएर खाने, लुगा धुने र शारीरिक सरसफाइमा पाँच घण्टा र पाँच घण्टा सुत्नेबाहेक अरू समय ध्यान, पूजापाठ र अध्ययनमा बित्छ। स्थापना कालमा यहाँ तीन सय आनी थिए। समयक्रममा धेरैको मृत्यु भइसकेको छ।
आनीहरूको दिनचर्या सधैँ यसैगरी ध्यानमा बित्छ। ठूलो पूजा चल्दा पाँच घण्टा सुत्ने र दुई घण्टा खाना बनाएर खानेबाहेक सबै समय ध्यान गर्ने र पुस्तक पढ्नुपर्छ। उनीहरू डोल्मा डोल्चोक र सेटो नामक सम्बोटा लिपिको पुस्तक पढ्छन्। महिनामा यस्तो पूजा पाँचपटक पर्छ।
सानो पूजा महिनामा १५ दिन हुन्छ। यसवेला आनीहरू चार बजे उठेर ध्यान गर्छन्। बिहे नगर्ने र कामविना बाहिर नघुम्ने कसम खाएर बसेका आनीलाई ङ्यार्पा र घेर्कुले नेतृत्व गर्छन्। दुई–दुई वर्षमा चुनाव गरेर ङ्यार्पा र घेर्कु चुनिन्छन्।
अहिले तिब्बती शरणार्थी आनीद्वय घेल्याआंमु र चेदावाले नेतृत्व सम्हालेका छन्। निर्वाचित आनीले सेंग्डक रिम्बोर्छेको अनुमति र आदेशमा काम गर्नुपर्छ। सेंग्डक औतारी परम्परा हो। ब्रह्माकुमारी भएर दैनिक ध्यान र गुरु रिम्बोर्छेको श्रद्धा तथा पूजापाठ गर्दा पृथ्वीमा रहेका सबै प्राणीको हित हुने आनीहरूको विश्वास छ। यही विश्वासमा उनीहरूले आफ्नो जीवन समर्पण गरेका छन्।
दैनिक १२ घण्टाभन्दा बढी ध्यानमा बस्ने आनी उमेर पाको हुँदै जाँदा झन् कठिन र जटिल ध्यानमा जान्छन्। त्यसलाई गुफा भनिन्छ। ङुङ्डु एक च्याचङ गुफा चार महिनाको हुन्छ। गुफा बसेको वेला बाहिर मानिससँग सम्पर्क गर्न पाइँदैन।
सबैभन्दा कठिन ध्यान तीन वर्षको हुन्छ। आनी गुम्बाछेउमा भैरवकुण्ड सामुदायिक होमस्टे सञ्चालन गरेर बसेका स्थानीय सोनाजाङ्बो शेर्पाका अनुसार ध्यानमा बसेका आनीको मृत्यु हुँदा अनौठो अवस्था देखिन्छ।
‘ध्यान बस्दा मृत्यु भएका आनी दुई घण्टासम्म ठाडै रहेको मैले देखेँ,’ उनले भने, ‘ध्यानको समयावधि सकिएपछि मृत शरीर पछि आफैँ ढल्छ।’ आनी बिमारी पर्दा गुम्बामै पुगेर लामा चिकित्सकले उपचार गर्छन्।
आनीलाई छुट्टाछुट्टै एक सय ६० वटा आवास र ध्यानकेन्द्रसहित अन्य १० गुम्बा पनि सँगै बनाइएको छ। भूकम्पले ध्वस्त पारेको आनी बस्ती विदेशी दाताको सहयोगमा पुनर्निर्माण भएको हो।
उनीहरूका लागि खाद्यान्न बन्दोबस्तीका सामान पनि विदेशी दाताको सहयोगमा जुट्ने गरेको छ। अरनिको राजमार्ग कोदारी खण्डको डाक्लाङबाट २० किलोमिटर माथि रहेको छगाम आनी बस्ती पर्यटकको रोजाइमा परेको ठाउँ हो।
छगाममाथिको बगाम र चोकरमोकरबाट टाढाको दश्यावलोकन गर्न सकिन्छ। यही बाटो भएर ४३ सय मिटर उचाइमा रहेको भैरवकुण्ड तालमा पुगिन्छ। तर, सडकको दुरवस्थाले आनी बस्ती पुग्न समस्या भोग्नुपरेको छ।
सडक र पर्यटकीय पूर्वाधारमा लगानी बढाउने हो भने छगामदेखि भैरवकुण्डसम्मको हिमाली पर्यटनबाट फाइदा लिन सकिन्छ।