Skip This
स्थानीय तहमा टिक्दैनन् ‘हाकिम’ बेलडाँडीमा एक वर्षभित्रै चार प्रमुख फेरिए
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ७ सोमबार
  • Saturday, 27 July, 2024
मोहन विष्ट कञ्चनपुर
२o८o फाल्गुण ७ सोमबार १o:o४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

स्थानीय तहमा टिक्दैनन् ‘हाकिम’ बेलडाँडीमा एक वर्षभित्रै चार प्रमुख फेरिए

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o फाल्गुण ७ सोमबार १o:o४:oo

कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा एक वर्षमा चारजना प्रमुख प्रशासकीय अधिकृत (कार्यालय प्रमुख) फेरिएका छन् । कार्यालयमा आउने, केही समय काम गर्ने र त्यसपछि जाने क्रम जारी छ । बेलडाँडी गाउँपालिका प्रशासन प्रमुख राजबहादुर विष्टले हालै आएका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रबहादुर थारूको समेत सरुवा भएको बताए । 

प्रशासन शाखा प्रमुख विष्टका अनुसार गणेशदत्त भट्टपछि आएका सबै हाकिमको शीघ्र सरुवा भएको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको रूपमा गणेशदत्त भट्टको ३ माघ ०७८ मंसिरमा सरुवा भएको थियो, उनको ठाउँमा पदमराज जोशी आए । २६ पुस ०७८ मा आएका जोशी ९ असोज ०८० मा सरुवा भए । त्यसपछि १६ असोज ०८० मा कृष्णानन्द जोशी आए, उनको पनि २२ मंसिर ०८० मा सरुवा भयो । जोशीको सरुवा भएसँगै २८ मंसिरमै गजेन्द्रबहादुर थारू आए, उनको पनि २९ माघ ०८० मा सरुवा भयो ।

थारूको ठाउँमा वीरबहादुर ऐरको सरुवा भएको चर्चा भए पनि उनी अहिलेसम्म कार्यालयमा हाजिर भएका छैनन् । प्रमुख प्रशासकीय अधिकृतको रूपमा आएका गजेन्द्र थारू र कृष्णानन्द जोशीको करिब दुई–दुई महिना काम गरेको देखिन्छ । जोशीको कार्यकाल दसैँ, तिहार बिदामै सकियो । यसरी कार्यालय प्रमुख सरुवा प्रकरणले कतिपय सेवाग्राहीले अनुहारसमेत नदेखेरै कर्मचारी सरुवा दौड निरन्तर जारी छ ।

नियमित प्रशासनिक कार्यसमेत प्रभावित
चालू आर्थिक वर्ष ०८०/८१ को साउनदेखि हालसम्म चार हाकिमको सरुवाले कार्यालयको नियमित प्रशासनदेखि नीतिगत कामकाजमा प्रभाव परेको छ । अन्यत्रबाट कार्यालय प्रमुखकै जिम्मेवारीमा आएका शाखा अधिकृत तीन महिना, ६ महिना, वर्ष दिनसमेत नटिक्दै सरुवा गर्ने/हुने संस्कारले स्थानीय तहको विकासका साथै नियमित कामकाजमा प्रभाव परिरहेको छ । प्रशासन शाखा प्रमुख राजबहादुर विष्टले कार्यालय प्रमुखको अस्वाभाविक सरुवाले नियमित कामकाजदेखि भुक्तानी, सम्झौताका योजना प्रभावित हुने बताए । ‘कतिपय जिम्मेवारी कार्यालय प्रमुखलाई नै दिएको हुन्छ । प्रमुख नै नहुँदा महत्वपूर्ण कामकाज योजना कार्यान्वयनमा आउन सक्दैनन्,’ उनले भने, ‘त्यसपछि पालिकाको विकासमै समस्या हुने गर्छ ।’

किन टिक्दैनन् प्रमुख प्रशासकीय अधिकृत ?
कर्मचारीहरूका अनुसार अधिकांश प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा काम गर्ने वातावरण नहुँदा सरुवा मागेर अन्यत्र जाने गरेका छन् । तर, स्थानीय भने कर्मचारीको यो भनाइ मान्न तयार छैनन् । स्थानीय तहमा छिट्टै कमाउन पाइने भनेर उत्साहित भएर आउने, तर आफ्नै कर्मचारी, जनप्रतिनिधिसँग सेटिङ नमिलेपछि सरुवा माग्ने गरेको स्थानीयको आरोप छ । 

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द जोशीले काम गर्दा अख्तियारले समात्ने डर, नगर्दा राजनीतिक दबाबले प्रमुख प्रशासकीय अधिकृत सरुवा हुने क्रम बढेको बताए । ‘मेरो हकमा मैले त्यहाँ सरुवा मागेको पनि थिइनँ, तर एक्कासि सरुवा गरिदियो । मैले सामान्य प्रशासन मन्त्रालयमा बुझ्दा दसैँ–तिहारका वेला कर्मचारीलाई तलब खुवाउनदेखि सामाजिक सुरक्षा भत्ता वितरणका लागि आग्रह भएअनुरूप काम गरिदिएको हुँ ।’

बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले कर्मचारीले बढी सुविधा खोज्ने, पायक पर्ने ठाउँमा जानेदेखि अनुकूलतामा मात्रै काम गर्ने प्रवृत्तिले टिक्न नसकेको बताए । ‘हामीले गैरकानुनी रूपमा दबाब दिने कुरै भएन, जनताको सेवा शीघ्र गरिदिन मात्रै निर्देशन गर्ने हो,’ उनले भने, ‘जबसम्म हरेक कर्मचारी आफ्नो कर्तव्यबारे स्पष्ट हुँदैनन्, तबसम्म यो समस्या रहिरहन्छ ।’