मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक विश्वासको मत पाएका छन्। प्रदेश सभाको बैठकमा उपस्थित १०४ सांसदमध्ये ६९ जनाले मुख्यमन्त्रीको पक्षमा र ३५ जनाले विपक्षमा मतदान गरेकाे प्रदेश सभामुख रामचन्द्र मण्डलले जानकारी दिए।
सभामा उपस्थित १०४ सांसदमध्ये बहुमतका लागि मुख्यमन्त्री यादवलाई ५३ मत आवश्यक रहेको थियो। प्रदेश सभाबाट यसअघि दुईपटक सभाको शतप्रतिशत मत पाएका मुख्यमन्त्री यादवले यसपटक मात्र ६९ मत पाए।
कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी, रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीका सांसदहरूले मुख्यमन्त्रीको पक्षमा मत जाहेर गरेका हुन्।
यता, सभामा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा मुख्यमन्त्री यादवले सरकारले राम्रो काम गर्न नसके पनि नराम्रो काम पनि नगरेको प्रस्टीकरण दिए।
मुख्यमन्त्री यादवले भने, ‘अधिकांश माननीयहरू भन्नुहुन्छ, सरकारले राम्रो काम गरेको छैन। ठीक छ, सरकारले राम्रो काम गरेको छैन भनेर नराम्रो काम पनि त गरेको छैन नि। तर, मलाई लाग्छ सरकारले अहिलेसम्म जे गरेको छ, राम्रो काम गरेको छ। खराब काम एउटा पनि गरेको छैन र गर्दैन पनि।’
सभामा सम्बोधन गर्दैै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता सरोज यादवले सरकारको पछिल्लो एक वर्षको कार्यकाल सन्तोषजनक नरहेको भन्दै यादवलाई विश्वासको मत नदिने प्रस्ट पारेका थिए।
त्यसैगरी, माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले पनि सरकारले सन्तोषजनक कार्य नगरे पनि अब राम्रो कार्य गर्ने अपेक्षासहित विश्वासको मत दिने धारणा राखेका थिए। सत्तागठबन्धन दलको बैठकमा मुख्यमन्त्री यादवले विगतका कमी-कमजोरी सच्याउने प्रतिबद्धता जनाएकाले विश्वासको मत दिन लागेको उनको भनाइ थियो।