१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १४:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

केन्द्रीय समितिमा महरले भने– प्रतिवेदनलेखनमा छलफल भएन, मेरो फरक प्रस्ताव आउँछ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १४:१३:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नीति, सांगठनिक र समसामयिक राजनीतिक प्रस्तावको स्वामित्व लिने अवस्था नरहेको बताएका छन्।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा नेता महरले प्रस्तावहरू केन्द्रीय सदस्यसँग छलफल नगरी तयार भएकाले आफ्नो फरक प्रस्ताव आउने प्रस्ट पारेका छन्।

‘पहिलो कुरा, पार्टीका तर्फबाट केन्द्रीय समितिमा आएका प्रस्तावहरू ल्याउँदा समितिको निर्णय भने पनि आजसम्म संयोजकबाहेक केन्द्रीय सदस्यसँग छलफल भएन,’ उनले भने, ‘महासमितिमा केन्द्रीय समितिका रूपमा पेस हुने प्रस्तावमा हामीले स्वामित्व लिने अवस्था देखिएको छैन।’

उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शमाले सांगठनिक प्रतिवेदन निर्माणका लागि समितिसमेत नबनाएको उनको आरोप थियो।

यस्तै, महरले उपसभापति खड्काले प्रस्तुत गरेका नीति प्रस्तावमा  इतिहासको कुरा मात्र आएको भन्दै नयाँ कुरा समेट्नुपर्ने बताए। ‘नीति प्रस्तावमा इतिहास आएको छ,’ उनले भने, ‘पुराना कुरालाई मात्र समेटेर नयाँका बारेमा सम्बोधन नगर्ने हो भने हाम्रो राजनीतिले मेल खाँदैन। त्यसमा ध्यान जाओस् । कांग्रेसले नैतिकतामा आधारित जीवनाेपयोगी मानवतावादी शिक्षाको नीति लिनुपर्छ।’ 

उनले आफू भ्रातृ संस्थाको अनिवार्य निर्वाचनको पक्षमा रहेको भन्दै निर्वाचनले आन्तरिक लोकन्तत्रलाई बलियो बनाउने उल्लेख गरे।

नेता महरले महामन्त्री गगन थापाको सांगठनिक प्रस्तावमा सभापतिलाई शक्तिशाली बनाउने गरी आएको प्रस्तावमा पनि विमति राखेका छन्। ‘महामन्त्रीको सांगठनिक प्रस्तावमा पार्टीका विभिन्न निकायमा सभापतिले मनोनीत गर्ने कुरामा मेरो विमति छ। समाजवादी र माओवादीसमेत निर्वाचनमा केन्द्रित भएको वेलामा पूर्ण निर्वाचित कमिटी बन्नुपर्छ,’ उनले भने।

महाधिवेशन प्रतिनिधि निर्वाचन लडेर क्षेत्रबाट आउनुपर्ने महरको भनाइ थियो। पालिका पार्टी सभापतिलाई प्रदेश कमिटीको निर्वाचनमा स्वतः प्रतिनिधि हुने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ। पार्टीमा वर्गीय र महिलाको प्रतिनिधित्व ५० प्रतिशत गर्नुपर्ने महरले बताए। 

हरेक चार वर्षमा कांग्रेसको महाधिवेशन मंसिरमा गर्ने प्रबन्ध वैधानिक रूपमा गर्नुपर्नेमा पनि उनको जोड थियो। ‘अहिले विधान संशोधन नभए पनि यो व्यवस्था गर्नुपर्छ,’ उनले भने। नेपाली कांग्रेसमा अवसरको न्यायोचित वितरणमा ठूलो समस्या देखिएको भन्दै महरले तीनपटक उम्मेदवार हुने व्यक्तिले मैदान छाडेर नयाँलाई अवसर दिनुपर्ने बताए।

ad
ad