Skip This
गण्डकीमा अफ्रिकन स्वाइन फिभरको असर : १८ महिनामा १६ हजार ६ सय ६६ बंगुर–सुँगुर मरे, करिब दुई अर्बको क्षति
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार o६:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

गण्डकीमा अफ्रिकन स्वाइन फिभरको असर : १८ महिनामा १६ हजार ६ सय ६६ बंगुर–सुँगुर मरे, करिब दुई अर्बको क्षति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o६:१o:oo

बंगुर–सुँगुर प्रजातिमा लाग्ने अफ्रिकन स्वाइन फिभरका कारण गण्डकी प्रदेशका किसान मर्कामा परेका छन् । रोगका कारण हालसम्म १६ हजार ६ सय ६६ बंगुर मरेको र किसानको दुई अर्बभन्दा बढीको क्षति भएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । २ जेठ ०७९ मा देखा परेको यो रोग गण्डकीमा भने २९ साउन ०७९ मा पहिलोपटक देखापरेको थियो । गण्डकीका ११ जिल्लामध्ये पोखरा महानगरपालिका वडा नम्बर १४ मा पहिलोपटक यो रोग पुष्टि भएको थियो । १८ महिनाको अवधिमा गण्डकीमा एक सय २७ फार्मका बंगुर–सुँगुर मरेको निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा. बालकुमार श्रेष्ठले जानकारी दिए । 

अघिल्लो आर्थिक वर्ष ०७९/८० मा गण्डकीमा १६ हजार पाँच सय ५४ र चालू आर्थिक वर्षमा हालसम्म एक सय १२ बाट बंगुर–सुँगुर मरेको श्रेष्ठले बताए । रोगका कारण प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा धेरै क्षति कास्कीमा भएको छ । अघिल्लो आर्थिक वर्षमा कास्कीमा मात्र १५ हजार तीन सय ८८, तनहुँमा २०, म्याग्दीमा सात सय २९, नवलपुरमा २१, स्याङ्जामा दुई सय एक र लमजुङमा एक सय ४९ वटा बंगुर–सुँगुर मरेको उनले बताए । चालू आर्थिक वर्षमा यो रोग देखिएपछि कास्कीमा ५५, तनहुँमा ३०, लम्जुङमा १४, गोरखामा १३ वटा बंगुर–सुँगुर मरेका छन् । प्रदेशमा एक हजार व्यावसायिक फार्म दर्ता भएकामा हाल एकतिहाइ किसानले मात्र बंगुर–सुँगुर पाल्दै आएको श्रेष्ठले जानकारी दिए ।  

 करिब दुई अर्बको क्षति                                                                                                             
रोगका कारण गएको डेढ वर्षमा प्रदेशमा मरेका बंगुर–सुँगुरबाट ५० करोड र अन्य नोक्सानीको हिसाब गर्दा करिब दुई अर्बको क्षति भएको निर्देशनालयका महानिर्देशक डा. प्रेरणा सेढाईं भट्टराईले जानकारी दिइन् । हाल बंगुर–सुँगुरको बच्चाको मूल्य सातदेखि नौ हजारसम्म पर्ने र मासुका लागि तयार भएकाको मूल्य ६० हजारसम्म पर्ने उनको भनाइ छ । सरदर एउटाको २५ देखि ३० हजारका दरले हिसाब गर्दा मरेका बंगुर–सुँगुरबाट मात्र ५० करोडभन्दा बढीको क्षति भएको उनले बताइन् । बंगुर–सुँगुरपालन कुखुरापालनभन्दा बढी खर्चिलो रहेको महानिर्देशक भट्टराईको भनाइ छ ।

 माग बढ्यो बजारमा
रोगका कारण बजारमा बगुरको आपूर्ति घटेपछि मूल्य बढेर प्रतिकिलो पाँच सय ५० रुपैयाँ पुगेको छ ।   बजारमा माग बढी र आपूर्ति कम भएपछि यसअघिको तुलनामा हाल प्रतिकिलो एक सय ५० सम्म मूल्य बढेको श्रेष्ठले जानकारी दिए । अघिल्लो वर्षको तुलनामा यस वर्ष १५ प्रतिशत हाराहारीमा मात्र बंगुरको संख्या छ । यसअघि कास्कीमा ५० हजारमा रहेको संख्या घटाएर हाल पाँच हजारमा झारिएकाले अघिल्लो वर्षको तुलनामा यस वर्ष क्षतिसमेत निकै कम रहेको उनको भनाइ छ ।

 संक्रमण दोहोरिएपछि क्षतिपूर्ति दिन समस्या
रोगका कारण बंगुर–सुँगुरपालक किसानलाई सरकारले क्षतिपूर्ति दिने तयारी गरे पनि पुनः संक्रमण देखा परेपछि रकम दिन समस्या परेको महानिर्देशक भट्टराईले जानकारी दिइन् । अघिल्लो वर्ष रोगका कारण बंगुर–सुँगुर मरेर क्षति पुगेका किसानलाई पुनस्र्थापनाका लागि प्रतिगोटा चार हजारका दरले ५० वटा क्षतिपूर्ति दिने तयारी गरे पनि संक्रमण पुनः देखिएपछि समस्या आएको उनले बताइन् । किसानलाई नगद नभई पाठापाठी नै किनेर दिनुपर्ने भएकाले संक्रमण पुनः आएकाले त्योसमेत दिने अवस्था हाल नरहेको भनाइ उनको छ ।

ad
ad