ताप्लेजुङमा भएको नेकपा एमालेको अधिवेशनबाट अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे विजयी भएका छन्।
सोमबारदेखि सुरु भएको अधिवेशनमा मंगलबार निर्वाचन भएको थियो। मंगलबार राति सम्पन्न मतगणनामा एक सय ८३ मत अर्थात् २६ मत बढी प्राप्त गर्दै तुम्बाहाम्फे विजयी भएका हुन्। तुम्बाहाम्फेका प्रतिद्वन्द्वी बलबहादुर साम्सोहाङले एक सय ५७ प्राप्त गरे।
संविधानसभा सदस्यसमेत भएका तुम्बाहाम्फेले सरकारका पूर्वमन्त्रीसमेत रहेका साम्सोहाङलाई पराजित गरेका हुन्।
उपाध्यक्षमा एक सय ७० मत प्राप्त गर्दै दीपेन्द्र पोमू (दिपेन) निर्वाचित भए, भने प्रतिद्वन्द्वी छत्रपति प्याकुरेलले एक सय ५४ मत प्राप्त गरे।
पोमू आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष हुन् भने प्याकुरेल फुङलिङ नगरपालिकाका पूर्वनगर प्रमुख हुन्। सचिवमा एक सय ६५ मत प्राप्त गरेर सन्तोष चाम्लिङ विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्दी मणिशंकर पोमूले एक सय ५९ मत पाए। पोमू निवर्तमान जिल्ला कमिटी उपसचिव हुन् भने चाम्लिङ एमालेको सिरिजंघा गाउँकमिटी अध्यक्ष हुन्।
उपसचिव (खुला)मा सन्तोष प्रसाईंलाई पराजित गर्दै गोपाल न्यौपानेले एक सय ६४ मत प्राप्त गरी निर्वाचित भए। प्रसाईंले एक सय ५३ मत प्राप्त गरेका थिए। न्यौपाने युवा संघका स्थायी कमिटी सदस्य तथा प्रसाईं एमाले जिल्ला कमिटीका सचिवालय सदस्य हुन्।
उपसचिव महिलातर्फ भीमादेवी ओझाले एक सय ६६ मत प्राप्त गर्दै निर्वाचित भइन्। प्रतिद्वन्द्वी आङबुहाङले एक सय ५९ प्राप्त गरिन्। लेखा आयोगको अध्यक्षमा दिवस भण्डारीलाई पराजित
गर्दै दीपक धिताल निर्वाचित भए।