मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १ मंगलबार
  • Thursday, 19 December, 2024
२o८o फाल्गुण १ मंगलबार १o:५९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लमजुङका सबै गाउँमा यसै वर्ष विद्युतीकरण गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १ मंगलबार १o:५९:oo

 लमजुङ जिल्लाका सबै गाउँमा यसै वर्ष विद्युतीकरण गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रले आर्थिक वर्ष ०८०/८१ को असारभित्र जिल्लाका सबै गाउँमा राष्ट्रिय प्रसारणलाइनमार्फत विद्युत् वितरणको तयारी गरेको छ । कार्यालयका अनुसार राष्ट्रिय प्रसारणमार्फत विद्युत् वितरणका लागि सबै स्थानमा संरचना निर्माण भइसकेको छ । 

अब उपभोक्तालाई मिटर वितरण तथा जडानपछि विद्युत् सेवा प्रवाह हुने कार्यालय प्रमुख मेघनाथ भट्टराईले बताए । राष्ट्रिय विद्युत् नपुगेका गाउँमा स्थानीय नागरिक लघु जलविद्युत्कै भरमा बस्न बाध्य भएका छन् । स्थानीयले लघु जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत्ले गुजारा चलाउँदै आएका हुन् ।

राष्ट्रिय विद्युत् वितरण बाँकी रहेका जिल्लाको दूधपोखरी गाउँपालिकाको वडा नम्बर १, २ र ३ अन्तर्गतका गाउँ, मस्र्याङ्दी गाउँपालिकाको वडा नम्बर–४ अन्तर्गत जगत र च्याम्चे गाउँ र क्होलासोँथार गाउँपालिका–४ अन्तर्गत भुजुङ गाउँमा राष्ट्रिय विद्युत् प्रसारणलाइनको अन्तिम तयारी भएको केन्द्रले जनाएको छ ।

जिल्लाका तीन स्थानीय तहका विभिन्न गाउँमा अझै पनि राष्ट्रिय विद्युत् नपुग्दा लघु जलविद्युत्मार्फत विद्युतीकरण भएको छ । विद्युत् वितरण केन्द्र लमजुङका अनुसार सबै वडामा विद्युत् पोल र तार जडान भइसकेको र क्होलासोँथारको भुजुङमा पनि मिटर वितरण भइरहेको छ । लमजुङमा साना–ठूला आयोजनाबाट दुई सय ४० मेगावाटभन्दा बढी विद्युत् उत्पादन भइरहेको छ । 

केन्द्रले जिल्लामा उत्पादित विद्युत्लाई उदिपुरस्थित सबस्टेसनबाट राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । वितरण केन्द्रले तनहुँ जिल्लाको भानु नगरपालिकाको चारवटा वडा र लमजुङभर ३९ हजार घरमा विद्युत् वितरण गरेको छ ।