
अपि पावर कम्पनीको मुख्य लगानी रहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले साधारण सेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १०० अंकित दरमा २० करोड रुपैयाँबराबरको २० लाख कित्ता आइपिओ निष्कासन गर्ने भएको हो ।
कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त गरेको छ । सूर्यकुण्ड हाइड्रोका अध्यक्ष सतिश न्यौपाने र एसबिआई मर्चेन्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सूर्यकुण्ड हाइड्रोले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं १ स्थित अप्पर तादी खोला हाइड्रोपावर प्रोजेक्टमा ११ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिब ५० प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । आयोजनाको कुल लागत २२० करोड रुपैयाँ रहने र आयोजनाका लागि आवश्यक ऋण १३५ करोड रुपैयाँ नेपाल एसबिआई बैंक लिमिटेडको एकल लगानीबाट सम्पन्न भएको बताइएको छ ।