यही २८ जनवरीका दिन तीन मुलुक नाइजर, माली र बुर्किना फासोले १५ सदस्यीय इकोनोमिक कम्युनिटी अफ वेस्ट अफ्रिकन स्टेट्स (इकोवास)बाट आफ्नो सदस्यता रद्द गरेका छन् । लोकतान्त्रिक सरकार अपदस्थ गरेर सैन्य ‘कु’ भएका कारण इकोवासले पनि यी तीन मुलुकलाई निलम्बन गरेको थियो । यी तीन मुलुकले सदस्यता रद्द गरेका कारण सन् १९७५ मा स्थापना भएयता इकोवासले सबैभन्दा ठूलो संकट व्यहोरिरहेको छ ।
तीन सैन्य मुलुक जसले गत सेप्टेम्बरमा नयाँ सैन्य सन्धि गरेका थिए तिनले इकोवास विदेशी शक्तिको ‘प्रभाव’मा परेको आरोप लगाएका थिए । यी तीन मुलुकका अनुसार इकोवासले अल–कायदा र इस्लामिक स्टेटविरुद्धको आफ्नो युद्धमा समर्थन नगरेका कारण ‘सदस्य मुलुक र जनता खतरामा परेका’ छन् । यी तीनै मुलुकका सरकारले इकोवासले आफूहरूमाथि लगाइएको आर्थिक नाकाबन्दी ‘बेतुके एवं अस्वीकार्य’ रहेको पनि जनाएका छन् ।
केही वर्षदेखि नाइजर, माली र बुर्किना फासो आफ्नो त्रिदेशीय सीमामा विदेश प्रायोजित जिहादीसँग लडाइँ लडिरहेका छन् । त्रिदेशीय सीमामा अहिलेसम्म लडाकु समूहले ठूलो भूखण्ड कब्जा गरेर २० हजारभन्दा मानिसको हत्या गरिसकेको छ र थप ४२ लाख मानिसलाई विस्थापित गरेको छ । यस सन्दर्भमा साहेल क्षेत्रका यी तीन भूपरिवेष्टित मुलुकले इकोवास क्षेत्रबाट सदस्यता फिर्ता लिएपछि व्यापार एवं गतिशीलता थप प्रभावित हुन सक्नेछ । लोकतान्त्रिक सरकारको अवमूल्यन हुन सक्नेछ । र नाइजेरियाको क्षेत्रीय शक्तिका रूपमा रहेको विश्वसनीयता गुम्न सक्छ ।
संकट निवारण गर्न पश्चिम अफ्रिकाका क्षेत्रीय नेताले पाँच चुनौती व्यहोर्नुपर्नेछ । पहिलो, पश्चिम अफ्रिका क्षेत्रमा सैन्य शासन बढ्नुले लोकतान्त्रिक व्यवस्थाको असफलता दर्साउँछ । यो असफलताका पछाडि व्यापक भ्रष्टाचार र चुनावी छेडखानी रहेको छ । यी दुवै समस्यालाई उपनिवेशवाद र मौजुदा विदेशी हस्तक्षेपले थप पेचिलो बनाइदिएको छ । दोस्रो, पूर्वऔपनिवेशिक शक्तिले पश्चिम अफ्रिकी एकतामा खलल पु¥याइरहेका छन् । फ्रान्सले यो मामिलामा अग्रभागमा देखिन्छ । यस क्षेत्रमा फ्रान्सेली भाषिक बाहुल्य आर्थिक संस्थान र मुद्रा दबदबा रहँदै आएको छ । फ्रान्सविरोधी प्रदर्शनका बीचमा नाइजर, माली र बुर्किना फासोबाट फ्रान्सेली सेना निकालिएका छन्, तर अझै पनि यी मुलुकमा अमेरिकी सैन्य अखडा र रुसी वाग्नर समूह मौजुद नै छन् ।
इकोवासले सामाजिक–आर्थिक विकासलाई प्रोत्साहन गर्न र प्रभावकारी सुरक्षा एवं रक्षानीति तर्जुमा गर्न आफ्ना प्रयास दोब्बर बनाउनुपर्छ
तेस्रो, इकोवास आर्थिक एकीकरण एवं विकासका लागि खोलिएको संगठन हो न कि सुरक्षा चुनौती सम्बोधन गर्न वा लोकतान्त्रिक संस्था जोगाउन खोलिएको हो । यसका बाबजुद ऋणग्रस्त एवं अस्थिर पश्चिम अफ्रिकी क्षेत्रमा इकोवासले शान्ति प्रवद्र्धन गर्ने भूमिका निर्वाह गर्दै आएको छ ।
इकोवासले ४४ करोड मानिसका बीचमा खुला गतिशीलतालाई प्रवद्र्धन गरेको छ, तर, अन्तरक्षेत्रीय व्यापार भने गराउन सकेको छैन । यसका पछाडिको कारण भनेको पश्चिम अफ्रिकी क्षेत्रका मुलुकले औद्योगीकरण गर्न नसक्नु र कृषि अर्थतन्त्रको विविधीकरण गर्न नसक्नु हो । क्षेत्रीय एकीकरणको चौथो अवरोध भनेको इकोवासका निर्वाचित नेताले नै आफ्नो संस्थाको नियमको नांगोे अवमूल्यन हो । यही अवमूल्यनले पश्चिम अफ्रिका क्षेत्रका नागरिक समाजले भन्ने गरेको ‘नागरिक कु’का शृंखला निम्तिने गर्छ । फरक मतको दमन र स्वतन्त्र संस्थामाथिको छेडखानीले माली, बुर्किना फासो, गिनीजस्ता मुलुकमा सैन्य नेताले आफूलाई फ्रान्सपरस्त नेता फाल्ने नेताका रूपमा उभ्याउँछन् ।
पाँचौँ नाइजेरियाको घरेलु चुनौतीले ठूला राजनीतिक र आर्थिक चुनौती तेस्र्याएको छ । इकोवास क्षेत्रको झन्डै ७० प्रतिशत कुल गार्हस्थ्य उत्पादन र आधा जनसंख्या नाइजेरियाको हिस्सामा पर्छ । यस अर्थमा नाइजेरिया इकोवासलाई डो¥याउने प्रमुख शक्ति हो । कुनै वेला इकोवासमा आर्थिक, राजनीतिक एवं सामरिक नेतृत्व गरेको नाइजेरिया केही समययता समस्या झेलिरहेको छ ।
नाइजेरियालाई अहिले आफ्नै मुलुकको उत्तरपूर्वी राज्य चलिरहेको इस्लामिक विद्रोहलाई निस्तेज गर्न धौधौ भइरहेको छ । यो विद्रोहले क्षेत्रीय असन्तुलन नै निम्त्याएको छ । एक खर्ब १३ अर्ब डलरको राष्ट्रिय ऋण, ३३ प्रतिशतभन्दा बढी बेरोजगारी दर र भ्रष्ट राजनीतिक सम्भ्रान्त वर्गका कारण नाइजेरियाले इकोवासलाई नेतृत्व दिन सक्ने हो वा होइन भनेर प्रश्न उठेको छ । क्षेत्रीय ब्लक इकोवासका नेताका रूपमा नाइजेरियाका राष्ट्रपति बोला तिनुबुले इकोवासबाट सैन्य शासन भएको नाइजरलाई निकाल्ने गलत र अव्यावहारिक धम्कीले प्रत्यूत्पादक नतिजा निम्त्याएको छ । अर्थात् नाइजर, माली र बुर्किना फासोले क्षेत्रीय ब्लक छोडेका छन् ।
यसबाहेक गिनी–बिसाउ, गाम्बिया र सिएरा लियोनमा असफल कुका प्रयास भएका छन् । यसले कोट–डी–आइभोर, टोगो, घाना र नाइजेरियामा समेत सम्भावित सैन्य कुको जोखिम दर्साएको छ । अधिनायकवादको फैलावटलाई रोक्नका लागि, इकोवासका मुलुकले निरंकुश शासकमाथि प्रतिबन्ध लगाएर आफ्नो लोकतान्त्रिक सिद्धान्तलाई कायम गर्नुपर्छ । सैन्य शासनलाई प्रतिबन्धमार्फत हटाउन नसकिने अवस्थामा इकोवासका नेताले व्यावहारिक बाटो अपनाउनुपर्छ र दुई–तीन वर्षको लोकतान्त्रिक संक्रमणका लागि वार्ता गर्नुपर्छ । यो विशेषतः साहेलका लागि महत्वपूर्ण छ जहाँ सशस्त्र लडाकुले ठूलो भूभाग नियन्त्रण गर्छन् ।
इकोवासले सामाजिक–आर्थिक विकासलाई प्रोत्साहन गर्न र प्रभावकारी सुरक्षा एवं रक्षानीति तर्जुमा गर्नका लागि आफ्ना प्रयासलाई दोब्बर बनाउनुपर्छ । राष्ट्र संघ र अन्य बाह्य दाताले शान्तिनिर्माण र गरिबी न्यूनीकरण कार्यक्रममा महŒवपूर्ण कोषको प्रतिबद्धता जनाउनुपर्छ, र इकोवास ब्लकको सैन्य क्षमता विस्तार गर्न आवश्यक बन्दोबस्ती र लगानी उपलब्ध गराउनुपर्छ ।
निश्चित रूपमा पश्चिम अफ्रिकामा स्थिरता पुनस्र्थापना गर्न सजिलो हुनेछैन । तर, उल्लिखित चुनौतीको सामना गर्दै इकोवास नेताले सैन्य विद्रोहको प्रकोप अन्त्य गर्न र प्रभावकारी क्षेत्रीय एकीकरणलाई प्रोत्साहन गर्न सक्छन् । यसो गर्न असफल भएमा इकोवास ब्लकको अस्तित्व नै जोखिममा पर्नेछ । र, सम्भवतः पश्चिम अफ्रिकी क्षेत्र थप हिंसा र विद्रोह दुष्चक्रमा फस्नेछ ।
(एडेबाजो प्रिटोरिया विश्वविद्यालको सेन्टर फर द एडभान्समेन्ट अफ स्कलरसिप इन साउथ अफ्रिकाका वरिष्ठ अनुसन्धाता हुन्) प्रोजेक्ट सिन्डिकेट