मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ३० शुक्रबार
  • Friday, 12 April, 2024
रमेश सुनार कालिकोट
२०८० माघ २९ सोमबार १०:४४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

हिउँद लागेसँगै कर्णालीका किसान स्याउ बगैँचा गोडमेलको चटारोमा

Read Time : > 1 मिनेट
रमेश सुनार, कालिकोट
२०८० माघ २९ सोमबार १०:४४:००

हिउँदयाममा यहाँका स्याउ बगैँचा उजाड हुन्छन् । भदौ, असोज र कात्तिकमा स्याउ टिपिसकेपछि बोटका पात झर्छन्, नांगै बन्छन् । त्यसपछि पुस र माघमा स्याउ बगैँचा व्यवस्थापन तथा काँटछाँट गर्ने र आंशिक रूपमा स्याउको व्यवस्थापन गर्ने गरिन्छ । अहिले यहाँका किसान तिनै स्याउका बगैँैचा व्यवस्थापन गर्ने चटारोमा छन् । 

कालिकोटको तिलागुफा जुम्लाका हिमा, तिला, पातारासीलगायतका क्षेत्रमा अहिले स्याउबगैँचा व्यवस्थापन भइरहेको छ । जुम्लाका पातारासी र केही लेकाली क्षेत्रमा अत्यधिक चिसोका कारण स्थानीय बेँसी झर्ने हुनाले फागुनपछि १५ गतेसम्म बगैँचा व्यवस्थापन गरिन्छ ।

जिल्लाको मुख्य उत्पादन पनि भएकाले यहाँका धेरैजसो किसान स्याउखेती गर्छन् । यसबाट कालिकोटले बर्सेनि दुई देखि पाँच करोड रुपैयाँभन्दा बढी आम्दानी गर्छ । अरू खेतीको तुलनामा कम झन्झटिलो स्याउले यहाँको आर्थिकस्तर उकास्न पनि योगदान गरेको छ । पुस महिना लागेसँगै किसानले उजाडिएका स्याउ बगैँचामा गोडमेल, सिँचाइ गर्ने, मलजल गर्ने, रोग, किराको प्रकोप नियन्त्रणका लागि विषादी छर्किने र बोटमा फैलिएका अनावश्यक हाँगाबिँगा काँटछाँट गर्ने गर्छन् । बर्सेनि कालिकोटका किसानलाई कृषि विकास कार्यालय, नगरपालिका कृषि शाखा सम्बन्धित स्थानीय तहले प्राविधिक व्यवस्था गरी स्याउ बगैँचा व्यवस्थापनबारे तालिम र फिल्डमै पुगेर स्याउखेती गर्ने तरिका सिकाउने गरेका छन् ।

बोटमा फर्मल इन्फेक्सनका कारण कटिङको घाउ नबढोस् र प्रकोप नियन्त्रण होस् भनी हाँगा काँटछाँट गर्नुपर्ने कृषि विकास कार्यालय कालिकोटका प्रमुख भरत बस्नेतले बताए । ‘स्याउ कटिङ गर्दा हावा र घाम स्याउका सबै हाँगा र पातसम्म सर्कुलर हुन्छ, विभिन्न स्याउमा लाग्ने रोग संक्रमणलाई प्रतिरोध गर्छ,’ कार्यालय प्रमुख बस्नेतले भने, ‘स्याउ बगैँचा व्यवस्थापनको मुख्य काम हाँगा काँटछाँट हो, यसले स्याउको निश्चित आकार र साइजलाई बढावा गर्न टेवा पुग्छ ।’

बगैँचा व्यवस्थापन गर्दा कृषकले बोटमा प्रकोप नियन्त्रण गर्न बोरो पेस्ट र बोरो मिक्चर छर्किने गर्छन् । यसो गर्दा स्याउबोटमा संक्रमण कम हुन्छ । हलुका घाउमा बोरो पेस्ट र बोटको पूरै भागमा छर्किनुपरे बोरो मिक्चर प्रयोग हुन्छ । माघ अन्तिम र फागुनको पहिलो सातामा स्याउ बगैँचा व्यवस्थापनमा जुटेको चिलखाया कामखेतका किसान टेकबहादुर शाहीले बताए । ‘स्याउका लागि आवश्यक उपकरण र विषादीमा अनुदान मिल्छ,’ उनी भन्छन्, ‘हामीले बगैँचाको राम्रो हेरचार गर्न सके राम्रो आम्दानी लिन सक्छौँ । जथाभावी आएका हाँगाबिगा काँटछाँट नगर्दा उत्पादन र गुणस्तर दुवैमा ह्रास आउने उनले उल्लेख गरे ।

यहाँका किसानले स्याउका नयाँ बिरुवा लगाउने र अन्य जातका स्याउ बिरुवालाई जोडेर ग्राफ्टिङ गर्ने गरिन्छ । यसरी स्याउका बिरुवालाई ग्राफ्टिङ गर्दा बोटमा फरक–फरक जातका स्याउ फल्छन् । अक्सर, स्याउ बगैँचा व्यवस्थापनको समयमा एकपटक हिमपात भयो भने बगैँचा सप्रिन्छ । कालिकोटमा पछिल्लो समय नौ सय एक हेक्टरमा स्याउ खेती विस्तार भइसकेको छ ।

यहाँ पाँच सय ४० हेक्टरमा स्याउ फल्छ । मुख्य गरी उन्नत जातका रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस स्याउ उत्पादन हुन्छ । उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) जातका गाला, फुजी, किङरोट, गोल्डेन डेलिसियस र रेड डेलिसियस स्याउसमेत उत्पादन हुने गरेको कृषि कार्यालय कालिकोटले जनाएको छ । ०७९÷८० मा कालिकोटमामा आठ हजार टन स्याउ उत्पादन भएको थियो ।