मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २४ बुधबार
  • Wednesday, 18 December, 2024
टेकराज थामी काठमाडाैं
२o८o माघ २४ बुधबार o८:३३:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सावधान ! न्यानोको सुरमा ज्यान जाला 

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ २४ बुधबार o८:३३:oo

६ वर्षमा निस्सासिएर ५० जनाले गुमाए ज्यान, सचेत रहन प्रहरीको आग्रह

- वर्षासँगै जाडो बढेपछि डडेल्धुरा अमरगढी नगरपालिका मालमका ६० वर्षीया धौलादेवी दियाल र २६ वर्षीया पुनम दियालले कोठाभित्र माकल बाले । कोठा तातो होस् भनेर झ्याल–ढोका बन्द गरे । कोठा तातेपछि सासू–बुहारी दुवै मस्तसँग निदाए । तर, उनीहरू भोलिपल्ट बिहान उठ्न सकेनन् । निस्सासिएर सुतेकै ठाउँमा ज्यान गयो । आइतबारको घटना सुनाउँदै जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानले भने, ‘कोठा चिसो भएपछि माकल बालेर सासू–बुहारी सुतेका रहेछन् । बिहान अबेरसम्म पनि नउठेपछि स्थानीय ढोका फोडेर भित्र छिरे । उनीहरू सुतेकै ठाउँमा मृत फेला परे ।’

- काभ्रे नमोबुद्ध– १ का पूर्ववडाध्यक्ष ८२ वर्षीय कर्म ग्याल्बो लामाले गत ९ पुसमा कोठा न्यानो बनाउन इलेक्ट्रिक हिटर बाले । कोठा अझै नतातेपछि कराहीमा कोइला पनि बाले । कोठा तातिन थाल्यो । श्रीमती हसाइनी मायासँगै उनी आरामले सुते, तर बिहान ब्युँझिएनन् । कोठामा अक्सिजनको मात्रा घटेपछि उनी निस्सासिन पुगे । निस्सासिएरै उनको मृत्यु भयो । उनकी श्रीमती हसाइनी घाइते भएकी छिन् । अचेत अवस्थामा फेला परेकी उनको धुलिखेल अस्तालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी भोगेन्द्रपुरुष ढकालले उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताए । उनले भने, ‘८२ वर्षीय लामाको निस्सासिएर मृत्यु भयो । उनको श्रीमती अचेत अवस्थामा फेला परिन् । उनको अहिले धुलिखेलमा अस्पतालमा उपचार भइरहेको छ । अवस्थामा सुधार छैन ।’

- ७ माघमा ललितपुर महानगरपालिका– २५ भैँसेपाटी पुलबारी मार्ग बस्दै आएकी धनकुटाकी ३९ वर्षीया नम्रता राईले जस्ताले छाएको टहरो न्यायो पार्न राति आगो बालिन् । हावा नछिरोस् भनेर कोठाको चारैतिर बन्द गरिन्, तर भोलिपल्ट उनी ब्युँझन सकिनन् । टहरासँगै दन्किएको आगोमा उनी खरानी भइन् । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार व्यापार गर्ने उद्देश्यले उनले केही दिनअघि मात्रै स्थानीय दुर्गा श्रेष्ठसँग जग्गा भाडामा लिएकी थिइन् । जग्गामा जस्ताले बारेर टहरा बनाइन् । तीन दिनअघिबाट उनले बस्न सुरु गरेकी थिइन् । चिसो बढेपछि उनले बेलुका आगो बालिन् । तर, ननिभाई न्यायोको सुरुमा मस्त निदाइन् । आगो सल्किएर टहराभित्र फैलियो । तर, निस्सासिएकी उनी बाहिर आउन सकिनन् । हेर्दाहेर्दै टहरा खारानी भयो । सँगै उनी पनि जलिन् । 

- ७ माघमै काठमाडौं महानगरपालिका– ३२ कोटेश्वरमा ३५ दिनकी सुत्केरी सेकाउन बेलुका ७० वर्षीया सिलमाया कटुवालले माकल बालिन् । चिसो नछिर्‍योस् भनेर कोठाको झ्याल–ढोका बन्द गरिन् । कोठा तातियो । न्यानोसँगै कोठामा रहेकी २४ वर्षीया सुत्केरी प्रमिण खत्री, ३५ दिनका छोरा श्रीयाल खत्री, आगो बाल्ने सिलमाया र ९० वर्षीया छलमाया खत्री निदाए । कोठामा अक्सिजन सकियो । कार्बन मनोअक्साइडले कोठा भरियो । निदाएका चारैजना अचेत भए । छिमेकीले ढकढकाउँदा कोठा नखुलेपछि प्रहरीलाई खबर गरे । प्रहरी तत्काल घटनास्थल पुग्यो । अचेत भएका सबैलाई उपचारका लागि अस्पताल लगियो । धन्न उनीहरूको ज्यान जोगियो ।

शरीरलाई न्यानो बनाउने सुरमा ज्यान गुमाएका केही प्रतिनिधि घटना हुन् माथिका । यस्ता घटना प्रत्येक वर्षको जाडो याममा हुने गरेका छन् । नेपाल प्रहरीको तथ्यांकले पनि यही बताउँछ । तथ्यांक भन्छ, ‘न्यानो ताप्ने सुरमा प्रत्येक वर्ष जाडोयाममा सरदर नौजनाको मृत्यु हुने गर्छ ।’ नेपाल प्रहरीका एसएसपी दानबहादुर कार्कीले यो तथ्यलाई स्विकार्दै भने, ‘प्रत्येक वर्षको हिउँदमा निस्सासिएर मर्नेको संख्या बढ्दै गएको देखिन्छ । सरदरमा प्रत्येक वर्ष नौजनाले ज्यान गुमाउने गरेको देखिन्छ ।’

जसले कोठामै निस्सासिएर ज्यान गुमाए 
प्रहरीको तथ्यांकअनुसार गत पाँच वर्षमा मुलुकभर ४७ जनाले निस्सासिएर ज्यान गुमाएका छन् । विशेष गरी झ्याल–ढोका बन्द गरी हिटर, गुइँठा, दाउरा, माकल र कोइला बल्ने क्रममा उनीहरूको मृत्यु भएको छ । बाथरुममा तातो पानीले नुहाउने क्रममा पनि केहीको मृत्यु भएको छ भने केहीको क्बल हाउसमा साउना लिने क्रममा पनि मृत्यु भएको प्रहरीको तथ्यांकले देखाउँछ । 

प्रहरीका अनुसार झ्याल–ढोका बन्द गरी हिटर, गुइँठा, दाउरा, माकल र कोइला बाल्दा कोठामा न्यायो हुन्छ । अक्सिजन उडेर सिलिङतर्फ जान्छ । खाली ठाउँमा भने कार्बोनडाइअक्साइड भरिन्छ । जुन मानिसको स्वास्थ्यका लागि हानिकारक छ । सोही कारण मानिस बेहोस हुन्छ । अन्ततः मृत्यु हुन पुग्छ । त्यसो हुँदा झ्याल–ढोका बन्द गरेर न्यानो ताप्न नहुने नेपाल प्रहरीका एसएसपी कार्कीले बताए । उनले भने, ‘न्यानो बनाउने क्रममा कोठाको झ्याल–ढोका बन्द गर्छौँ । कोठामा अक्सिजन पातलो हुन्छ । बाहिरबाट रिफिल हुन पाउँदैन । अनि मानिस बेहोस हुन्छ । सोही कारण मृत्यु हुन्छ । यसलाई नियन्त्रण गर्न जरुरी छ । यसका लागि सचेतना फैलाउन मातहतका सबै निकायलाई सर्कुलर गरेका छौँ ।’

सचेत बनाउन प्रहरीको सर्कुलर 
प्रत्येक वर्षको हिउँदमा कोठा न्यानो बनाउने क्रममा सर्वसाधारणले ज्यान गुमाउन थालेपछि प्रहरीले सचेतना फैलाउने भएको छ । यसका लागि प्रहरीले मातहतका जिल्ला प्रहरी कार्यालयलाई निर्देशन नै जारी गरेको छ । विशेष गरी स्थानीय तहसँग समन्वय गरी सचेतना फैलाउन मातहतका प्रहरी युनिटलाई प्रहरी प्रधान कार्यालयले निर्देशन जारी गरेको छ । एसएसपी कार्कीले भने, ‘न्यानो ताप्ने सुरमा सर्वसाधारणले ज्यान गुमाउन थाले । उनीहरूलाई अब सचेत गराउन जरुरी रहेको देखियो । यसका लागि स्थानीय तहसँग समन्वय गर्न मातहतका सबै प्रहरी युनिटलाई निर्देशन भएको छ । सञ्चारमाध्यममार्फत पनि यस्ता कार्यक्रम प्रवाह गर्न मातहतका निकायलाई भनेका छौँ । अहिले सबैको हातमा मोबाइल छ । सचेता फैलाउने खालका सन्देश मोबाइलको ‘रिङ टोन’मा राख्नुपर्‍यो । यसमा प्रहरी मात्रै होइन, अन्य निकाय पनि परिचालित हुनुपर्‍यो ।’ 

भेन्टिलेसन खुला राख्दा बच्न सकिन्छ : डा. नीरज बम छातीरोग विशेषज्ञ, शिक्षण अस्पताल 
न्यानो पार्ने लोभमा झ्याल–ढोका बन्द गरेर कोठामा हिटर, कोइला, माकल बाल्छौँ । कोठाभित्र अक्सिजन आउन पाउँदैन । तर, बालिएको हिटर, कोइला र माकलले कार्बन मनोअक्साइड उत्पादन गर्छ । श्वासप्रश्वासमार्फत कार्बन मनोअक्साइड फोक्सोसम्म पुग्छ । यसले फोक्सोमा पानी जम्मा गराउँछ । फोक्सोको काम अक्सिजन रगतमा पठाउने र कार्बडाइअक्साइड फाल्ने हो ।

तर, अक्सिजनको ठाउँमा कार्बन मनोअक्साइड भरिएपछि फोक्सोले रगतमा त्यसैलाई पठाउँछ । रगत हुँदै यो ब्रेन र मुटुसम्म पुग्छ । यसले मानिसलाई अचेत बनाउँछ । र मुटको धड्कन बन्द गराउँछ । त्यसपछि मानिसको मृत्यु हुने हो । यसबाट जोगिन झ्याल–ढोका पूरै बन्द गरेर हिटर, कोइला, माकल बाल्नुभएन । भेन्टिलेसन खुला राख्नुपर्‍यो । कोठामा आक्सिजनलाई आउन दिनुपर्‍यो । र कोठाभित्रका कार्बनडाइअक्साइडलाई बाहिर जान दिनुपर्‍यो ।