१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २४ बुधबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o माघ २४ बुधबार o६:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

अमरपुर–ढुंगेसाँघु १३२ केभी प्रसारणलाइन निर्माण सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ २४ बुधबार o६:o८:oo

नेपाल विद्युत् प्राधिकरणले पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुर सबस्टेसनदेखि ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुंगेसाँघु सबस्टेसनसम्मको अमरपुर–ढुंगेसाँघु एक सय ३२ केभी डबल सर्किट प्रसारणलाइन निर्माण सुरु गरेको छ । हिलिहाङ गाउँपालिका अध्यक्ष, वडाध्यक्ष, स्थानीय बासिन्दालगायतको उपस्थितिमा सोमबार अमरपुर–ढुंगेसाँघु एक सय ३२ केभी प्रसारणलाइनको टावर निर्माण शिलान्यास गरिएको छ । करिब १९ किलोमिटर प्रसारणलाइनमा ६७ वटा टावर निर्माण गर्नुपर्नेछ । उक्त प्रसारणलाइनबाट दुई सय मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ । 

झापाको लखनपुरदेखि (दमक सबस्टेसन) अमरपुर सबस्टेसनसम्मको काबेली करिडोर एक सय ३२ केभी प्रसारणलाइन र सुनसरीस्थित इनरुवा सबस्टेसनदेखि संखुवासभाको वसन्तपुर हुँदै ढुंगेसाँघुसम्मको कोशी करिडोर दुई सय २० केभी प्रसारणलाइनलाई एक–आपसमा आबद्ध गर्न यो प्रसारणलाइन बनाइँदै छ । कोशी करिडोरअन्तर्गत वसन्तपुर–इनरुवा खण्ड सञ्चालनमा आइसकेको छ । वसन्तपुर–ढुंगेसाँघु खण्ड निर्माण अन्तिम चरणमा छ । काबेली करिडोर सञ्चालनमा छ ।

काबेली नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने जलविद्युत् आयोजनाहरूको विद्युत्लाई विश्वसनीय तथा प्रभावकारी रूपमा प्रवाह गर्न अमरपुर–ढुंगेसाँघु एक सय ३२ केभी प्रसारणलाइन सुरु गरिएको आयोजना प्रमुख अनुप गौतमले बताए ।
आयोजना प्रमुख गौतमका अनुसार कोशी र काबेली करिडोर प्रसारणलाइन एक–आपसमा आबद्ध हुने भएकाले कुनै कारणले काबेली करिडोरमा समस्या आएमा उक्त लाइनमा जोडिएको विद्युत् कोशी करिडोरतर्फ पठाउन सकिन्छ । 

यसले गर्दा पूर्वी नेपालको राष्ट्रिय प्रसारण ग्रिडको विश्वसनीयता बढ्नुका साथै स्थानीय विद्युत् आपूर्ति पनि विश्वसनीय, गुणस्तरीय र सुदृढ बन्नेछ । तमोर नदी जलाधार क्षेत्रमा निर्माणाधीन र निर्माण हुने जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् ढुंगेसाँघु सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित हुनेछ । 

नेपाल सरकारको करिब एक अर्ब २० करोड रुपैयाँ लगानीमा आर्थिक वर्ष ०७५/७६ मा आयोजना सुरु गरिएको हो । प्रसारणलाइन निर्माणका लागि ०७९ मा ठेक्का सम्झौता भएको थियो । आयोजनाअन्तर्गत अमरपुर तथा ढुंगेसाँघु सबस्टेसनमा दुई–दुईवटा लाइन वे निर्माण गरिनेछ ।

 यसका अतिरिक्त स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ढुंगेसाँघु सबस्टेसनमा ११ केभीको संरचना निर्माण गरिनेछ । लाइन वे र ११ केभीका संरचना बनाउन चालू आर्थिक वर्षमा ठेक्का लगाइनेछ । आयोजनाअन्तर्गतका सम्पूर्ण काम आर्थिक वर्ष ०८१/८२ मा सक्ने लक्ष्य राखिएको आयोजना प्रमुख गौतमले जानकारी दिए ।

ad
ad
ad
ad