१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o६:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

६ सुर्ती–गुट्खा उद्योगलाई पुँजी बढाउन स्वीकृति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:o९:oo

सरकारले सुर्ती, खैनी तथा गुट्खा उद्योगलाई पुँजी बढाउने अनुमति दिएको छ । औद्योगिक तथा लगानी प्रवद्र्धन बोर्डको बैठकले ६ वटा यस्ता उद्योगलाई पुँजी वृद्धि तथा क्षमता बढाउन स्वीकृति दिएको हो । मोरङको विराटनगरमा रहेको पानमसला, गुट्खा, खैनी, स्विट सुपारी उत्पादन गर्ने मधु प्रोडक्ट्स प्राइभेट फर्मलाई ५० लाखको कुल पुँजी बढाएर चार करोड ५० लाख पुर्‍याउन स्वीकृति दिएको छ । उद्योगले अब दुई सय टन गुट्खा, सय टनसम्म खैनी र सय टन पानमसला उत्पादन गर्ने स्वीकृति पाएको छ । उत्पादन क्षमता बढाएसँगै विद्युत् क्षमता पनि सय केभिएबाट बढाएर दुई सय केभिए पुर्‍याइएको छ ।  

कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको लुम्बिनी पानमसला तथा सुर्ती उद्योगको कुल पुँजी ५० लाख रुपैयाँबाट बढाएर तीन करोड पुर्‍याइएको छ । वार्षिक उत्पादन क्षमताअनुसार गुट्खा वर्षको सात लाख ५० हजार किलो, सुर्ती तीन लाख ५० हजार किलो र पानमसला पाँच लाख किलो उत्पादन गर्न स्वीकृति दिइएको छ । यसलाई पनि विद्युत् क्षमता दुई केभिएसम्मको स्वीकृति दिइएको छ ।  

महोत्तरीको सम्सी गाउँपालिकामा रहेको आइपिए गुट्खा उद्योगले हालको आठ लाख २५ हजारको पुँजी बढाएर पाँच करोड रुपैयाँ पु¥याउन स्वीकृति पाएको छ । करिब दुई हजार किलोसम्म वार्षिक गुट्खा र जर्दा उत्पादन गर्दै आइरहेको यो उद्योगले क्षमता बढाउन पाएको छ । १५ लाख किलो गुट्खा र ६ लाख ४० हजार जर्दा उत्पादन गर्ने भएको छ । 

सप्तरीको राजविराजमा रहेको बालाजी उद्योग प्रालिलाई १५ लाखको पुँजी बढाएर पाँच करोड ५० लाख पु¥याउन बोर्डले स्वीकृति दिएको छ । हालसम्म गुट्खा उत्पादन नगरेको यो उद्योगले अब एक हजार पाँच सय टन गुट्खा उत्पादन गर्ने भएको छ । उद्योगले अब पाँच सय टन सुर्ती उत्पादन गर्ने भएको छ ।  

भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको गोल्डेन टोबाको इन्डस्ट्रिज प्रालिलाई २३ लाख ७० हजारको कुल पुँजी बढाएर १० करोड पुर्‍याउँन बोर्डले स्वीकृति दिएको छ । ३० हजार किलो वार्षिक सुर्ती, खैनी उत्पादन गर्दै आइरहेको यो उद्योगले अब ५५ हजार किलोसम्म उत्पादन गर्न पाउने भएको छ । त्यस्तै, हालसम्म गुट्खा उत्पादन सुरु नगरेको यो उद्योगले वार्षिक १० लाख किलोसम्म गुट्खा उत्पादन गर्न पाउने भएको छ । सोही मात्राको पानमसला र स्विट सुपारीसमेत उत्पादन गर्न स्वीकृति पाएको छ । 

वीरगन्जमा रहेको एएम प्रोडक्ट्सले २० लाख ८६ हजार आठ सय ३२ को कुल पुँजी बढाएर पाँच करोड ५० लाखसम्म पु¥याउन स्वीकृति पाएको छ । यसले दुई हजार पाँच सय टन गुट्खा उत्पादन गर्न पाउने भएको छ । 

ad
ad