१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
पूर्वी नाका काँकडभिट्टामा सुरक्षा जाँच गर्दै सुरक्षाकर्मी । तस्बिर : नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:५२:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

तेस्रो देशका नागरिकलाई काँकडभिट्टाबाट  नेपाल प्रवेशमा भारतको अवरोध

चार वर्षदेखि भुटानबाहेक तेस्रो देशका नागरिकले आवतजावत गर्न पाएननन्

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:५२:oo

पूर्वी नाका भएर नेपाल आउने तेस्रो देशका नागरिकलाई भारतले चार वर्षअघि लगाएको रोक अझै कायम छ । भुटानबाहेकका देशका नागरिकलाई पूर्वी नाका काँकडभिट्टा भएर नेपाल प्रवेशमा भारतले रोक लगाउँदै आएको हो । चैत ०७६ मा कोरोना महामारीका कारण नाका बन्द भएसँगै रोकिएको आवतजावत भारतले अझै खोलेको छैन । अर्थात् पूर्वी नाका औपचारिक रूपमा खुल्न सकेको छैन । भारतले अहिले नेपाल प्रवेश गर्ने भुटानी नागरिक र भारत आउन भिसा आवश्यक नपर्ने तेस्रो देशका नागरिक (एनआरआई)लाई मात्र नेपालतर्फ पठाइरहेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख रेवन्त भट्टराईले जानकारी दिए । 

कोरोना महामारी सुरु भएसँगै तेस्रो देशका नागरिक आवतजावतमा भारतले रोक लगाएको हो । ‘भारतको रानीगन्जमा रहेको चेकपोस्टले एक्जिट गर्नुपर्छ । उसले नेपालतर्फ आउने तेस्रो देशका नागरिकलाई यता पठाउँदै पठाउँदैन । नेपालको भिसा भए पनि उसले यो नाकाबाट नेपालतर्फ पठाउँदैन,’ उनले भने, ‘भारतको भिसा भएका तेस्रो देशका नागरिकलाई हामीले नेपालबाट पठायो भने पनि उता (भारत)बाट फिर्ता पठाउँछ । तेस्रो देशका नागरिक आवतजावतमा भारतको अवरोध छ ।’

विगतमा यो नाका भएर वार्षिक नौ हजारभन्दा बढी तेस्रो देशका पर्यटक नेपाल भित्रने गरेका थिए । तर, अहिले भुटान र भारतमा भिसा नलाग्ने नागरिक गरी वार्षिक तीन हजारहाराहारी मात्र नेपाल प्रवेश गर्ने गरेको भट्टराईले जानकारी दिए । ‘यहाँबाट विगतमा सबैभन्दा धेरै बंगलादेशी नागरिक आवतजावत गर्थे । यहाँबाट करिब ४५ किलोमिटर दूरी मात्र भएकाले तेस्रो देश जान र पर्यटनका लागि बंगलादेशी नागरिक आउँथे । त्यसपछि भुटानी नागरिक थिए,’ उनले भने, ‘भारत गुम्न आएका अन्य देशका नागरिक नेपालतर्फ आउने र नेपाल आएका अन्य देशका नागरिक भारततर्फ जाने गरेका थिए । अहिले यो ठप्प छ ।’ 

यसरी तेस्रो देशका नागरिक नेपाल प्रवेश रोकिनुको औपचारिक कारण भने अझै भारतले नदिएको उनले बताए । नाकामा तेस्रो देशका नागरिकमाथि भएको अवरोध खुला गर्नका लागि दुई वर्षदेखि पहल गरिरहेको अध्यागमन प्रमुख भट्टराईको भनाइ छ । ‘प्रमुख जिल्ला अधिकारीज्यूले भारततर्फको काउन्टरपार्टसँगको छलफलमा पनि कुरा राखिरहनुभएको छ । तर, यताबाट औपचारिक रूपमा यस्तो भएको हो भन्ने जानकारी आएको छैन,’ उनले भने, ‘मन्त्रालय, विभागमा पनि जानकारी गराएका छौँ । हामीले निरन्तर पहल गरेका छौँ । तर, प्रतिफल आएको छैन ।’

मेची भन्सारबाट तेस्रो देशका नागरिक आवतजावत बन्द हुँदा यहाँको पर्यटन व्यवसायमा प्रत्यक्ष असर परेको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले बताए । ‘तेस्रो देशका नागरिक आउन पाउने हो भने यहाँको पर्यटन, होटेल व्यवसाय फस्टाउँछ । पूर्वको पर्यटकीय स्थल धेरै यही क्षेत्रमा छन् । दार्जिलिङ, सिक्कम आएका मान्छेहरू नेपाल आउने र नेपाल आएका पर्यटक त्यता जान सक्थे,’ उनले भने, ‘तर, अहिले अहिले तेस्रो देशका नागरिकको आवतजावत बन्द हुँदा पर्यटन, होटेल व्यवसायमा ठूलो प्रभाव परेको छ ।’

तेस्रो देशका नागरिकलाई आवतजावतमा भारतले अवरोध गर्दा यसको असर पर्यटन र होटेल व्यवसायमा देखिएको ट्राभल्स संघ झापाका अध्यक्ष नेत्र कार्कीले बताए । काँकडभिट्टाका कतिपय होटेल बन्द भएको उनको भनाइ छ । ‘नाकामा तेस्रो देशका नागरिकलाई अवरोध भएको कुरा नेपाल सरकारले सूचना गर्दैन । पर्यटकहरू पानीट्यांकी पुगेर फर्कन्छन्,’ उनले भने, ‘यो अवस्थाले पर्यटन र होटेल व्यवसाय डामाडोल छ । सरकारको ध्यानकर्षण गराएका छौँ । कसैले सुन्नेवाला छैन ।’

 नेपालबाट भारत जानसमेत कडाइ
भारतले तेस्रो देशका नागरिकलाई आवतजावत रोकेको मात्र छैन । भारततर्फ जाने नेपाली नागरिकलाई समेत कडाइ गरेको छ । कोरोना महामारीअघिसम्म भारत जान नेपालीलाई र नेपाल आउन भारतीयलाई केही कागजात आवश्यकता पर्दैन थियो । तर, अहिले नेपालबाट भारत जाने र भारतबाट नेपाल आउनेलाई अनिवार्य परिचयपत्र देखाउनुपर्ने अवस्था छ । ‘विगतमा केही पर्दैन थियो । कोरोनापछि परिचयपत्र अनिवार्य गरियो । केही महिनापहिलासम्म मोबाइलमा र फोटोकपी देखाउँदा हुन्थ्यो । अहिले सक्कल नै देखाउनुपर्ने अवस्था छ,’ कार्कीले भने, ‘झन्झटिलो चेकिङ र घण्टौँ लाइन बस्नुपर्ने अवस्थाले यो नाका पर्यटकको रोजाइमा पर्न छाडेको छ । यहाँबाट ओहोरदोहोर गर्ने पर्यटकहरू वीरगन्ज र रक्सौलबाट हिँड्न थालेका छन् ।’

ad
ad