१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १२:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार

नेपालगन्ज मेडिकल कलेजमा ‘सुपरस्पेसालिटी’ सेवा सुरु  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:१५:oo

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जले सुपरस्पेसालिटी सेवा सुरु गरेको छ। भारतको लखनउस्थित अपोलो मेडिक्स अस्पतालसँगको सहकार्यमा नेपालगन्ज मेडिकल कलेजले नेपालगन्जमा सुपरस्पेसालिटी सेवा सुरु गरेको हो।

सुपरस्पेसालिटीअन्तर्गत नेपालगन्ज मेडिकल कलेजले क्यान्सर, कृत्रिम गर्भाधान (आइभिएफ), मुटुको शल्यक्रिया, प्लास्टिक सर्जरी, क्यान्सर सर्जरीलगायतका सेवा प्रदान गरिने सहायक प्रबन्ध–निर्देशक डा. नितेश कनोडियाले जानकारी दिए।

उनले मेडिकल कलेजमा उपचार सम्भव नभएका बिरामीलाई अपोलो मेडिक्स अस्पतालमा रेफर गरिने बताए। सुपरस्पेसालिटी सेवाका लागि अपोलो अस्पतालका विशेषज्ञ चिकित्सकहरू नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा आएर परामर्श तथा उपचार सेवा प्रदान गर्ने भएका छन्। ‘उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा आएका बिरामीलाई विश्वस्तरको उत्कृष्ट स्वास्थ्य सेवा पाउनेछन्,’ उनले भने। 

बिरामी र आफन्तको सहमतिमा मात्र अपोलो अस्पतालमा रेफर गरिने नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध–निर्देशक डा. सुरेशकुमार कनोडियाले बताए। उनले यहाँबाट रेफर भएका बिरामीले पहिलो फलाेअप निःशुल्क पाउने बताए। 

‘दोस्रो फलाेअपबाट बिरामीले ओपिडी शुल्कमा २० प्रतिशत, ल्याब र रेडियोलोजी परीक्षणमा २० प्रतिशत र भर्ना हुनुपर्ने भएमा ल्याब तथा रेडियोलोजी परीक्षण, आइपिडी बिल एवं अन्य प्रक्रियामा १० प्रतिशत छुट पाउने सहमति छ,’ उनले भने, ‘उक्त सेवा पाउन नेपालगन्ज मेडिकल कलेजले दिएको आधिकारिक रेफरल कार्ड आवश्यक पर्नेछ।’ 

नेपालगन्ज मेडिकल कलेजमा अपोलो अस्पतालका कृत्रिम गर्भाधान विशेषज्ञ डा. राधिका वाजपेयी, मुटु शल्यक्रिया विशेषज्ञ डा. भरत दुवेदी, प्लास्टिक सर्जरी विशेषज्ञ डा. निखिल पुरी, मुटुरोग विशेषज्ञ डा. मोहितमोहन सिंह र क्यान्सर सर्जरी विशेषज्ञ डा. जिसिनुद्दिन अहमदले सुपरस्पेसालिटी सेवा प्रदान गर्ने डा. सुरेशकुमार कनोडियाले बताए।

अपोलो अस्पतालका प्रबन्ध–निर्देशक डा. मयंक सोमानीले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा आएका बिरामीलाई सुपरस्पेसालिटी सेवाका लागि सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे। उनले यहाँबाट रेफर भएका बिरामीको सेवामा कुनै कमी नगर्ने आश्वासन दिए।  

सुपरस्पेसालिटी सेवाका लागि नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध–निर्देशक डा. सुरेशकुमार कनोडिया र अपोलो मेडिक्स अस्पतालका प्रबन्ध–निर्देशक डा. मयंक सोमानीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। उक्त सेवाको नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । 

ad
ad