१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
१. १३औँ सागमा महिला एकल तीस वर्षमाथि स्वर्ण जितेपछि । २. सागको एकै संस्करणमा दोहोरो स्वर्ण जितेपछि छोरासँग खुसी साट्दै ।
२o८१ बैशाख २२ शनिबार १o:११:oo
Read Time : > 4 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आधा घण्टाको अन्तरमा दोहोरो स्वर्ण जितेँ

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:११:oo

२० वर्षपछि नेपालले दक्षिण एसियाली खेलकुद (साग)आयोजनाको अवसर पाएको थियो, जसमा नेपालले ऐतिहासिक प्रदर्शन गर्दै सर्वाधिक ५१ स्वर्ण जित्यो । धेरै खेलाडीले व्यक्तिगत रूपमा इतिहास रचे, जसमा तेक्वान्दोकी आयशा शाक्य पनि थिइन् । एकै संस्करणमा दुई स्वर्ण जित्ने पहिलो तेक्वान्दो खेलाडीको रेकर्ड उनले आफ्नो नाममा राखिन् । तेक्वान्दोमा तीन स्वर्ण जित्ने उनी पहिलो महिला खेलाडीसमेत हुन् । सन् २०१० मा ढाकामा पहिलो स्वर्ण हात पारेकी आयशाले नौ वर्षपछि स्वर्ण जित्दा बिलकुल फरक अनुभव गरिन् । उनले दुई वर्ष र ६ वर्षका छोरालाई छाडेर प्रशिक्षणमा होमिएकी थिइन् । परिवारलाई छाडेर प्रशिक्षण गर्नु र दोहोरो स्वर्ण जित्दाको क्षण उनले श्रीलोचन राजोपाध्यायलाई यसरी सुनाइन् :

नेपालमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)लाई लाइफ टर्निङ प्वाइन्टका रूपमा लिने गरेकी छु । यसै सागले मलाई वास्तवमा चिनाएको जस्तो लाग्छ । यसअघि पनि सागमा स्वर्ण जितेकी थिएँ । तर, मलाई आयषा शाक्य भनी तेक्वान्दोमा ब्रान्डिङ बनाउने १३औँ सागले गरेको हो । काठमाडौंमै आयोजना भएको सागमा प्राप्त दुई स्वर्ण सम्झँदा हर्षित र भावुक हुने गर्छु । खुसी यस अर्थमा छु कि, तेक्वान्दोमा मैले एकै संस्करणमा दुई स्वर्ण जित्दै इतिहास बनाएँ । १८ महिनाको दुधेबालकलाई छाडेर प्रशिक्षण गर्दाको क्षण सम्झँदा अहिले पनि असाध्यै भावुक हुन्छु । दुई बच्चाकी आमा भएर स्वर्ण जित्दाको महत्व फरक हुँदो रहेछ । यही नै एक खेलाडीको जीवनकथा हो । करिअरमा प्राप्त हुन त हरेक पदक विशेष नै लाग्छ । 

चाहे त्यो २००६ मा दोहा एसियाडमा जितेको कांस्य वा सन् २०१० मा ढाका सागमा जितेको पहिलो स्वर्ण । तैपनि, मलाई जीवनको सबैभन्दा यादगार क्षण सन् २०१९ को १३औँ साग लाग्छ । सागमा सहभागी हुनेक्रममा मैले घरमा दुई वर्ष र ६ वर्षका छोरालाई छाडेर प्रशिक्षण गरेकी थिएँ । सामान्य रूपमा बच्चालाई दुई वर्षसम्म दूध खुवाउनुपर्छ । तर, मैले सानोबाबुलाई दुई वर्षसम्म निरन्तर दूध खुवाउन पाइनँ । सागका लागि नेपाली तेक्वान्दो टोलीले नौ महिनाअघिदेखि नै प्रशिक्षण गरेको थियो ।

विशेष तयारी तीन महिनाको थियो । सानोबाबुलाई दूध खुवाउँदै–खुवाउँदै प्रशिक्षणमा जाँदा धेरै पीडाबोध भयो । त्यसवेला सानोबाबुलाई न्याय नगरेको जस्तो महसुस हुन्छ । मैले यो के गरेको होला ? सानो बच्चा छाडेर खेल्न गइरहेकी छु । कहीँ मेरो निर्णय गलत थिएन ? सागमा राम्रो नतिजा आउँछ कि आउँदैन भन्ने प्रश्न उब्जिरहेको थियो । सागको अन्तिम छनोटपछि एक महिनाको क्लोज क्याम्प राखिएको थियो । क्लोज क्याम्पमा रहँदा कसैसँग भेटन नपाउने थियो । 

प्रशिक्षणका क्रममा दुईवटै बच्चाको सम्झना झलझली आउँथ्यो । कहिलेकाहीँ क्याम्पबाट घर जाँदा सानोबाबुलाई नभेटी जान्थेँ । मलाई देखेपछि छोराहरू रुन्थे । भेट्दा र पछि छाड्दा कतै सानोबाबु बिरामी हुने होइन भन्ने लाग्थ्यो । बच्चा बिरामी हुँदा त्यसको असर आमाबुबामाथि नै हुन्छ । यसैकारण घर जाँदा कैयौँपटक बाबुहरूलाई नभेटी केवल अनुहार मात्र हेरी फर्कने गरेकी थिएँ । त्यसवेला म स्वयं पनि सम्हालिन सक्ने अवस्थामा हुँदिनथेँ । आमाको मन त हो । कुनचाहिँ आमालाई रहर हुन्छ, भर्खरका दुधेबालक छाडेर प्रशिक्षणमा जान । सागमा राम्रो नतिजा निकाल्न सकेसम्म बच्चासँग मैले डिस्टेन्स मेनटेन गरेकी थिएँ । 

पुम्से हेर्दा सहज, तर कठिन
सन् २०१६ को भारतमा आयोजना भएको १२औँ सागमा म झिनो अन्तरले स्वर्ण जित्न वञ्चित भएँ । त्यसवेला सागमा फेरि स्वर्णका लागि प्रतिस्पर्धा गर्छु भनी सोचिनँ । सिलोङमा रजतमै सीमित हुँदा अब मेरो तेक्वान्दो करिअर यहाँसम्मै भनी सम्झेकी थिएँ । १२औँ सागमा रजत विजेताहरूलाई एसियन च्याम्पियनसिपमा मौका दिइएको थियो । त्यहाँ पनि खेल गुमाएँ । त्यसपछि अब गेम छाड्नुपर्छ र भगवान्ले नै मलाई यहाँसम्म तेक्वान्दो खेल्न पठाएको भन्ने लागेको थियो । त्यही वेला हाम्रो घर निर्माण कार्य सुरु भएको थियो । लगातारजसो तेक्वान्दोमा सोचेजस्तो नतिजा नपाएपछि तेक्वान्दोबाट टाढिएँ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअघिसम्म म पूरै एक गृहिणीकै रूपमा घर हेर्न व्यस्त भएँ । 

यसैवेला आठौँ राष्ट्रिय खेलकुदको हल्ला चलेको थियो । प्रतियोतिगामा पुम्से समावेश थियो । आर्मीको महिला पुम्से टोलीमा एक खेलाडी आवश्यक रह्यो । मलाई पहिलेदेखि नै पुम्से मन पथ्र्यो । आर्मीकै प्रमुख प्रशिक्षक दानबहादुर ऐरी गुरुले मलाई प्रस्ताव गर्नुभयो । उहाँले केवल टिम इन्ट्रीका लागि प्रस्ताव राख्नुभएको थियो । मैले मेरा श्रीमान् दीपक विष्टसँग छलफल गरेँ । केवल १० दिनको प्रशिक्षणमा आर्मीबाट बृहत् खेलकुदमा सहभागी भएँ । त्यहाँ मैले कांस्य जितेँ । तेस्रो स्थान हात पारेको हुँदा म फेरि तेक्वान्दोको राष्ट्रिय टोलीमा ‘इन’ भएँ । यही टोली साग गेमको तयारीमा जुटेको थियो । सागको क्लोज क्याम्पमा शतप्रतिशत मिहिनेत गरेँ । 

धेरै पछि पुम्से विधामा प्रतिस्पर्धा गर्न पाउँदा खुसी थिएँ । यसमा पनि कडा अभ्यास गर्न पाउँदा झनै खुसी भएँ । पुम्से हेर्दा सजिलोजस्तो लाग्छ, तर त्यतिकै कठिन छ । पुम्से एक किसिमले डेमोजस्तै हो । यसमा टाइमिङदेखि पावर कन्ट्रोल आवश्यक पर्छ । अनब्यालेन्स हुँदा महत्वपूर्ण अंक खोसिन्छ । पुम्से प्रदर्शनका क्रममा आवाज निकाल्नुपर्ने स्थानमा नआउँदा पनि अंक जान्छ । स–साना गल्तीमा समेत अंक खोसिने सम्भावना हुन्छ । 

स्वर्ण जित्ने कल्पना थिएन
टू बी अनेस्ट । मैले १३औँ सागमा स्वर्ण जित्छु भनी कल्पना नै गरेकी थिइनँ । प्रतिस्पर्धाको दिनमा मलाई एउटै मात्र डर थियो, एरिनाभित्र अनब्यालेन्स हुने । फेरि पुम्सेमा सामान्य स्टेप पनि बिर्सनुहुँदैन । साउन्ड गर्न बिर्सँदा ठूलो अंक काटिन्छ । जति मिस्टेक हुन्छ, त्यति नै अंक घट्दै जान्छ । स्टेपअनुसार साउन्ड गर्न बिर्सिए ३ अंक घट्छ । त्यो भनेको मेजर अंक हो । अनब्यालेन्स भएर लड्दा पनि ठूलो गल्तीका रूपमै लिने गरिन्छ । यही पक्षमा चिन्ता थियो । ३० वर्षमाथिको पुम्से विधाको एकलतर्फ मेरो पालो पहिलो थियो । खेल्नुअघि मैले जे सोचेकी थिएँ, त्यही भयो । खेल्नेक्रममा म अनब्यालेन्स हुन पुगेँ । त्यसवेला मेरो स्कोरिङ सात अंकमाथि थियो । सुरुवाती अंकमा म सहभागीमध्ये पुछारमा थिएँ । पुम्से बिग्रँदा हलको एक कुनामा खुबै रोएर बसेँ । कसैसँग बोल्न म लागेन । परिवार र स–साना दुई बच्चा छाडेर तेक्वान्दो खेल्न आउँदा पनि महत्वपूर्ण प्रतियोगितामा राम्रो गर्न सकिनँ । जीवनमा पुनः एकपटक खेल्ने मौका आएको थियो ।

त्यसमा राम्रो गर्न सकिनँ । यहाँसम्मको यात्रामा गरेको मिहिनेत क्षणमै समाप्त भयो । अब मेरो लाइफ फेरि समाप्त भयो भन्दै सम्झिरहेँ । तर, मलाई अरूले समर्थन गरिरहेका थिए । संयोगवश के भयो भने हाम्रो समूहमा सहभागी अन्य राष्ट्रका खेलाडीले पुम्से गर्नै बिर्से । सहभागी कसैले छाडेर गए । त्यसवेला मैले प्राप्त गरेको अंक विपक्षीहरूको भन्दा माथि रह्यो । बिस्तारै मेरो स्वणर््को चान्स बढ्यो । अन्तिम नतिजा ठ्याक्कै कल्पनाविपरीत थियो । एकैपटक हलमा सबैले ‘आयषा’ले स्वर्ण जितिछे भनी चिच्याउँदै आए । म रोएर बसेको स्थानमा उनीहरूले खुसी मनाउन थाले । मलाई विश्वास लागेको थिएन । मेरो स्कोरिङ स्वर्ण पदक जित्ने काफी थिएन । सबैले मलाई तानेर एरिनामा लग्दै स्वर्णको खुसी मनाए । उफ ! त्यो पहिलो स्वर्णको क्षणको बयान अहिले पनि गर्न सक्दिनँ ।  

३० मिनेटको अन्तरमा दोस्रो स्वर्ण जितेँ
पहिलो स्वर्ण जितेपछि मेरो दोस्रो खेल ३० मिनेटभित्र थियो । वास्तवमा दोस्रो स्वर्ण जित्दा मभन्दा आर्मीका सञ्जीव ओझा दाइको हात अत्यधिक थियो । उहाँले बारम्बार ‘आयशा’ गुरु दोस्रो स्वर्ण पनि आउँछ’ भनी हौसला दिइराख्नुभयो । हामीलाई आधा घण्टा ब्रेक थियो । एकै दिन दोहोरो स्वर्ण जित्न म तयार नभए पनि करिअरकै बेस्ट दिने संकल्प गरेँ । सञ्जीव दाइ र म पार्टनरका रूपमा एरिनामा उत्रियौँ । हामीले पहिलोमा ८.८ र दोस्रो ८.९ स्कोर ल्यायौँ । औसतमा नेपालको अंक ८.९ रह्यो । सञ्जीव दाइ यस अंकमा स्वर्ण जित्न ढुक्क हुनुहुन्थ्यो । उहाँसँग मैले अगाडिदेखि नै अभ्यास गरेकी थिएँ । यसपटक कुनै डर भएन । हामीले आठ स्कोरभन्दा माथि ल्याउने योजनासाथ प्रदर्शन गरेका थियौँ ।

म आफ्नो गेम सकेपछि अर्काको हेर्न सक्दिनँ । मैले समर्थन गरेको टोली वा खेलाडी सधैँ हार्ने गर्छन् । दोस्रो खेलपछि एउटा कुनामा गएकी थिएँ । अन्तिम नतिजा आउँदा मैले सागमा इतिहास बनाएकी रहेछु । जुन मलाई थाहा थिएन । तेक्वान्दोमा तीन स्वर्ण जित्ने म पहिलो महिला खेलाडी भएँ । यसअघि म्याराथनमा वैकुण्ठ दाइले तीन र मेरा श्रीमान् दीपकले चार स्वर्णको रेकर्ड राख्नुभएको थियो । अहिले मेरा नाममा तीनवटा स्वर्ण आए । तत्कालै मैले घरमा ममी–ड्याडीलाई बाबुहरूलाई ल्याउनु भनेँ । गेम हुँदासम्म उनीहरूलाई नल्याउन भनेकी थिएँ । बाबुहरूलाई देखेपछि आफूलाई रोक्न सकिनँ । दुवैलाई अँगालो मार्दै हर्षको आँसु बगाएँ । दुई छोराको अनुहार देखेपछि सबै पीडा हरायो । अहिले पनि दुई बच्चाका लागि नै दुई मेडल जितेको जस्तो लाग्छ ।

ad
ad