एकजना व्यापारी थिए । कुनै कारणवश उनको व्यवसाय चौपट भयो र उनी एकदमै निराश हुन पुगे । उनले आफ्नो जीवनसँग हार मान्न थालिसकेका थिए । एक दिन उनी सारै बिरत्तिएर जंगलतिर लागे । जंगलको बीचमा निकै बेर एक्लै धुमधुम्ती बसिरहे । केही सोचेर उनले भगवान्लाई पुकार्दै भने, ‘म हारिसकेँ प्रभु ! मलाई निराश नहुने कुनै एउटा पनि कारण बताइदेऊ । मेरो सबै कुरा सक्किसक्यो ।’
भगवान्ले जवाफ दिए, ‘तिमी जंगलमा यी घाँस र बाँसका बुटालाई हेर त ! मैले नै यी घाँस र बाँस दुवैको बिउ लगाएको हुँ । मैले यी दुवैको उत्तिकै देखभाल गरेँ । बराबर पानी दिएँ । प्रकाश पनि बराबर दिएँ । घाँस एकदमै छिटो बढ्न लाग्यो र धरतीलाई हराभरा बनायो । तर, पहिलो वर्ष बाँसको बिउ उम्रिँदा पनि उम्रिएन र पनि मैले हार मानिनँ । दोस्रो वर्ष घाँस अझै हराभरा भएर गयो । तर, बाँसको बिउ भने जस्ताको तस्तै रह्यो । फेरि पनि म निराश भइनँ । तेस्रो वर्ष पनि बाँसको बिउमा कुनै वृद्धि भएन । फेरि पनि मैले हिम्मत हारिनँ ।
पाँच वर्षपछि बल्ल त्यो बाँसको बिउबाट एउटा सानो बिरुवा अंकुरित भयो । त्यतिखेर पनि घाँसको तुलनामा यो बाँस निकै सानो र कमजोर प्रतीत हुन्थ्यो । तर, उम्रिन थालेको ६ महिनामै यो सानो बिरुवा सय फिट अग्लो भयो । मैले बाँसको जरालाई यति बनाउन पाँच सालको समय लगाएँ । पाँच वर्षमा यो यति मजबुत भयो कि यसले सय फिट अग्लो बाँसलाई पनि सहजै थेग्न सक्छ ।’
यो कथाले जीवनमा मजबुतीका लागि संघर्ष गर्नुपर्छ भन्ने बताउँछ । संघर्षले तपाईंको जरा मजबुत बनाइराखेको हुन्छ, जसबाट तपाईं भोलि उत्कृष्ट बन्न सक्नुहुन्छ । यसर्थ, अर्काेसँग आफ्नो तुलना नगर्नुस् । संघर्षसँग नआत्तिनुस् ।