१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार ११:३६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चितवनमा १४० घरेलु तथा साना उद्योग बन्द

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:३६:oo

घरेलु तथा साना उद्योग कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा रहँदै आएका एक सय ४० वटा उद्योग बन्द भएका छन्। कार्यालयका अनुसार चालू आवमा ती उद्योग बन्द गर्नका लागि कार्यालयमा निवेदन परेको हो।

कार्यालयका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार ३१ वटा उत्पादनमूलक, ५५ वटा कृषि तथा वनजन्य, २० वटा पर्यटनमूलक र ३४ वटा सेवामूलक उद्योग बन्द भएका छन्। सोही समयमा ४० वटा उद्योगले नामसारी गरेका छन्। खरिद–बिक्रीपछि नाम सारिएको उनले बताए। ११ वटा उद्योगले ठाउँ सारी गरेका छन्।

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई सय ५८ वटा उद्योग दर्ता भएका छन्। साना उद्योगतर्फ ती फर्महरू दर्ता भएका हुन्। गत वर्षको तुलनामा यस वर्ष उद्योग दर्ता हुने क्रम न्यून र बन्द हुने तथा बिक्री हुने क्रम तीव्र भएको पाइएको उनले बताए। 

सोही समयमा व्यावसायिक फर्महरू एक सय ८१ वटाको लगत कट्टा गरिएको छ। १३ वटाको नाम सारी र २२ वटाको ठाउँ सारी गरिएको उनले जानकारी दिए। व्यावसायिक फर्मतर्फ दुई सय ७३ वटा नयाँ दर्ता भएका छन्। गत आर्थिक वर्ष ०७९/८० मा व्यवसाय बन्द गर्नेको संख्या चार सय ३४ रहेको थियो। 

यस्तै, ३८ वटाले ठाउँ सारी गरेका थिए। गत आर्थिक वर्ष ०७९/८० मा दुई सय ६९ वटा उद्योग बन्द भएका थिए। उनका अनुसार गत आर्थिक वर्षमा आठ सय ५९ वटा उद्योग दर्ता भएका थिए। सो वर्ष नाम सारीका लागि ६३ वटा उद्योगका सञ्चालकले निवेदन दिएका थिए भने ३४ वटाले स्थान परिवर्तन गरेका थिए।

वैदेशिक रोजगारीका लागि कम्पनी दर्ता गरेर आयआर्जन देखाउने र प्रयोजन सकिएपछि कम्पनी बन्द गर्न आउनेको संख्या बढ्दो रहेको उनले बताए। उद्योग सञ्चालन गर्ने, तर यहाँ आम्दानी नभएपछि विदेश जानका लागि बन्द गर्नेहरूको संख्या उच्च रहेको उनले बताए। उनले भने, ‘पाँच लाखसम्मको उद्योग वा व्यापारिक फर्महरू पालिकामा दर्ता हुने यहाँ बन्द गराएको पाइन्छ।’ आर्थिक मन्दी, कोरोना असरका कारणसमेत साना उद्योग बन्द हुने अवस्थामा पुगेको उनले बताए।

कार्यालयमा दर्ता हुन आउने उद्योग अधिकांश महिलाका नाममा दर्ता हुने गरेका छन्। राजस्वमा ५० प्रतिशत छुट हुने भएकाले महिलाका नाममा दर्ता गर्नेहरूको संख्या बढेको खनालले जानकारी दिए। चालू आर्थिक वर्षमा एक सय ३३ जना महिला उद्यमीले उद्योग दर्ता गराउँदा पुरुषका नाममा एक सय ११ वटा दर्ता भएका छन्।

ad
ad