मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १२ शुक्रबार
  • Friday, 20 December, 2024
२o८o माघ १२ शुक्रबार १८:५६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

फरार नगरप्रमुख नेपालीविरुद्ध ‘रेड कर्नर नोटिस’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ १२ शुक्रबार १८:५६:oo

सहकारीको बचत रकम हिनामिना गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी भएको छ ।

सहकारीका बचतकर्ताको डेढ अर्ब रुपैयाँभन्दा बढी रकम लिई फरार नेपालीविरुद्ध प्रहरी प्रधान कार्यालय इन्टरपोल महाशाखाले ‘रेडकर्नर नोटिस’ जारी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।
 
नगरप्रमुख नेपाली गत ५ जेठदेखि सपरिवार बुर्तिवाङ बजारबाट सम्पर्कविहीन भएका छन् । बागलुङ बजारमा मुख्य कार्यालयसहित गलकोट, बुर्तिवाङ तथा पोखरामा शाखा कार्यालयमार्फत बचत संकलनबापतको उक्त रकम हिनामिना गरी फरार भएका नेपाली विदेशमा लुकेर बसेको आशंकामा इन्टरपोलमार्फत खोजी गर्न प्रहरीले ‘रेडकर्नर नोटिस’ जारी गरेको हो । जिल्ला प्रहरी कार्यालयले इन्टरपोललाई रेडकर्नर नोटिस जारी गर्नका लागि गत भदौमा पत्र पठाएको थियो । 

नेपालीलगायत सहकारी सञ्चालकविरुद्ध एक हजार चार सय ८१ जनाले उजुरी दर्ता गराएका छन् । केसीका अनुसार बागलुङमा मात्रै सहकारीले आठ सय सेयर सदस्य र तीन हजार दुई सय बचतकर्ताको डेढ अर्ब बढी रकम बचत अपचलन गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

‘विश्वभर इन्टरपोलमा आबद्ध देशका सुरक्षाकर्मीको सहयोगमा पक्राउ गर्नका लागि रेडकर्नर नोटिस जारी गरिन्छ,’ प्रनाउ केसीले भने, ‘विश्वको जुन कुनामा भए पनि पक्राउ गरेर नेपाल ल्याउन र बचतकर्ताको रकम फिर्ता गर्नका लागि नोटिस जारी गरिएको छ ।’

ढोरपाटन– १ घर भएका नगरप्रमुख नेपालीसहित ११ जना सञ्चालकविरुद्ध गत २५ असारमा बागलुङस्थित जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । नगरप्रमुख नेपाली सम्पर्कविहीन भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले इमेज सहकारीका कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यत्रय चित्रबहादुर भण्डारी, रुपा विक तथा झगबहादुर शाहीविरुद्ध अनुसन्धान अगाडि बढाउन जिल्ला प्रहरी कार्यालयलाई गत जेठ १६ मा पत्राचार गरेको थियो ।

गत ४ साउनमा सहकारीका बचतकर्ताको अर्बौँ रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका सञ्चालक भण्डारी, कर्मचारी प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई अदालतले थुनामा राख्न आदेश दिएको थियो । आज नै कोषाध्यक्ष सेनलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । (रासस)