१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o८:२४:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अनौपचारिक अर्थतन्त्रको आकार ४१.३१%

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:२४:oo

देशको अनौपचारिक अर्थतन्त्रको आकार ४१.३१ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ । बिहीबार सार्वजनिक त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागको अध्ययनले सन् २०२०/२१ मा अनौपचारिक अर्थतन्त्रको आकार यस्तो देखाएको हो । विभागका अनुसार यो आकार सन् ०१५/१६ यताकै कम हो । सो वर्ष यस्तो अर्थतन्त्रको आकार ३९.७९ प्रतिशत पुगेको थियो । त्यसपछि ०१८/१९ मा बढेर ४५.०२ प्रतिशत पुगेको थियो । १० वर्षको तथ्यांकअनुसार औसत आँकडा ४०.६० प्रतिशत छ । 

केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्रा.डा. शिवराज अधिकारीका अनुसार यो तथ्यांकले देशको बृहत् अर्थतन्त्रलाई समेटेको छ । उनले भने, ‘कुल अर्थतन्त्रमा कतिपय विषय समावेश गरिएका हुँदैनन् । जस्तो दलाली गरेर कमाएको खर्च राष्ट्रिय लेखामा समेटिँदैन, तर यस्तो कमाइको पैसा अन्ततः खर्च हुने नै भयो । यस्ता कतिपय आम्दानी औपचारिक माध्यमबाट हुँदैनन् । त्यसैले हामीले खर्चलाई आधार बनाएर यो तथ्यांक ल्याएका हौँ ।’ 

अध्ययनका सबै पद्धतिमा केही न केही कमजोरी हुने भएकाले विभागले दुईवटा विधि राष्ट्रिय लेखा र मुद्रा मागमा आधारित भएर अध्ययन गरेको जानकारी दिए । उनका अनुसार राष्ट्रिय तथ्यांक कार्यालयले गर्ने आर्थिक गणनाले दर्ता भएका र नभएका निजी प्रतिष्ठानका आधारमा अनौपचारिक अर्थतन्त्रको तथ्यांक निकाल्ने गरेको छ । तर, विभागले सार्वजनिक क्षेत्रलाई समेत समेटेर यस्तो तथ्यांक निकालेको उनले बताए । 

राष्ट्रिय तथ्यांक कार्यालयले ०७५ मा गरेको आर्थिक गणनाले अनौपचारिक अर्थतन्त्रको आकार ४९.९ प्रतिशत रहेको जनाएको थियो । जसका आधारमा अर्थ मन्त्रालयले अधिकांश कारोबारमा स्थायी लेखा नम्बर दर्ता अनिवार्य गरेको थियो । त्यसपछि धेरैजसो कारोबार क्रमशः औपचारिक माध्यममा जोडिँदै गइरहेको कार्यालयका उपप्रमुख डा. हेमराज रेग्मीले बताए । उनले भने, ‘दर्ता नभएको व्यवसाय वा कारोबारलाई हामीले अनौपचारिक अर्थतन्त्रमा परिभाषित गरेका छौँ । तर, विश्वव्यापी मान्यताअनुसार गैरकानुनी र अवैध कारोबारलाई पनि अनौपचारिक अर्थतन्त्रमा समावेश गरिन्छ । हामीले त्यस्तो कारोबारलाई अनौपचारिक अर्थतन्त्रमा समावेश गर्न सकेका छैनौँ ।’  

अध्ययनले व्यक्तिहरूले आफैँले रोजगारी सिर्जना गर्न, आफैँले वस्तु तथा सेवाहरू उपभोग गर्न उत्पादन गरिएका वस्तु र सेवाहरूलाई समावेश गरिएको विभागले जानकारी दिएको छ । मूलतः एक वा दुई व्यक्तिहरूबाट उत्पादित वस्तु वा सेवाहरू पनि यसमा छन् । 

उत्पादन एवं रोजगारीसँग सम्बन्धित गलत रिपोर्टिङ भएका, आंशिक रेकर्ड गरिएका वा नभएका, कानुनी रूपले वैध–अवैध नभनिएका आर्थिक गतिविधि अध्ययनले समेटेको छ । कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को अनुमानमा समावेश भएका वा केही कारणवश छुटेका वस्तु वा सेवाहरू पनि  अध्ययनभित्र समेट्ने प्रयास गरिएको प्रतिवेदनमा उल्लेख छ । अर्थतन्त्रको आकार र आर्थिक विकासको स्थिति जस्तोसुकै भए पनि अनौपचारिक अर्थतन्त्र सबैका लागि चिन्ताको विषय भएको विभागले जनाएको छ । 

अनौपचारिक अर्थतन्त्रमा कृषिको हिस्सा ठूलो
विभागको अध्ययनअनुसार कृषि क्षेत्र (वन र माछा मार्नेसमेत)अन्तर्गतका अधिकांश उत्पादन गतिविधि घरपरिवारद्वारा सञ्चालित छन् र त्यसैले अनौपचारिक अर्थतन्त्रको हिस्सा ठूलो छ । हाल जिडिपीमा कृषि क्षेत्रको लगभग २५ प्रतिशत योगदान छ । 

अचल सम्पत्ति एवं आवास सेवाको उपभोग र घरजग्गाको कारोबार क्षेत्रअन्तर्गत स्वामित्व वा भाडामा दिइएको सम्पत्ति, शुल्क वा सम्झौता अचल सम्पत्तिका गतिविधि र घरपरिवारले आफ्नो आवासमा बसेर प्राप्त गरेका सेवाहरू समावेश भएका छन् । यस क्षेत्रको प्रकृतिको कारणले गर्दा अधिकांश हिस्सा घरपरिवारले आफ्नो आवासमा बसेर प्राप्त गरेका सेवाहरू पर्छन्, जसलाई यस अध्ययनमा अनौपचारिक अर्थतन्त्र मानिएको प्रतिवदेनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘जग्गा कारोबार वा सम्पत्ति अवमूल्यनबाट हुने कर छली ठूलो मात्रामा छ । यो कुरा नेपालमा सामान्य मानिन्छ । जग्गाको खरिद सम्पत्ति लुकाउने माध्यम भएको छ । लुकाइएको सम्पत्ति अनौपचारिक अर्थतन्त्रमा गणना हुन जान्छ । हाल जिडिपीमा यस क्षेत्रले लगभग १० प्रतिशत देन दिएको छ ।’

आवास र खाद्य सेवाहरूको क्षेत्र, घरपरिवारद्वारा सञ्चालित लज र चिया पसलहरू धेरै कम मात्रामा सरकारी संस्थामा दर्ता भएका छैनन्  । यस क्षेत्रमा रेस्टुरेन्ट, क्याफ्टेरिया, फास्ट फुड रेस्टुरेन्ट, टेक–आउट खाने ठाउँ, मोबाइल फुड कोर्ट, बजार स्टलमा खाना तयारी, बार, कफी हाउस, चिया पसल आदिबाट रेस्टुरेन्ट र खाना सेवा गतिविधि खाद्य सेवामा प्रमुख गतिविधि छन् । कुनै पनि सरकारी संस्थामा दर्ता नभएका घरपरिवारद्वारा सञ्चालित अधिकांश लज र चिया पसलहरू अनौपचारिक छन् । त्यसैगरी, मोबाइल फुड कोर्टहरू पनि अनौपचारिक रहेको प्रतिवेदनले उल्लेख गरेको छ ।

घरजग्गामा ९९.९७ प्रतिशत अनौपचारिक अर्थतन्त्र
अध्ययनले घरजग्गासम्बन्धी कारोबारमा ९९.९७ प्रतिशतबराबरको अनौपचारिक अर्थतन्त्र देखिएको छ । अर्थात्, ०.०३ प्रतिशतबराबरको घरजग्गा कारोबार मात्रै औपचारिक माध्यमबाट हुने गरेको छ । घरजग्गाको कारोबार क्षेत्रअन्तर्गत भाडामा दिइएको सम्पत्ति, शुल्क वा सम्झौता गरेका अचल सम्पत्तिका गतिविधि र घरपरिवारले आफ्नो आवासमा बसेर प्राप्त गरेका सेवाहरू समावेश भएका छन् । त्यसैगरी, जग्गा कारोबार वा सम्पत्ति अवमूल्यनबाट हुने कर छली ठूलो मात्रामा छ । नेपालमा घरजग्गाको खरिद सम्पत्ति लुकाउने प्रवृत्तिलाई सामान्य मानिन्छ । त्यसरी लुकाइएको सम्पत्ति अनौपचारिक अर्थतन्त्रमा गणना गरिएको छ । 

अध्ययनले कृषि, वन तथा माछा मार्ने, आवास तथा खाद्य सेवा र मनोरञ्जन क्षेत्रमा पनि अनौपचारिक अर्थतन्त्रको हिस्सा धेरै देखाएको छ । कृषि वन तथा माछा मार्ने क्षेत्रमा ९६.४८, आवास तथा खाद्यमा ५०.४२ र मनोरञ्जन क्षेत्रमा ३३.६९ प्रतिशतबराबरको अनौपचारिक अर्थतन्त्र देखिएको छ ।

कृषिसम्बन्धी गतिविधि घरपरिवारमार्फत सञ्चालित भएकाले त्यसलाई अनौपचारिक अर्थतन्त्रका रूपमा गणना गरिएको छ । आवास र खाद्य सेवाभित्र घरपरिवारद्वारा सञ्चालित लज र चिया पसल धेरै दर्ता भएका छैनन् । त्यसैले यसको अनौपचारिक अर्थतन्त्र धेरै देखिएको हो । अध्ययनअनुसार सार्वजनिक प्रशासनमा अनौपचारिक अर्थतन्त्र शून्य छ । यसैगरी, स्वास्थ्य तथा सामाजिक, शिक्षा, बैंक तथा बिमा, सूचना प्रविधि, यातायात क्षेत्रमा अनौपचारिक अर्थतन्त्रको हिस्सा १ प्रतिशतभन्दा कम छ । 

ad
ad