१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o६:२४:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

शक्तिमा फर्किए कांग्रेस नेता सिटौला

शान्ति प्रक्रियाको सुरुवाती दिनमा समन्वयकारी भूमिका खेलेका  सिटौलाले पुन: शान्ति प्रक्रिया टुंग्याउने एक पात्रको जिम्मेवारी पाउँदै छन्

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:२४:oo

गृहमन्त्री रहेकै वेला ०६३ असारमा माओवादी अध्यक्ष प्रचण्ड र अर्का नेता डा. बाबुराम भट्टराईलाई कास्कीको सिक्लेसबाट हेलिकोप्टर चढाएर काठमाडौं ल्याउने कांग्रेस नेता कृष्णप्रसाद सिटौला शान्ति प्रक्रियाका एक प्रमुख पात्र हुन् । शान्ति प्रक्रियाको सुरुवाती दिनमा समन्वयकारी भूमिका खेलेका सिटौलालाई संयोगले पुन: शान्ति प्रक्रिया टुंग्याउने एक पात्रको जिम्मेवारीमा फर्काएको छ । 

बिहीबार उनी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् र सम्भवतः उनले यो सभाको नेतृत्व गर्ने मौका पाउँदै छन् । सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक सदनमा विचाराधीन छ । यदि सिटौला राष्ट्रिय सभा अध्यक्ष भए भने विधेयक पारितमा उनको भूमिका अर्थपूर्ण नै रहनेछ ।

प्रधानमन्त्री प्रचण्डसँगको निकटताले सिटौला आफूले चाहेको अवस्थामा सहजै राष्ट्रिय सभा अध्यक्ष हुनेछन् । सिटौला प्रचण्डका पनि रोजाइका पात्र हुन् भन्ने कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी नेताहरूकै बैठकमा बताएका थिए । राष्ट्रिय सभा उम्मेदवार छान्ने बैठकमा देउवाले भनेका थिए, ‘प्रचण्डजीको पनि चाहना छ, कोशीमा सिटौलाजीलाई उम्मेदवार बनाऔँ ।’

दुईवटा संसदीय निर्वाचनमा पराजय भोगेका सिटौला केही वर्ष राष्ट्रिय राजनीतिमा नभई कांग्रेसका आन्तरिक राजनीतिमा सक्रिय थिए । तर, ०७४ पछि संसदीय जिम्मेवारीबाट बाहिर रहेका सिटौला राष्ट्रिय सभामार्फत संसद् फर्केका छन्, यसले कांग्रेसको आन्तरिक मात्र नभई राष्ट्रिय राजनीतिमा पनि अर्थ राख्छ । 

अब उहाँको भूमिका राष्ट्रिय सभा अध्यक्षकै हो  : विश्वप्रकाश शर्मा महामन्त्री, कांग्रेस
कोशीमा एक सिटबाहेक सबैमा गठबन्धनकै पक्षमा परिणाम आएको छ । अब उहाँ(सिटौला)को भूमिका राष्ट्रिय सभा अध्यक्षकै हो । उहाँलाई पार्टी र गठबन्धनमा सल्लाह सहमतिअनुसार उम्मेदवार बनाइएको हो । उहाँलाई राष्ट्रिय सभा अध्यक्ष बनाउन गठबन्धनमा पूर्वसहमति भएको हो । अन्य भूमिकाको विषय छैन । यसमा कुनै आशंका गर्न जरुरी छैन ।

संसद् प्रवेशसँगै उनी राष्ट्रिय सभा अध्यक्षको जिम्मेवारीमा रहन्छन् भन्ने धेरैको बुझाइ छ । सिटौला निर्वाचित भएलगत्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले त राष्ट्रिय सभा अध्यक्षको भूमिका निभाउने अपेक्षासहित बधाई दिएका छन् । ‘कोशीमा एक सिटबाहेकमा सबैमा गठबन्धनकै पक्षमा परिणाम आएको छ । अब उहाँको भूमिका राष्ट्रिय सभा अध्यक्षकै हो । उहाँलाई पार्टी र गठबन्धनमा सल्लाह सहमतिअनुसार उम्मेदवार बनाइएको हो । उहाँलाई राष्ट्रिय सभा अध्यक्ष बनाउन गठबन्धनमा पूर्वसहमति भएको हो । अन्य भूमिकाको विषय छैन । यसमा कुनै आशंका गर्न जरुरी छैन,’ महामन्त्री शर्माले नयाँ पत्रिकासँग भने । 

तर, कोशीमा माओवादी उम्मेदवार पराजित भएपछि भने गठबन्धनमा शंका उत्पन्न गराएको छ । माओवादी उपमहासचिव वर्षमान पुन निर्वाचन परिणामबारे गठबन्धन दलमा छलफल हुने र बाँकी विषय टुंगो लाग्ने बताए । ‘निर्वाचनको परिणाम सबै स्थानमा गठबन्धनको पक्षमा छ । कोशीमा कांग्रेसको एक तप्काका कारण माओवादी उम्मेदवार पराजित हुनुभएको देखिन्छ । अब गठबन्धनको बैठक बसेर समीक्षा र बाँकी विषय टुंगो लगाउँछौँ,’ उनले नयाँ पत्रिकासँग भने । 

माओवादी महासचिव देव गुरुङ गठबन्धनको बैठकमा सिटौलालाई अध्यक्ष बनाउने विषयमा भएको सहमतिबारे आफूलाई जानकारी नभएको दाबी गर्छन् । तर, माओवादीका एक अर्का पदाधिकारी गठबन्धनमा सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने सहमति बनेको बताउँछन् । ‘उम्मेदवारीअघि सिटौलाजीलाई राष्ट्रिय सभा अध्यक्ष बनाउने गरी सहमति भएको हो, तर परिणामपछि अवस्था फेरियो,’ उनले भने, ‘धोका पनि दिने अनि कांग्रेसले भनेको खुरुखुरु मानेर जाने नहुन पनि सक्छ ।’

०६२/६३ को जनआन्दोलनलगत्तै बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी १२ वैशाख ०६३ देखि ५ भदौ ०६५ सम्म उपप्रधानमन्त्री तथा गृहमन्त्रीको भूमिकामा थिए । तत्कालीन प्रधानमन्त्री कोइरालाको समेत विश्वासपात्रका रूपमा उनले शान्ति प्रक्रियामा भूमिका निभाएका थिए । कोइराला र प्रचण्डबीच सिटौला समन्वयका एक कडी थिए । तत्कालीन समयमा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन खेलेको भूमिका र ०७२ मा संविधानका मस्यौदाकारका रूपमा सिटौलाको राजनीतिक पहिचान छ ।

१२औँ महाधिवेशनपछि तत्कालीन सभापति सुशील कोइरालाले सिटौलालाई कांग्रेसको महामन्त्री मनोनीत गरेका थिए । त्यसपछि भने उनी पार्टीको पदाधिकारीको जिम्मेवारीमा गएनन् । तर, कांग्रेसमा तेस्रो धारका रूपमा सिटौलाले पार्टीमा पकड राख्दै आएका थिए । पार्टी र संसद्को औपचारिक जिम्मेवारीमा नरहे पनि राजनीतिको कठिन मोडमा उनी सम्झिइने पात्रका रूपमा थिए । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभामा उनले झापा १ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजय व्योहोरेका थिए । पराजयपछि पार्टी र सार्वजनिक कार्यक्रम र अभिव्यक्तिमा आफ्नो कम उपस्थिति देखिाउँदै आएका थिए । 

लगातार दुई पराजयपछि सिटौलाले कुन बाटो लिन्छन् भन्ने थियो । तर, पछिल्लो निर्वाचनपछिको एकवर्षे अवधिमा उनले मौन रहँदै आएका राष्ट्रिय सभा प्रवेशको करिडोर तय गरेका हुन् । उम्मेदवार चयनमा कांग्रेसबाट निर्वाचनमा पराजितलाई उम्मेदवार नबनाउन दबाब थियो । तर, सिटौलालाई टिकट दिने विषयमा पनि कांग्रेसमा कुनै विवाद भएन ।

उम्मेदवार छनोटका क्रममा पराजितलाई उम्मेदवार बनाउन नहुने भन्दै अडान र फरक मत राखेका महामन्त्रीद्वय शर्मा र गगन थापा तथा नेता डा. शेखर कोइरालाले सिटौलाको विषयमा उनको विगतको योगदानका आधारमा राष्ट्रिय सभा अध्यक्षको भूमिकाका लागि उम्मेदवार बनाएको बताएका थिए । तर, यसबारे सिटौलाले औपचारिक रूपमा मुख खोलेका छैनन् । 

२३ पुसमा उम्मेदवारी दर्तापछि उनले निर्वाचन परिणाम आएसँगै स्वाभाविक जवाफ आउने बताएका थिए । तर, राष्ट्रका चुनौती सामना गर्न र जनहितका विषयमा सबै दलबीच समझदारी आवश्यक रहेको तथा सोही भूमिकाका लागि आफूलाई कांग्रेसले उम्मेदवारका रूपमा अघि सारेको उनको कूटनीतिक जवाफ मात्रै थियो ।

 

ad
ad