१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
टेकराज थामी काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o६:१८:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

अध्यागमनमा ‘अटोमेसन’ प्रणाली : १० मिनेटभित्रै सेवाग्राहीको काम

त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागमा पनि ‘अटोमेसन’ प्रणाली लागू गरिँदै, अनलाइन भिसा लिन सक्ने प्रणाली बनाउँदै अध्यागमन

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:१८:oo

अध्यागमन विभागले मातहतका १५ वटै कार्यालयमा ‘अटोमेसन’ प्रणाली लागू गरेपछि नेपाल बसेका विदेशी नागरिकले लिने सेवा सहज भएको छ । अध्यागमनमा ‘अटोमेसन प्रणाली’ जडान भएसँगै नेपालमा रहेका विदेशी नागरिकले अब १० मिनेटभित्रै भिसा नवीकरण, स्थानान्तरण र पदयात्रा अनुमति पाउन थालेका छन् । 

७ माघबाट सुरु यस सेवाबाट अहिलेसम्म एक हजार तीन सय ५७ भन्दा धेरै विदेशी नागरिकले भिसा नवीकरण, स्थानान्तरण र पदयात्रा अनुमति लिएको विभागका अधिकारीहरूले जनाएका छन् । विभागका महानिर्देशक रुद्रसिंह तामाङले ‘अटोमेसन’ प्रणाली सुरु भएपछि सेवा प्रवाह सहज र छिटो भएको बताए । 

‘अध्यागमन विभागले नेपालमा रहेका विदेशी नागरिक भिसा नवीकरण, स्थानान्तरण तथा पदयात्रा अनुमति लिन घन्टौँ लाइन बस्नुपर्ने झन्झटबाट मुक्त भएका छन् । उनीहरूले बढीमा १० मिनेटभित्रै सेवा लिन सक्नेछन् । ‘अटोमेसन’ प्रणाली लागू गरिएपछि यो सम्भव भएको हो,’ उनले भने । 

विभागका अनुसार सेवा लिन सेवाग्राही अध्यागमन विभाग र मातहतको १५ वटै कार्यालयमा पुग्न सक्नेछन् । उनीहरूले कार्यालयमा राखिएको क्युएस मेसिनमा फाराम भर्न सक्नेछन् । त्यसलगत्तै सेवाग्राहीको मोबाइल वा इमेलमा कोड नम्बर आउनेछ । सोही कोड लिएर सेवाग्राही अध्यागमनको टेलर जान सक्नेछन् ।

घन्टौँ लाइन बस्नुपर्ने झन्झट हटेको छ  : रुद्रसिंह तामाङ महानिर्देशक, अध्यागमन विभाग

‘अटोमेसन’ प्रणाली सुरु भएपछि सेवा प्रवाह सहज र छिटो भएको छ । नेपालमा रहेका विदेशी नागरिक भिसा नवीकरण, स्थानान्तरण तथा पदयात्रा अनुमति लिन घन्टौँ लाइन बस्नुपर्ने झन्झटबाट मुक्त भएका छन् । उनीहरूले बढीमा १० मिनेटभित्रै सेवा लिन सक्नेछन् । यो सेवा अब त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागमा पनि लागू हुनेछ । यसका लागि अध्यागमन र कन्सुलरबीच सूचना आदान–प्रदान भइसकेको छ ।

टेलरले अनलाइनबाटै अभौतिक (भर्चुअल) बिल भौचर बनाउनेछ । भौचरमा ‘क्युआर कोड’ आउनेछ । सोही ‘कोड स्क्यान’ गरेर सेवाग्राहीले ‘अनलाइन पेमेन्ट’ गर्न सक्नेछन् । पेमेन्ट सकिएलगत्तै भिसा स्वीकृति भएर आउनेछ । भिसा पासपोर्टमा टाँसेर सेवाग्राही कार्यालयबाट बिदा हुन सक्नेछ । 

विभागका महानिर्देशक तामाङका अनुसार पहिला यही सुविधा लिन सेवाग्राही हाकिमको टेबुल–टेबुल धाउनुपथ्र्यो । यसो गर्दा सेवाग्राहीको कम्तीमा पनि एक घन्टा खर्च हुन्थ्यो । उनका अनुसार अध्यागमनको कार्यालयमा लाइन बस्ने सेवाग्राही हटिसकेका छन् ।

विभागका अनुसार यो सेवा अब त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागमा पनि लागू हुनेछ । यसका लागि अध्यागमन र कन्सुलरबीच सूचना आदान–प्रदान भइसकेको छ । सेवा सुरु भएपछि कूटनीतिक नियोगसँग सम्बन्धित कर्मचारीले कन्सुलर विभागमै भिसा नवीकरण, स्थानान्तरण र पदयात्रा अनुमति लिन सक्नेछन् । विभागका अनुसार यसपछि ई–भिसा प्रणाली लागू हुनेछ । 

विदेशबाट पनि अनलाइन भिसा लिन सक्ने प्रणालीमा जाँदै अध्यागमन
नेपाल आउन चाहने जोसुकै विदेशी नागरिकले संसारको जुनसुकै मुलुकबाट अनलाइनबाटै भिसा प्राप्त गर्न सक्ने प्रणालीमा जाने तयारी अध्यागमनले गरेको छ । यसका लागि विदेशी नागरिकले सम्बन्धित मुलुकबाटै नेपालको भिसा ‘अप्लाई’ गर्न सक्छ । भिसा ‘अप्रुभ’ भएपछि सम्बन्धित नागरिकको इमेलमा नोटिफिकेसनसहितको ‘क्युआर कोड’ जान्छ । सोही कोडमार्फत उसले भिसा शुल्क भुक्तानी गर्छ । नेपाल आउँछ । विमानस्थलस्थित अध्यागमको डेक्समा पुगेर पासपोर्टमा भिसा टाँस्छ । र, ऊ गन्तव्यतर्फ लाग्छ । 

विभागका महानिर्देशक तामाङले नेपाल सरकारबाट राजस्व संकलन गर्ने डलर खाता सञ्चालनमा आएलगत्तै यो सेवा कार्यान्वयनमा आउने बताए । ‘हामीले प्रणाली विकास गरिसकेका छौँ । तर, राजस्व संकलन गर्न सरकारले डलर खाता खोलेको छैन । त्यसो हुँदा विदेशी नागरिकले भिसाबापतको शुल्क डलरमा भुक्तानी गर्न सक्दैनन् । डलर खाता सञ्चालनमा आएलगत्तै यो सुवा लागू हुनेछ,’ उनले भने । 

अहिले विदेशी नागरिकले नेपालको भिसा प्राप्त गर्न नेपाल नै आउनुपर्छ । विमानस्थलस्थित अध्यागमन कार्यालयमा फराम भर्नुपर्छ । मुद्रा सटही गरेर भिसा शुल्क भुक्तानी गर्नुपर्छ । बिल लगेर अध्यामगनको काउन्टरमा बुझाउनुपर्छ । यसका लागि लाइनमा बस्नुपर्ने हुन्छ । त्यसपछि मात्रै उसले भिसा प्राप्त गर्न सक्छ । यो कार्यका लागि कम्तीमा एक घन्टा समय खर्च हुने गरेको छ ।

ad
ad