१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
शिल्पा कर्ण काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o६:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

पूर्वसांसद इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरणमा दोषी ठहर

Read Time : > 1 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:५२:oo

सवा तीन अर्ब रुपैयाँभन्दा धेरै सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा पूर्वसांसद एवं सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङ दोषी ठहर भएका छन् । न्यायाधीशहरूको नयाँ टिम आएसँगै पुराना मुद्दाहरूको फटाफट फैसला गर्दै आएको विशेष अदालतले तामाङविरुद्ध लागेको सम्पत्ति शुद्धीकरणको मुद्दामा पनि कसुर ठहरको फैसला गरेको हो ।

 विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार फैसला दिएकोमा सजाय भने २१ माघमा निर्धारण हुने विशेषका प्रवक्ता एवं उपरजिस्ट्रार धनबहादुर कार्कीले बताए । तामाङसँगै उनकी श्रीमती सिर्जना शाक्य तामाङ र केशवलाल श्रेष्ठ पनि दोषी ठहर भएका छन् । केशवलालकी श्रीमती मीनाकुमारी श्रेष्ठका विषयमा भने सजाय निर्धारणकै दिन निर्णय लिने विशेषले जनाएको छ । प्रवक्ता कार्कीका अनुसार इच्छाराजका दुई छोरीहरू प्रतीक्षा र प्रतिष्ठाले भने सफाइ पाएका छन् । 

यो मुद्दा २ माघदेखि हेर्दाहेर्दैमा राखेर सुनुवाइ हुँदै आएकोमा चौथो सुनुवाइपछि ठहरको फैसला भएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १६ भदौ ०७९ मा इच्छाराजविरुद्ध तीन अर्ब ३१ करोड ८५ लाख रुपैयाँभन्दा बढी सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाइएको थियो । त्यस्तै, उनकी श्रीमती सिर्जनासँग एक अर्ब तीन करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको थियो । 

प्रतिवादीहरू इच्छाराज र केशवलालको बारेमा विभागद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘..कसुरबाट आर्जित सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने, छल्ने, हस्तान्तरण र रूपान्तरणसमेतका निषेधित कार्यहरू गरी सम्पत्ति शुद्धीकरणको कसुर अपराध गर्ने इच्छित मनसायले आफ्ना परिवारका मानिसहरूबीच अंशबन्डासमेत गरी– गराई आफू एवं परिवारका मानिसहरू संलग्न रहेका सिभिल होम्स प्रालिलगायतका विभिन्न व्यावसायिक कम्पनीमार्फत घरजग्गाको कारोबारसम्बन्धी व्यवसायमा सो गैरकानुनी स्रोतको रकम लगानी गरी त्यस्ता व्यावसायिक कार्यबाट थप सम्पत्ति आर्जन गरी अन्य प्रतिवादीहरू सिर्जना शाक्य (तामाङ), प्रतिष्ठा तामाङ, प्रतीक्षा तामाङ र मीनाकुमारी श्रेष्ठसमेतका नाउँबाट कारोबार गर्ने एवं सम्पत्ति लुकाइछिपाई राखी सम्पत्ति शुद्धीकरणको कसुर गरेको तथ्य पुष्टि हुन आयो ।’

इच्छाराजका नाममा एक कित्ता जग्गा तथा ६९ वटा कम्पनीमा सेयर भेटिएको थियो । सिर्जनाका नाममा भने एउटा सवारीसाधन र कसुरबाट आर्जित जग्गा भेटिएको थियो । विभागले प्रतीक्षा र प्रतिष्ठालाई क्रमशः ६ करोड २२ लाख तथा एक करोड ८९ लाख रुपैयाँभन्दा बढीको बिगोसहित मुद्दा चलाएको थियो । उनीहरूका नाममा पनि घरजग्गा र विभिन्न कम्पनीमा सेयर भेटिएको दाबीसहित मुद्दा दायर भएकोमा उनीहरूलाई विशेषले सफाइ दिएको छ । 

त्यस्तै, इच्छाराजले अपराधबाट आर्जन गरेको २६ करोड ६१ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति केशवलालको नाममा राखिएको विभागको अनुसन्धानले देखाएको थियो । मीनाकुमारी श्रेष्ठका नाममा भने काठमाडौंका विभिन्न स्थानमा ७ कित्ता जग्गा भेटिएको थियो । 

श्रीमती पनि दोषी ठहर, दुई छोरीले पाए सफाइ
इच्छाराज तामाङसँगै उनकी श्रीमती सिर्जना शाक्य तामाङ र केशवलाल श्रेष्ठ पनि दोषी ठहर भएका छन् । केशवलालकी श्रीमती मीनाकुमारी श्रेष्ठका विषयमा भने सजाय निर्धारणकै दिन निर्णय लिने विशेषले जनाएको छ । प्रवक्ता धनबहादुर कार्कीका अनुसार इच्छाराजका दुई छोरीहरू प्रतीक्षा र प्रतिष्ठाले भने सफाइ पाएका छन् । 

इच्छाराज अध्यक्ष रहेको सिभिल सहकारीको ठगी मुद्दा काठमाडौं जिल्ला अदालतमा भने विचाराधीन
इच्छाराज तामाङले आफैँ अध्यक्ष रहेको सिभिल सहकारीबाट नियम मिचेर ऋण लिई नतिर्दा निक्षेपकर्ताको अर्बौँ रुपैयाँ डुबेको छ । जसमा प्रहरीले अनुसन्धान गरी दायर गरेको सहकारी ठगी मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । उनीसमेतको समूहले पाँच अर्ब ६७ करोड ५५ लाख रुपैयाँभन्दा बढी ठगी गरेको अभियोगपत्रमा उल्लेख छ । मुद्दाको छिटो सुनुवाइ नहुँदा सहकारीपीडितहरू थप समस्यामा परेका छन् ।

ad
ad