१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o८:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

राजाको आलोचना गरेको आरोपमा थाई नागरिकलाई ५० वर्षको जेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:३६:oo

थाइल्यान्डका राजा र राजतन्त्रको आलोचना गरेको आरोपमा एक थाई नागरिकलाई बिहीबार ५० वर्षको कारागार सजाय दिइएको एक कानुनी अधिकार समूहले बताएको छ । मुलुकको कडा शाही अपमानविरोधी कानुनअन्तर्गत दिइएको यो सबैभन्दा लामो कारागार सजाय हो । थाइल्यान्डको रुढिवादी न्यायपालिकाले प्रजातन्त्र समर्थक प्रदर्शनकारीविरुद्ध उक्त विवादास्पद कानुनको प्रयोगलाई बढावा दिन थालेको देखिएको छ । 

उत्तरी सहर चियाङ रायको पुनरावेदन अदालतले प्रजातन्त्र अभियन्ता ३० वर्षीय मोङकोल थिराकोटलाई कुनै समय गरेको फेसबुक पोस्टका लागि ५० वर्षको कारागार सजाय सुनाएको हो । उनलाई यसअघि तल्लो अदालतले २८ वर्षको कारागार सजाय सुनाएको थियो । तर, पुनरावेदनका क्रममा अन्य ११ मुद्दामा समेत दोषी बनाएर सजाय थपियो । 

‘पुनरावेदन अदालतले मोङकोल थिराकोटलाई उनको २७ फेसबुक पोस्टका लागि २२ वर्षको सजाय सुनाएको छ । यो तल्लो अदालतले पहिला नै सुनाएको २८ वर्षको सजायमाथि थपिएको हो । अब उनको कुल कारागार सजाय ५० वर्ष पुगेको छ,’ थाई लयर्स फर ह्युमन राइट्स (टिएलएचआर) ले विज्ञप्तिमा भनेको छ ।

राजा महा बजिरालोङकोर्न र उनका परिवारलाई आलोचना गर्नेविरुद्ध ‘लेज–म्याजेस्टे’ कानुन लागू गरिएको छ । टिएलएचआरका अनुसार मोङकोललाई दिएको सजाय शाही मानहानिका लागि दिइएको सबैभन्दा लामो सजाय हो । यसले सन् २०२१ मा कुनै एक महिलालाई दिइएको ४३ वर्षको कारागार सजायको पछिल्लो कीर्तिमानलाई तोडेको छ ।

सन् २०२० र सन् २०२१ मा युवाहरूको नेतृत्वमा भएको प्रदर्शनमा हजारौँ मानिस सडकमा उत्रिएका थिए । प्रदर्शनमा कठोर ‘लेज–म्याजेस्टे’ कानुनमा परिवर्तनको माग गरिएको थियो । टिएलएचआरका अनुसार सन् २०२० मा विरोध आन्दोलन सुरु भएयता दुई सय ५० भन्दा धेरै कार्यकर्तामाथि लेज–म्याजेस्टे कानुनअन्तर्गत आरोप लगाइएको छ ।

ad
ad